कविता : बाध्यता
बाध्यताले हो या विवशताले हो?
हल्लिएछ धरातल वरिपरी
काँपे अंग प्रत्यांग थरथरी
यो हो विकल्प बिना लादिएको बाध्यता
यो हो विकल्प बिना लादिएको व्यवस्था
पथबाट खसेँछु-बिथोलिएको मनको खाडलमा पसेँछु
थाहै नपाई अँगालोबाट निस्की सकेँछु
तिम्रो मनबाट पखालिएँछु
बाध्यता-कसले बुझ्ने यो बाध्यता हो या विवशता
पाइन साहारा-साहारा चाहिएको बेला
भेटिन बाटो-बाटो खोजेको बेला
कसैले हात थापी दिएको भए हुन्थ्यो नि
यो मन भौंतारिएको बेला
बाध्यता-फैलिएको यो विवशता
अवसरनै नपाइ मारिएका जीवनका आशाहरु
कठिनले फेरिरहेछु यी शासहरु
फेरि पथ समाउन घस्री रहेछु
बिगतलाई हेर्दै बर्तमानलाई डोर्याउन खोजी रहेछु
बाध्यता-परिस्थितिले बनाएको यो बाध्यता ।
कति गरे पनि मनको दियालो बल्दै बल्दैन
जति गरे पनि अध्याँरो मनले उज्यालो देख्दै देख्दैन
मुर्झाएको बेसाहारा परिबेसले साहारा देखाउँदै देखाउँदैन
लर्खराएको खुट्टा अगाडि सर्न सक्दै सक्दैन
बाध्यता-परिस्थितिले जन्माएको यो बाध्यता
बर्तमान नदेख्नेले भविष्यका आशाहरु कसरी देख्छ र
निरश परिबेशले जन्माएको परिस्थितिले इच्छा र रहरहरु कसरी बुझ्छ र
निद हराएको मान्छेले सुन्दर भविष्यको सपना कसरी देख्छ र
आशा मरेका सन्नाटाको परिवेशमा सन्ततिको लागि कस्तो इतिहास लेख्छ र
बाध्यता-परिस्थितिले जन्माएको यो बाध्यता
तिमी भएको भए शाएद यो बिछोड हुने थिएन
तिमी भएको भए शाएद यो थकान र पसिनाका धारा बग्ने थिएनन्
तिमी भएको भए शाएद यो पिढाको दुखाई भोग्नु पर्ने थिएन
जति कोशिस गरे पनि मेरो लागि तिमी-तिमी रहेनौं
तर…
खोजेर के गर्नु-छैनन् यहाँ कता गए कता इमान्दारीहरु
खोजेर के गर्नु-छैनन् यहाँ कता गए कता साहसी र बहादुरहरु
खोजेर के गर्नु-छैनन् यहाँ कता गए कता देश बनाउने सपुतहरु
खोजेर के गर्नु-छैनन् यहाँ आमालाई श्रृङ्गार्ने हातहरु
बाध्यता-यो जीवन र मृत्युको दोधारको बाध्यता र विवशता
यो तिमीले श्रृजना गरेको बाध्यता-यो तिमीले श्रृजना गरेको विवशता
हेर-
आमा-तिम्रो लट्टा परेको कपाल कोरिदिने कोही भएन
आमा-तिम्रो टाउकामा परेका जुम्रा टिपीदिने कोही भएन
आमा-तिम्रा चाउरी परेका गाला हुँदै झरेका आँशु पुछी दिने कोही भएन
आमा-तिम्रो नाकबाट झरेको सिगान पुछी दिने कोही भएन
आमा-तिम्रो फाटेको चोलो फेरी दिने कोही भएन
आमा-तिमीले लालाबाला, सन्तान सबै गुमायौ साथै आफैंलाई गुमायौ
कठै! आमा-तिम्रो हेरचाहा गर्ने कोही भएन
यो बध्याता यो विवशता कसरी सामना गर्छौ?
तिम्रा कानका मार्बाडी र नाकको बुलाकी कता गए
बारीको आधा पाटो पनि अर्कैले कमाउन थालेछ
टाट्नाको खसी पनि साहुको घरमा पुगेछ
गोठको गाई पनि मुखियाको घरमा पुगेछ
बाध्यता र विवशताले रित्याएको घर
यिनीहरूले नै सृजना गरेको यो बाध्यता-यो विवशता
कसैले त मेटी देउ यो बाध्यता र विवशताको खाडल
Facebook Comment