हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन हुने
काठमाडौं। हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन आयोजना हुने भएको छ। मदन भण्डारी कला-साहित्य प्रतिष्ठानको आयोजनामा चैत १ गतेदेखि ३ गतेसम्म काठमाडौँमा सम्मिलन आयोजना हुने भएको हो।
प्रतिष्ठानका अध्यक्ष तथा सम्मिलन आयोजक समितिका संयोजक डा. विजय सुब्बाका अनुसार हिमवत्खण्डमा उद्भव भएका मानव सभ्यता र सांस्कृतिक वैभवहरूका साथै यस भू-खण्डमा बसोबास गर्ने विभिन्न भाषा-भाषिका विभिन्न संस्कृति, सभ्यता र ज्ञानपरम्परालाई आत्मसात् गर्दै यहाँका विविध जातजाति तथा समुदायबीच सांस्कृतिक आदान-प्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञानपरम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने, तिनको खोज-अन्वेषण, अध्ययन-अनुसन्धान, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने, बहुभाषिक एवम् बहुसांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाई हिमवत्खण्डका संस्कृति र सभ्यताप्रति गौरवको भावना जगाउने, सामाजिक एकता र सद्भावलाई भावनात्मक र व्यावहारिक रूपमै सुदृढ तुल्याउँदै जाने उद्देश्यले ‘हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन’ आयोजना गर्न लागिएको हो।
डा. सुब्बाका अनुसार सम्मिलनमा मुलुकका सातओटै प्रदेशका साथै भारत, चीन, बंगलादेश, म्यानमार, भुटान, थाइल्यान्डलगायतका देशबाट नेपाली लोकसंस्कृतिसम्बन्धी सम्बन्धित मुलुकका विज्ञद्वारा कार्यपत्र प्रस्तुत गरिने छ।
यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘हिमवत्खण्ड, यसको महिमा र लोकसंस्कृति’का सम्बन्धमा, नेपालऋषि प्राज्ञ डा. जगमान गुरुङद्वारा ‘हिमवत्खण्डको सांस्कृतिक वैशिष्ट्य’का सम्बन्धमा र सिक्किमका पूर्वमुख्यमन्त्री तथा वरिष्ठ साहित्यकार पवन चाम्लिङद्वारा ‘हिमवत्खण्डमा नेपाली भाषा तथा नेपाली लोकसंस्कृतिको अवस्था’का बारेमा विशेष प्रवचन हुने छ।
डा. सुब्बाले भने, “यसका साथै हिमवत्खण्डमा नेपाली भाषाको अवस्था, हिमवत्खण्डको संस्कृति र विश्वव्यापीकरण एवम् हिमवत्खण्डको नेपाली खानपान संस्कृतिका बारेमा समेत कार्यपत्रहरू प्रस्तुत हुनेछन्।”
विभिन्न जातजातिको लोकसंस्कृति झल्किने सांस्कृतिक झाँकीसहित समुद्घाटन समारोह, प्राज्ञिक विमर्श, सांस्कृतिक प्रस्तुति, लोककला, वेशभूषा तथा लोबाजाहरूको प्रदर्शनी र कविता उत्सवलगायतका कार्यक्रम सम्मिलनमा समावेश गरिएको आयोजक सचिवालयका सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बूले जानकारी गराए ।
उनले भने, “सम्मिलन तयारीका लागि मूल आयोजक समिति, सल्लाहकार समितिसहित विभिन्न उपसमितिहरू गठन गरिएको छ।” यसअघि २०७५ सालमा भानुजयन्तीका अवसरमा हिमवत्खण्ड कला-साहित्य सम्मिलन आयोजना गरिएको थियो।
सभ्यता एवम् ज्ञानको आदिभूमिका रूपमा रहेको नेपाल हिमवत्खण्डको केन्द्र स्थल मानिन्छ। हिमवत्खण्डको नेपालमै सबैभन्दा प्राचीन ग्रन्थ ऋगवेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको थियो । यसै भूमिमा चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौँ नीतिशास्त्रको प्रादुर्भाव र विस्तार भएको थियो।
हिमवत्खण्डअन्तर्गत नै सप्तगण्डकीमा काश्यप ऋषि, पुलस्त्य ऋषि, कोशी किनारमा कौशिक ऋषि (विश्वामित्र), मिथिलामा तत्वज्ञानी राजा जनक, याज्ञवल्क्य, गार्गीजस्ता दार्शनिक र वाल्मीकि, व्यास, कालीदास प्रभृत्ति महान् कविहरूको जन्म भयो । यहीँ नै ने मुनि नामका ऋषि र किरातहरूका ऋषि आकुनीले ख्याती कमाएको पाइन्छ ।
वैदिक वाङ्मयमा विविध दर्शनहरूको आविष्कारले यस क्षेत्रलाई सिञ्चित गर्न सकेकाले नै हिमवत्खण्ड र यसअन्तर्गत पर्ने नेपाललाई मानव सभ्यताको उद्गम र विश्वसभ्यताको ज्येष्ठभूमि मानिएको हो । यसै पावन भूमिमा गौतमबुद्धको जन्म भयो र विश्वभर बुद्धत्वको प्रकाश प्रसारित भएको हो ।
Facebook Comment