निश्चित समूहलाई फाइदा हुने गरि सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले निश्चित वर्ग समूहलाई फाइदा हुने गरि सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको समाजवादीको सचिवालय बैठकले कालाबजारी र निश्चित वर्ग समूहलाई फाइदा हुने गरि सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गर्ने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए।
अध्यादेशले २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन खारेज गरेको र जसका कारण सिमेन्टको भाउ बढेको उनले बताए। उनले भूमिसम्बन्धी अध्यादेशले गिरिबन्धु जस्ता जग्गालाई वैध बनाउने काम भएकाले त्यसको विरोध गरिने उल्लेख गरे। अध्यादेशकाविरुद्ध संघर्षमा जान पनि तयार हुनुपर्छ भन्नेबारे बैठकमा छलफल भएको उनले जानकारी दिए।
त्यस्तै बैठकमा आगामी स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेण्डाका बिषयमा पनि छलफल भएको भट्टराईले जानकारी दिए। बैठकमा अध्यक्ष माधव कुमार नेपालले पछिल्लो राष्ट्रिय राजनीति र पार्टीको गतिविधिबारेमा ब्रिफिङ गरेका थिए।
Facebook Comment