जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक भोलिदेखि

डिसी नेपाल
१८ माघ २०८१ १९:४५

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलिदेखि सुरु हुँदैछ।

भोलि शनिबार माघ १९ र २० गतेका लागि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने गरी बैठकको तयारी भएको पार्टी अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक बिषयसहित पार्टीको संगठनात्मक कार्यदिशा बारे  छलफल र करिब ६ महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल, संगठन निर्माण अभियान’ को वृहत् समिक्षा हुने बताइएको छ।

यसअघिको बैठकले केन्द्रदेखि वडास्तरसम्म जारी संगठन निर्माण अभियान कार्यकर्ता र जनतामाझ अत्यन्तै लोकप्रिय, प्रभावकारी र उत्साहजनक रहेको निष्कर्ष निकाल्दै पौष र माघ मसान्तसम्मको लागि अभियानको समयावधि थप गरेको थियो।

कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुलाई तोकिएको जिम्मेवारी अनुसार आ—आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ।

मधेश केन्द्रित दलहरु संयुक्त मोर्चा बनाएर सडकदेखि सदनसम्म संघर्ष गर्ने अन्तिम तयारी गरिरहेको बेला सो बारे पनि जसपा नेपालको कार्यकारिणी बैठकमा छलफल हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *