यौन प्रस्ताव अस्वीकार गरेपछि दुई किशोरीको वीभत्स हत्या
अछाम। यौन प्रस्ताव अस्वीकार गरेपछि प्रेमी भनिएका युवकले नै अछाममा दुई किशोरीको हत्या गरेको खुलेको छ। १४ वर्षीया ईशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या उनकै प्रेमी भनिएको युवकले गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
उनीहरू गत शनिबार छिन्ने जंगलमा मृत भेटिएका थिए । माघ ११ गते शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा उनीहरू मृत भेटिएका थिए । मृत भेटिएकी ढकारी गाउँपालिका-८ पल्साताकी दुवै किशोरी (फुपू भदैनी नाता पर्ने)को ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको हो ।
घटना अनुसन्धानका लागि प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा उनीहरूले नै दुई किशोरीको हत्या गरेको देखिएको अछाम प्रहरीले जनाएको छ ।
हत्या गर्ने एकजना नाम परिवर्तित (६९ मंगलसेन ७६) ईशराको प्रेमी रहेको र अर्का परिवर्तित नाम (६९ मंगलसेन ७३) सरस्वतीको प्रेमी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
घटनामा पक्राउ परेका दुवैलाई प्रहरीले शनिबार सार्वजनिक गरेर विस्तृत जानकारी दिएको हो। पक्राउ परेका दुई किशोर ढकारी गाउँपालिका-३ तालिकाका हुन् । हत्यामा संलग्नहरूको उमेरका कारण नाम सार्वजनिक नगरिएको उनले बताए। शारीरिक सम्बन्धको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको डिएसपी भण्डारीले बताए।
जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो सिआइबी, सुुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले घटनाको अनुसन्धान गरेको थियो ।
प्रहरी प्रमुख भण्डारीका अनुसार अहिलेसम्म घटनामा दुई किशोरले हत्या गरेको स्वीकारेको र अन्यको संलग्नताबारे अनुसन्धान भइरहेको छ । पोष्टमार्टमको अन्तिम रिपोर्ट र प्राविधिक रिपोर्ट आउन बाँकी रहेकाले अनुसन्धान निरन्तर चलिरहेको उनले बताए।
दुई दिनअघि नै गाउँमा
मृतक ईशरा खड्का र पक्राउ परेका ६९ मंगलसेन ७३ (परिवर्तित नाम) किशोरबीच लामो समयदेखि टेलिफोनमा कुराकानी हुने गरेको थियो । उनीहरूबीच टेलिफोनमा संवाद भए पनि भेट्ने मौका जुरेको थिएन ।
बिहीबार तालीबाट पक्राउ परेका दुवै किशोर कोसेली लिएर फुपूको घरमा पुगेका थिए । फुपूको घर आएको मौकामा किशोरीसँग भेट्ने योजना बनाएर फोनमा कुरा गरी उनीहरू शुक्रबार बिहानै फुपूको १० वर्षीय छोरालाई समेत लिएर छिन्ने जंगल पुगेका थिए । दिउँसो करिब साढे १२ बजेको समयमा उनीहरूबीच भेट भएको थियो ।
हत्यामा संलग्न भनिएका दुई किशोर दुई दिनअघि नै मंगलसेनबाट डुफा आएका थिए । प्रहरीका अनुसार उनीहरूले पटक-पटक फोन गरेर भेट्न बोलाएको देखिएको छ । तर, ती किशोरीले भेट्न नमानेपछि घटना हत्यासम्म पुगेको प्रहरीको भनाइ छ । ११ गते भेट्ने योजना बनाई बिहान १० बजे खोलामा गई केटीहरूलाई ढुकेर बसेका थिए ।
