१ हप्तामा जागिर छाड्ने सरकारी कर्मचारीलाई ८ महिनाको तलब दिने ट्रम्पको अफर

डिसी नेपाल
१६ माघ २०८१ १५:४१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारमा कर्मचारीको संख्या घटाउने कार्य सुरु गरेका छन् । ट्रम्प प्रशासनले मंगलबार संघीय कर्मचारीहरूलाई आफै जागिर छाड्न अफर दिएको छ । यसका लागि एक साता अर्थात् फेब्रुअरीको ६ तारिखसम्मको समय दिइएको छ ।

जागिर छाडेको बदलामा यी कर्मचारीलाई ८ महिनाको थप तलब दिइनेछ । सरकारी जागिरमा भर्ना गर्ने कर्मचारी विभागले आगामी दिनमा कर्मचारी कटौती गर्ने चेतावनी समेत दिएको छ । लाखौं कर्मचारीलाई पठाइएको इमेलमा आफ्नै इच्छामा पद छाड्नेले करिब आठ महिनाको तलब पाउने तर फेब्रुअरी ६ सम्ममा यो विकल्प रोज्नुपर्ने बताइएको छ ।

सरकारी तथ्यांकअनुसार संघीय कर्मचारीको संख्या ३० लाखभन्दा बढी छ । यो अमेरिकाको १५ औं ठूलो कार्यबल हो। प्यू रिसर्चका अनुसार संघीय कर्मचारीको औसत कार्यकाल १२ वर्ष हो। समाचार एजेन्सी एपीका अनुसार भेटरन्स अफेयर्स डिपार्टमेन्टमा काम गर्ने स्वास्थ्यकर्मी, घर वा व्यवसायका लागि ऋण प्रशोधन गर्ने अधिकारीहरू र सेनाका लागि हतियार खरिद गर्ने ठेकेदारहरू सबै सँगै बाहिर जान सक्छन्।

कर्मचारी विभागलाई पठाइएको इमेलमा घरबाट काम गर्ने कर्मचारीलाई कार्यालय फर्कन भनिएको छ । यी कर्मचारीहरूले हप्ताको पाँच दिन कार्यालयबाट काम गर्नुपर्नेछ।

अमेरिकन फेडरेशन अफ गभर्नमेन्ट एम्प्लाइज युनियनका अध्यक्ष एभरेट केलीले ट्रम्पको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् । केलीले यो आदेशमार्फत ट्रम्प प्रशासनप्रति वफादार नभएका कर्मचारीहरूलाई जागिर छोड्न दबाब दिइने बताए ।

केलीले संघीय कर्मचारीहरूलाई बर्खास्त गर्दा गम्भीर परिणामहरू हुने चेतावनी दिए । उनले ट्रम्प प्रशासनलाई श्रम विरोधी आदेश र नीतिहरू ल्याएको आरोप लगाए। केलीले भने “ट्रम्प प्रशासन संघीय सरकारलाई विषाक्त वातावरणमा परिणत गर्न चाहन्छ जहाँ कर्मचारीहरूले चाहे पनि काम गर्न सक्दैनन्।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *