स्वीडेनमा कुरान जलाउने सलवान मोमिकाको हत्या
काठमाडौं । स्वीडेनको एक मस्जिद अगाडि कुरान जलाउने प्रदर्शनकारी सलवान मोमिकाको बुधबार साँझ अज्ञात व्यक्तिले हत्या गरेका छन् । बीबीसीका अनुसार ३८ वर्षीय सलवानलाई स्टकहोमको सडेरटेलजेको एउटा अपार्टमेन्टमा गोली हानिएको थियो । हत्याका बेला सलवान टिकटकमा लाइभ थिए ।
सलवानले २०२३ मा धेरै पटक कुरान जलाए र पैगम्बरको आलोचना गरे। जसका कारण विश्वभर स्वीडेनविरुद्ध प्रदर्शन भएको थियो । उनीमाथि कुरानको पानामा सुँगुरको मासु बेरेर कुरानलाई खुट्टाले कुचेको पनि आरोप लागेको थियो । सलवानका हत्यारा अझै पत्ता लागेका छैनन् । प्रहरीले अज्ञात व्यक्ति विरुद्ध मुद्दा दर्ता गरी हत्याराको खोजी सुरु गरेको छ ।
सलवान र उनका साथी सलवान नाजिमलाई स्वीडेनमा इस्लामविरुद्ध घृणा फैलाएको आरोप लगाइएको थियो। स्वीडेनको अदालतमा १६ जनवरीमा उनको विरुद्ध मुद्दा सुरु भएको थियो।
यस सम्बन्धि निर्णय जनवरी ३१ मा दिने भनिएको थियो । आज उनीहरु दुवैलाई स्टकहोम जिल्ला अदालतमा हाजिर हुनुपर्ने थियो । आज अदालतमा न्यायाधीश गोरान लुन्डहले उनको मृत्युको पुष्टि गरेका हुन् । मृत्युको खबर आएपछि स्टकहोम अदालतले सुनुवाई स्थगित गरेको छ ।
सलवान इराकको अअसिरियन-अरामी (क्रिश्चियन) समुदायका थिए। यो समूह इराकमा धेरै राजनीतिक रूपमा सक्रिय छ र प्रायः आफ्ना मागहरू पूरा गर्न हिंसाको सहारा लिन्छ। सलवान मोमिका पहिले इराकी मिलिसियामा थिए।
मोमिकाले आफ्नो विरोध मुस्लिम समुदाय विरुद्ध नभए इस्लाम धर्मको विरुद्धमा भएको दाबी गरेका थिए । उनले कुरानको सन्देशबाट स्विडेनका जनतालाई जोगाउन चाहेको बताए।
स्विडेनी प्रहरीले अभिव्यक्ति स्वतन्त्रताको आधारमा उनको प्रदर्शनलाई अनुमति दियो तर उनी विरुद्ध मुद्दा समेत दायर गरेको थियो ।
Facebook Comment