मृतक केटीहरू १२ बजे रिमरौहा खोला नजिकैको खोरबाट बाख्रा ल्याई नजिकैको वनमा आएका थिए । त्यसपछि ती दुवै किशोरसँग उनीहरूको भेट भएको हो । सरस्वतीले मोबाइलबाट नाम परिवर्तित ६९ मंगलसेन ७६ को सेयर इटबाट भिडिओ सेयर गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि सोही जंगलमा रहेको छिन्ने ओडार भन्ने स्थानमा रहेको ठूलो ढुंगामा मृतक सरस्वती र ईशरासँग बसेका थिए ।
यसरी भएको थियो हत्या
दुवै किशोरले सरस्वती र ईशरासँग मायाको चिनो भनेर दोपट्टा मागेका थिए । ईशरा खड्काको सेतो दोपट्टा खोसेर परिवर्तित नाम ६९ मंगलसेन ७३ लाई दिइएको थियो । तर, सरस्वतीले भने दोपट्टा ६९ मंगलसेन ७६ लाई दिन अस्वीकार गरेको अनुसन्धानबाट खुलेको छ ।
दोपट्टा नदिएपछि किशोरले सरस्वतीको इयरफोन खोसेका थिए । उनीहरूबीच दोपट्टा खोसाखोसमा विवादसमेत भएको थियो । इयरफोन आफ्नो दाइको भन्दै ईशराले ६९ मंगलसेन ७६ सँग फिर्ता लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । त्यसपछि ईशरा ढुंगाबाट तल झरेर बाख्रा हेर्ने भन्दै जंगलतर्फ लागेको प्रहरीले जनाएको छ ।
सोही समयमा ६९ मंगलसेन ७६ ले सरस्वतीलाई यौन सम्पर्क गर्न दिन प्रस्ताव राखेको र सरस्वतीले भने विवाह गर्ने भएपछि मात्रै यौन सम्पर्क गर्ने जवाफ दिएकी थिइन् । किशोरले आफूलाई यौन सम्पर्क गर्न नदिएको रिसमा ढुंगा समातेर सरस्वतीको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीलाई ६९ मंगलसेन ७६ ले दिएको बयानअनुुसार प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले सरस्वतीलाई यौन सम्बन्ध राख्न प्रस्ताव गरेका थिए । ६९ मंगलसेन ७६ ले जबरजस्ती गर्न खोजेपछि उनले प्रतिवाद गरिन् ।
त्यसपछि ६९ मंगलसेन ७६ ले ढुंगाले हानेर सरस्वतीको निर्मम हत्या गरेको डिएसपी भण्डारीले बताए। सरस्वतीको हत्या हुँदासम्म ईशरालाई भने थाहा थिएन । उनी बाख्रा फर्काउन भन्दै अलि तल गएकी थिइन् । सरस्वतीले गरेको प्रतिवादले आक्रोशित भएर हत्या गरेका ६९ मंगलसेन ७६ ले हत्या गरेको लुकाउने उद्देश्यले भवितव्य भएको देखाउन माथिबाट उनको शव भएको स्थानतिर ठूलो ढुंगा खसालेका थिए ।
ढुंगा खसेको आवाज आएपछि ईशरा घटनास्थलमा पुगेकी थिइन् । उनले त्यहाँ सरस्वतीको शव क्षतविक्षत अवस्थामा देखिन् । ६९ मंगलसेन ७६ ले भीर माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको बताए ।
तर, ईशराले पत्याइनन् र फुपू सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने बताइन् । घटना बाहिर आउने डरले ६९ मंगलसेन ७३ र ६९ मंगलसेन ७६ ले ईशराको पनि हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सरस्वतीको हत्या ६९ मंगलसेन ७६ ले गरेका हुन् भने ईशराको हत्या दुवैजनाको योजनाअनुसार भएको प्रहरीले बताएको छ ।
पक्राउ परेकामध्ये १० वर्षीय नाबालकलाई अनुसन्धानमा सघाएका कारण सरकारी साक्षी राखिएको छ । अन्य दुई जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ढुंगा लागेर सरस्वतीको मृत्यु भएपछि ती किशोरले घटनालाई कृत्रिम बनाउन ढुंगा खसाएको प्रहरीको भनाइ छ । हातले ढुंगा नआएपछि अडेस लागेर ढुंगा सरस्वतीको शव भएको ठाउँमा पछि लडाइएको हो ।
Facebook Comment