कंगोमा विद्रोही आक्रमणका कारण मानवीय संकट बढ्यो : संयुक्त राष्ट्रसंघ
काठमाडौं । संयुक्त राष्ट्रसंघले प्रजातान्त्रिक गणतन्त्र कंगोको गोमा सहरमा ठूलो मानवीय संकट आउन सक्ने चेतावनी दिएको छ ।
यहाँ सयौं घाइते सडकमा सुतिरहेको र सामूहिक बलात्कारका साथै लैङ्गिक हिंसाका घटना पनि बढिरहेको राष्ट्रसंघले जनाएको छ ।
यसैबीच, रेडक्रसले २४ घण्टामा एक सयभन्दा बढी घाइते अस्पताल पुगेको जनाएको छ ।
सहरको बाक्लो जनसङ्ख्या भएका क्षेत्रमा गोली चल्दा धेरै मानिसहरु, विशेषगरी बालबालिकाहरु नराम्ररी घाइते भएका छन् ।
विश्व स्वास्थ्य संगठनले गोमामा स्वास्थ्यकर्मीमाथि गोली चलाएको बताएको छ । रेडक्रस र विश्व खाद्य संगठनले हालैका दिनहरूमा उनीहरूको गोदामहरू लुटिएको बताएका छन्।
प्रजातान्त्रिक गणतन्त्र कंगोको दक्षिणमा अवस्थित गोमा सहरमा रुवाण्डा समर्थित एम-२३ विद्रोहीहरूले आक्रमण गरेका छन्।
यहाँ शान्ति स्थापनामा संलग्न कम्तीमा १३ दक्षिण अफ्रिकी शान्ति सैनिक एम-२३ विद्रोहीसँग लडाइँ मारिएका छन् ।
गोमा सहर देशको राजधानी किन्सासाबाट करिब २ हजार किलोमिटर टाढा छ।
कङ्गोका छिमेकी राष्ट्र युगान्डा र रुवाण्डाले पूर्वी क्षेत्रमा विद्रोहीलाई समर्थन गरेको लामो इतिहास छ।
कंगोको राजधानीमा प्रदर्शनकारीले रुवाण्डा, युगान्डा, फ्रान्स र बेल्जियमका दूतावासमा आक्रमण गरेका छन् । यहाँ केही भवनहरू पनि लुटिएका छन् ।
फ्रान्सेली विदेशमन्त्रीले मंगलबार बिहान दूतावासमा भएको आक्रमणको निन्दा गरेका छन् ।
तर, कंगोका सूचना मन्त्रीले किन्सासामा भएको प्रदर्शनपछि स्थिति सामान्य भएको दाबी गरेका छन् ।
यसैबीच मंगलबार विद्रोहीले गोमाको विमानस्थल कब्जा गरेको दाबी गरेका छन् ।
यहाँ सोमबार दिउँसो शहरका धेरै क्षेत्रमा भारी गोलीबारी र तोपको गोलीको आवाज सुनिएको थियो ।
यसअघि सोमबार विद्रोहीले सहर आफ्नो कब्जामा लिएको दाबी गरेका थिए । तर सरकारले सहरको विमानस्थललगायत महत्वपूर्ण स्थानमा आफ्नो नियन्त्रण रहेको बताएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार लाखौं जनसंख्या भएको सहर गोमाको सडकमा घण्टौं गोलीबारी र विस्फोटको आवाज सुनिएको थियो।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विदेशमन्त्रीले रुवान्डाले एम-२३ विद्रोहीहरूलाई समर्थन गर्न सीमामा सेना पठाएर युद्ध उक्साएको आरोप लगाएका छन्।
रुवान्डाले आफ्नो देशमा सत्ता परिवर्तन गर्न चाहने सशस्त्र समूहहरूलाई कंगोले समर्थन गरेको बताएको छ।
सन् २०२१ देखि विद्रोही समूह एम२३ को कङ्गोको ठूलो क्षेत्रमाथि नियन्त्रण छ।
Facebook Comment