अछाम घटना : शारीरिक सम्पर्क राख्न नमान्दा प्रेमीले नै लिए दुई किशोरीको ज्यान

डिसी नेपाल
१९ माघ २०८१ ११:०१

काठमाडौं । अछाममा दुई किशोरीको ज्यान जाने गरी भएको हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। ढकारी गाउँपालिका-८ कि सरस्वती खड्का र ईशरा खड्कालाई ढकारी गाउँपालिका ३ का दुई किशोरले हत्या गरेको आज बिहान पत्रकार सम्मेलनमार्फत प्रहरीले जनाएको हो।

यही माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई किशोरी भोलिपल्ट मृत फेला परेका थिए। घटनापछि परिवारको हत्याको आशंकामा दुई युवकमाथि किटानी जाहेरी दिएकोमा अनुसन्धानमा रहेका १७ र १५ वर्षीय दुई किशोरले किशोरीको हत्या गरेको खुलेको हो।

परेका युवकमाथि ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए।

पक्राउ परेकाहरूले घटनामा आफूहरूको संलग्नता रहेको स्वीकारेको प्रहरीको भनाइ छ। घटना भएको दिन मृतक बाख्रा चराउन गएको जंगलमा आरोपित पनि पुगेका थिए। उनीहरू किशोरीसँग फोन गर्दै जंगल पुगेका थिए।

आरोपितले जंगलमा मृतकसँग उपहार स्वरुप चुन्नि मागेका थिए। मृतक ईशराले चुन्नि दिए पनि सरस्वतीले चुन्नि उपहार लिन नमान्दा घटान घटेको देखिएको छ। सरस्वतीले चुन्नि नदिएर बाख्रा फर्काउन गएको समयमा १५ वर्षीय किशोरले यौन प्रस्तावसमेत राखेका थिए। सरस्वतीले यौन प्रस्ताव अस्वीकार गर्दा उनलाई ढुंगाले हानेर हत्या गरेका खुलेको हो।

सरस्वतीको हत्या भएको खबर गाउँमा भनिदिने भन्दै भाग्ने क्रममा ईशरालाई उनकै प्रेमी १७ वर्षीय किशोरले ढुंगाले हानेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

घटना पश्चात उक्त घटना कृतिम बनाउनका लागि हत्याराले ईशराको शव व्यवस्थापन गरेका थिए।

जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले घटनाको अनुसन्धान गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *