महत्वपूर्ण विधेयकहरु हिउँदे अधिवेशनमा पारित हुन्छन्ः उपाध्यक्ष घिमिरे
कपिलवस्तु। राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संसदमा विचाराधिन रहेका महत्वपूर्ण विधेयकहरु संसद्को हिउँदे अधिवेशनमा नै पारित हुने विश्वास व्यक्त गरेकी छन्।
उपाध्यक्ष घिमिरेले गृह जिल्ला कपिलवस्तुको शिवराज नगरपालिकास्थित नेपाल आर्दश माध्यामिक विद्यालयको स्वर्ण महोत्सव समारोह उद्घाटन गर्दै विचाराधिन विधेयकहरु संसदको यही हिउँदे अधिवेशनमा पारित हुने विश्वास व्यक्त गरेकी हुन्।
‘राष्ट्रिय सभा र प्रतिनिधि सभाका समितिहरुमा विचाराधिन महत्वपूर्ण विधेयकहरु यही हिउँदे अधिवेशनमा पारित गर्नुपर्छ।’‚ उनले भनिन्, ‘कानूनको अभावमा सेवा प्रवाहमा पुगेको अवरोध यही हिउँदे अधिवेशनबाट अन्त्य हुन्छ भन्ने विश्वास लिएका छौ।’
विधेयकहरु वर्षौँ सम्म समितिमा अल्झेर बस्ने समस्या समाधानका लागि पहल भैरहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले सरकार पनि विधेयक अधिवेशनलाई कानून निर्माणमा नै केन्द्रित रहेकोले यो अधिवेशन फलदायी बन्ने विश्वास लिएको दोहोर्याइन्। राष्ट्रिय सभाका समितिमा विचाराधिन सबै विधेयक संसदमा पेश हुने उनको भनाई थियो। राष्ट्रिय सभामा समितिमा ६ महिना भन्दा लामो समय विधेयक नराख्ने व्यवस्था गरिसकेको उल्लेख गर्दै उपाध्यक्ष घिमिरेले प्रतिनिधि सभाले पनि समितिमा रहेका विद्येयकहरु टुंगोमा पुर्याउनका लागि छिट्टै नियमावली संशोधन मार्फत आवश्यक व्यवस्था गर्ने अपेक्षा राखिन्।
‘अब समितिमा नै वर्षौँ सम्म विधेयक अल्झेर बस्ने समस्या अन्त्य हुन्छ’, उनले भनिन्, ‘यसका लागि संसदका दुवै सदनले आवश्यक ब्यबस्था गर्छन।’ विद्यालय शिक्षा विद्येयक पनि यही अधिवेशनबाट पारित गर्न आवश्यक रहेको कुरामा जोड पनि दिइन्।
अर्को प्रसंगमा बोल्दै उपाध्यक्ष घिमिरे अहिलेको व्यवस्थाका विरुद्धमा चौतर्फी आक्रमण भैरहेकोमा चिन्ता व्यक्त गर्दै गलत प्रवृत्ति र कार्यशैली सुधारेर अहिले कै व्यवस्थालाई बलियो बनाउन आग्रह पनि गरिन्। व्यवस्था खराब नभएको तर कतिपय कार्यशैलीका कारण देखिएका समस्याहरु कार्यशैली सुधार गरेर हटाउन सकिने भनाई उनको थियो। सामाजिक सञ्जालमा अहिले परिवारसँग बसेर हेर्न नसकिने सामाग्रीको बाढी आउन थालेको तर्फ सबैले सचेत हुनुपर्ने कुरा औल्याउँदै विद्यालय शिक्षा मार्फत नै मर्यादित बनाउनुपर्ने आवश्यकतामा जोड दिइन्।
कपिलवस्तु गौतमबुद्धको जन्मभूमि भएकाले यहाँका सबै विद्यालयहरुले विश्व शान्तिको सन्देश सहित बौद्ध दर्शनको शिक्षा अनिवार्य लागु गर्नुपर्ने भनाई पनि उपाध्यक्ष घिमिरेले राखिन्।
नेपालकै नमुना विद्यालयको रुपमा रहेको नेपाल आर्दश माध्यामिक विद्यालयमा ३ हजार ५ सय विद्यार्थीले पढ्दै आएका छन्। यो विद्यालयमा नेपाली र अंग्रेजी माध्यममा माध्यामिक तह सम्मको पढाई हुँदै आएको छ भने व्यवसायिक र प्राविधिक शिक्षा तथा दृष्टिविहीनहरुका लागि विशेष कक्षा समेत सञ्चालित छ।
Facebook Comment