चीनको कम्पनी डीपसिक के हो ? यसले अमेरिकी कम्पनीहरूको सातो कसरी उडायो ?

डिसी नेपाल
१५ माघ २०८१ १५:२४

काठमाडौं । चिनियाँ कम्पनी डीपसिकको एआइ (कृत्रिम बुद्धिमत्ता) बाट संचालित च्याटबोटले अमेरिकामा हलचल मच्चाएको छ । अमेरिकामा जनवरीको तथ्याङ्कअनुसार यो एप्पलको स्टोरबाट सबैभन्दा धेरै निःशुल्क डाउनलोड हुने एप बनेको छ ।

यो एप छोटो समयमै यति लोकप्रिय हुनुको कारण अमेरिकामा आधारित एआई कम्पनीहरूको तुलनामा यसको कम लागत हो। एआइ च्याटबोट डीपसिकको उदयले अमेरिकाको वाल स्ट्रिटमा हलचल मचाएको छ। चिप निर्माता कम्पनी एनभिडियाको बजार मूल्य ६०० अर्ब डलरभन्दा बढीले घटेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ स्टार्टअप डीपसिकबारे चेतावनी दिँदै यो अमेरिकाको प्रविधि उद्योगका लागि सचेत हुनुपर्ने क्षण भएको बताएका छन् ।

सिलिकन भ्याली भेन्चर क्यापिटलिस्ट मार्क एन्ड्रिसेनले डीपसिकलाई स्वागत गरे र यसलाई एआइमा ‘अहिलेसम्मको सबैभन्दा शानदार र प्रभावशाली सफलता’ भने।

कम्पनीका अनुसार यसको नवीनतम एआई मोडेल अमेरिकाका अग्रणी मोडेलहरु (जस्तै च्याटजीपीटी) उद्योगको बराबर छ।

यस एपका अनुसन्धानकर्ताहरूका अनुसार यसलाई बनाउन ६० लाख डलर मात्र खर्च भएको छ जुन अमेरिकामा एआई कम्पनीहरूले खर्च गरेको अर्बौं डलरभन्दा निकै कम हो।

डीपसिक एक चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी हो, जुन चीनको दक्षिण-पूर्वी सहर हांग्जाउमा स्थापना भएको थियो।

मोबाइल एपको मार्केट इन्टेलिजेन्स प्लेटफर्म सेन्सर टावरका अनुसार कम्पनी जुलाई २०२३ मा लन्च गरिएको थियो तर यसको लोकप्रिय एआई असिस्टेन्ट एपलाई अमेरिकामा जनवरी १० सम्म रिलिज गरिएको थिएन।

लियाङ वेनफेंगले हेज फण्ड मार्फत लगानीकर्ताहरू जम्मा गरेर डीपसिक सुरु गरेका थिए ।

उनी ४० वर्षका इन्फर्मेसन र इलेक्ट्रोनिक ईन्जिनियरिङ स्नातक हुन् । उनले कथित रूपमा एनभिडिया ए १०० चिप्स प्रयोग गरेर स्टोर बनाएका थिए । तर, अहिले यसलाई चीनमा निर्यात गर्न प्रतिबन्ध लगाइएको छ ।

उनले लगभग ५० हजार चिप्सको संग्रह मार्फत डीपसिक सुरु गरेको विज्ञहरू विश्वास गर्छन् । उनले यी चिपहरूलाई सस्ता र लिअर इन्ड चिपहरूसँग प्रयोग गरे जुन अझै पनि चीनमा आयात गरिन्छ।

लियाङलाई हालै उद्योग विशेषज्ञहरू र चिनियाँ प्रधानमन्त्री ली कियाङसँग भेटघाट गरेको देखिएको थियो।

कम्पनीको एआई एप यसको वेबसाइटमा अनलाइन र एप्पलको एप स्टोरमा डाउनलोड गर्नका लागि उपलब्ध छ।

यो सेवा नि:शुल्क छ र एप्पलको स्टोरमा सबैभन्दा छिटो डाउनलोड हुने एप बनेको छ। यद्यपि केही रिपोर्टहरूका अनुसार मानिसहरूले साइन अप गर्न कठिनाइ भएको उल्लेख गरेका छन्।

यो अमेरिकामा एप्पलको एप स्टोरमा शीर्ष रेटिङ गरिएको नि:शुल्क एप पनि भएको छ। डीपसिक च्याटजीपीटी जस्तै काम गर्ने आफ्नो शक्तिशाली एआई सहायकका कारण प्रसिद्ध भएको छ।

एप स्टोरमा दिोएको यसको विवरण अनुसार यो ‘तपाईंका प्रश्नहरूको जवाफ दिन र तपाईंको जीवनलाई सजिलो बनाउन’ डिजाइन गरिएको हो।

यस एपलाई रेटिङ दिँदै एक प्रयोगकर्ताले लेखेका छन् ‘यसले लेख्नलाई विशेष गुणस्तर दिन्छ ।’ यद्यपि, जब यो च्याटबोटसँग कुरा गरिएको थियो, यसले कम्तिमा एउटा राजनीतिक रूपमा संवेदनशील प्रश्नलाई बेवास्ता गर्यो।

जब बीबीसीले एपलाई ४ जुन १९८९ मा तियानमेन स्क्वायरमा के भएको थियो भनेर सोध्यो, डीपसीकले जवाफ दियो, “मलाई माफ गर्नुहोस्, म त्यो प्रश्नको जवाफ दिन सक्दिन। म एक एआई सहायक हुँ जसललाई मद्दत गर्ने तर कुनै हानी नगर्ने प्रश्नको जवाफ प्रदान गर्न डिजाइन गरिएको हो।”

डीपसिकले यसलाई आफ्नो अमेरिकी प्रतिद्वन्द्वी कम्पनीहरू भन्दा धेरै कम लागतमा अर्थात् केही लाख डलरमा तयार गरेको बताइएको छ। यो सफलताले अमेरिकाको एआई प्रभुत्वको भविष्यमाथि पनि प्रश्न खडा गरेको छ।

सम्भवतः कम्पनीको कम लागतका कारण जनवरी २७ मा वित्तीय बजारमा उथलपुथल भएको थियो । टेक कम्पनीहरूले भरिएको अमेरिकी स्टक एक्सचेन्ज न्यासडेकमा तीन प्रतिशतले गिरावट आएको छ।

यसको सबैभन्दा नराम्रो असर अमेरिकामा आधारित कम्पनी एनभिडियामा परेको छ जसले शक्तिशाली चिप्स बनाउँछ र यो चिप्स एआईमा प्रयोग गरिन्छ।

सोमबार यसले लगभग ६०० बिलियन डलरको बजार मूल्य गुमाएको छ। यो अमेरिकाको इतिहासमा कुनै पनि कम्पनीको एकै दिनमा सबैभन्दा ठूलो गिरावट हो। यसको शेयर मूल्य दिनभर १७ प्रतिशतले घटेको छ ।

फोर्ब्सका अनुसार एनभिडिया बजार पुँजीकरणका हिसाबले विश्वको सबैभन्दा मूल्यवान कम्पनी थियो तर सोमबार यसको बजार मूल्य ३.५ ट्रिलियन डलरबाट २.९ ट्रिलियन डलरमा झर्दा यो एप्पल र माइक्रोसफ्टभन्दा पछि तेस्रो स्थानमा झरेको छ ।

डीपसिकले एनभिडियाले बनाएको भन्दा कम उन्नत सेमिकन्डक्टर चिपहरू प्रयोग गर्दछ। यसको सफलताले उन्नत एआइलाई ठूलो बजेट र हाई-टेक चिपहरू चाहिन्छ भन्ने विश्वासलाई कमजोर बनाएको छ।

यद्यपि, यस घटनाले भविष्यको बारेमा ठूलो अनिश्चितता र उच्च-प्रदर्शन चिपहरूको आवश्यकता सिर्जना गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *