सिरियाली विद्रोही नेता जुलानीले संविधान खारेज गरेर आफूलाई राष्ट्रपति घोषणा गरे
काठमाडौं । सिरियाली विद्रोही समूह तहरीर अल-शाम (एचटीएस) का नेता अबु मोहम्मद अल जुलानीले बुधबार दमास्कसमा संविधान खारेज गरेर आफूलाई राष्ट्रपति घोषणा गरेका छन्।
सिरियाली समाचार एजेन्सी सानाका अनुसार कमाण्डर हसन अब्देलघानीले देशमा पूर्ण स्थिरता नआएसम्म जुलानी राष्ट्रपति पदमा रहने बताएका छन् ।
अब्देलघानीले सिरियाको संसद पनि विघटन गरिएको बताए । नयाँ संविधान जारी नभएसम्म राष्ट्रपतिले अस्थायी व्यवस्थापिका परिषद् गठन गर्नेछन् । तर, यसका लागि समय सीमा तोकिएको छैन ।
अब्देलघानीले पूर्व राष्ट्रपति बसर अल-असदको बाथ पार्टीसँग सम्बन्धित सबै संगठन र संस्थाहरू विघटन गरिने पनि बताएका छन्। साथै, सिरियाली सरकारले उनीहरूको सबै सम्पत्तिमाथि नियन्त्रण गर्नेछ।
गत महिना एचटीएसले सिरियामा एउटा कूद्वारा राजधानी दमास्कस कब्जा गरेको थियो। यससँगै असद परिवारको ५४ वर्षे शासनको अन्त्य भएको छ । तत्कालीन राष्ट्रपति बसर अल असद भागेर मस्कोमा शरण लिएका छन् ।
जुलानीलाई अहमद अल-शरा नामले पनि चिनिन्छ। उनी सन् २००० मा मेडिकल कलेजमा भर्ना भए । उदार इस्लामको वातावरणमा हुर्केका जुलानी कलेजमा पुग्दा कट्टरपन्थी इस्लामिक विचारधारा भएका मानिसहरूसँग भेट भयो।
सन् २००३ मा अमेरिकाले इराकमाथि आक्रमण गर्न लागेको थाहा पाएपछि उनी चिन्तित भए र मेडिकल पढाइ छोडेर युद्ध लड्न गए । इराक पुगेपछि जुलानी अल कायदाको सम्पर्कमा आए । जुन २००६ मा उनलाई अमेरिकी सेनाले पक्राउ गरेर जेलमा हाल्यो ।
जेलमा हुँदा जुलानी बगदादीसँग सम्बन्धित व्यक्तिहरूसँग सम्पर्कमा आएका थिए। सन् २०११ मा जेलबाट छुटेपछि उनले सिरियामा धेरै आक्रमण गरेका थिए । उनले सन् २०१२ मा अल कायदाको सिरियाली शाखा जबात अल-नुसर गठन गरेका थिए।
२०१७ मा जुलानीले हयात तहरीर अल-शाम (एचटीएस) को गठनको घोषणा गर्दै एउटा भिडियो जारी गरे। उनले आफ्नो संगठनको बाहिरी देश वा पार्टीसँग कुनै सम्बन्ध नरहेको बताए । उनले आफ्नो एउटै उद्देश्य सिरियालाई असद सरकारबाट मुक्त गराउनु भएको बताए ।
२०१८ मा अमेरिकाले एचटीएसलाई आतंकवादी संगठन घोषणा गर्यो र अल-जुलानीको टाउकोको मूल्य १० मिलियन डलर तोक्यो । तर, कू पछि अमेरिकाले यो टाउकोको मूल्य हटाएको थियो ।
मिडिया रिपोर्टका अनुसार सन् २०१६ मा सिरियाको गृहयुद्ध समाप्त भएपछि जुलानीले आफ्ना लडाकुहरूलाई बलियो बनाउन थालेका थिए। उनले चीनका उइघुर मुस्लिमदेखि अरब र मध्य एसियासम्मका मानिसहरूको सहयोगमा आफ्नो सेना तयार पारे।
उनले सही समयको प्रतीक्षा गरे । त्यो समय इजरायल–हमास युद्ध र रुस–युक्रेन युद्धका कारण आयो । २०२२ मा, युक्रेनमा युद्ध सुरु भयो र रूस त्यहाँ व्यस्त भयो। जसका कारण रुसले सिरियाबाट आफ्ना सेना फिर्ता गरेको थियो ।
त्यसपछि २०२३ मा इजरायल र हमासबीच युद्ध सुरु भयो। यसको परिणामस्वरूप सिरियामा असदलाई सहयोग गर्ने इरान र हिजबुल्लाहले अब उनलाई ध्यान दिन सकेनन्। हसन नसरल्लाहको मृत्युपछि हिजबुल्लाह कमजोर भयो। यसैको फाइदा उठाउँदै जुलानीले सिरियाली सेनामाथि हमला गरे र ११ दिनमा राष्ट्रपतिलाई अपदस्थ गरे।
Facebook Comment