कांग्रेसलाई गुटशील होइन, गतिशील बनाऔं
नेपाली कांग्रेसको १४औं महाधिवेशन २०७८ पुसमा सम्पन्न भएको थियो। उक्त मितिले २०८३ भित्र १५औं महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। महाधिवेशन आउन एक वर्ष बढी समय हुँदा नेताहरूले भने सक्रियता बढाउनु भएको छ।
पार्टीभन्दा व्यक्तिको गतिशीलता झल्किने खालका कार्यक्रममा नेताहरूको सक्रियता देखिन्छ। पार्टीमा आफूले पाएको जिम्मेवारीलाई उहाँहरूले गुटगत फाइँदाको लागि प्रयोग गरिरहनु भएको छ।
२०८४ मा तीनै तहको चुनाव छ। तर, कांग्रेस नेतृत्व पंतिको ध्यान ८४ को चुनावभन्दा पार्टी नेतृत्वमा कसरी पुग्ने भन्नेमा बढी केन्द्रित देखिन्छ।
पार्टी पदाधिकारीदेखि विभिन्न विभागका प्रमुख र प्रतिनिधिहरू आफू अनुकूलका कार्यक्रममा व्यस्त देखिनु भएको छ। एक गुटको कार्यक्रममा आफूले मन नपराएकाहरूलाई वञ्चित गर्नेगरी कार्यक्रम भइरहेका छन्। यो पार्टीको जीवन्तताको लागि राम्रो होइन।
हुन त यहाँ विरोध गर्न पाइँदैन। विरोध गरे सबैको आँखाको तारो भइन्छ। तर, गलत ढंगबाट भइरहेका क्रियाकलापलाई गलत भन्न नसक्नु झन् ठूलो कमजोरी हो भन्ने मलाई लाग्छ। किनकि म विश्वेश्वरप्रसाद कोइरालाको पार्टीको कार्यकर्ता हुँ। बिपीले आफ्ना कमजोरी औंल्याउन पत्रकारहरूलाई नै भन्नुहुन्थ्यो।
उहाँ समयलाई चिन्नु हुन्थ्यो। पुस्तान्तरणलाई बुझ्नुहुन्थ्यो। र, सापेक्षता अनुरूप कदम चाल्नु हुन्थ्यो। उहाँमा पार्टीका लागि चिन्ता र देशमाथि चिन्तन गर्न सक्नुहुन्थ्यो। तर, अहिलेको पुस्ता ठ्याक्क उल्टो छ।
आफ्नो चिन्ता र गुट कसरी मौलाउने चिन्तन गर्न थालेको छ। यसले पार्टीलाई कमजोर बनाउँदै लगेको छ। कांग्रेसलाई कमजोर पार्न सबैतिरबाट आक्रमण भइरहेको पछिल्लो दशकमा हामी एक ढिक्का हुन आवश्यक छ।
जनताको निराशालाई आसामा बदल्नुपर्ने छ। देशमा आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, पर्यटकीय र स्वास्थ्य जस्ता तमाम क्षेत्रमा गति प्रदान गर्नुपर्छ। त्यो एक ढिक्का कांग्रेसबाट मात्र सम्भव छ।
विश्व एआईको युगमा प्रवेश गरिसक्यो। हामी गुटकै राजनीतिमा रुमलिरहेका छौं। यस्तो अवस्थामा हामी युग सुहाउँदो राजनीति गर्न सक्दैनौं। र, आफूसँगै पार्टी पनि कमजोर हुँदै जान्छ। जग बलियो भए मात्र घर बलियो हुने हो।
कमजोर जगमा ठडिएको घर जतिखेरै भूकम्पले ढालिदिन सक्छ। हाम्रा लागि पार्टी जग हो। त्यसैमा उभिएर, त्यसैभित्र रहेर हामीले राजनीति गर्ने हो। त्यसैले जग बलियो बनाऔं। गुट र व्यक्ति बलियो हुँदा कदापि अडिन सकिँदैन।
जनता र कांग्रेसको ठूलो संघर्षले प्रणाली फेरियो। तर, मानसिकता फेरिन सकेको छैन। वर्तमान समय र संरचनालाई कांग्रेसले आत्मसाथ गर्न सकेको छैन। आफ्ना संरचना पनि त्यस अनुरूप बदल्न सकेको छैन।
कांग्रेसको आधारभूत सिद्धान्त कुनै दुई व्यक्तिलाई समान देख्नु हो। लोकतन्त्रमा धनी-गरिब, उचनिच भनेर विभेद गरिँदैन। तर, कांग्रेस तल्लो तहको जनतासम्म पुग्न सकेको छैन। सुकिला मुकिलाकै वरपर घुमिरहेको जस्तो देखिन्छ। आफूप्रति युवापुस्तालाई आकर्षित गर्न कांग्रेस चुकेको छ।
युवाहरूमा कांग्रेसमा प्रवेश गरेर अवसर पाइँदैन भन्ने मानसिकता छ। अवसर नपाउने भएपछि युवा किन आउँछन् र? यसको दोषी पनि शीर्ष नेतृत्व नै हो। समयमा पार्टी, भ्रातृ र सुवेच्छुक संस्थाको महाधिवेशन भइदिए नेतृत्व जाम हुने थिएन।
विचार र क्रियाशीलताका कारण छोटै समयमा क्षमतावान् व्यक्ति नेतृत्वमा पुग्ने थिए। त्यसले युवा आकर्षण पनि बढ्ने थियो। त्यसैले युवासँगै विभिन्न क्षेत्रका व्यक्तिहरूका लागि ढोका बन्द हुने खालका गतिविधि पार्टीमा निस्तेज पारिनुपर्छ।
नेतामा उत्कृष्ट क्षमता हुनुपर्छ। नेताले आफ्नो क्षमता र विनयशीलताले समाजलाई गाइड गर्न सक्नुपर्छ। अहंकार र स्वार्थ मुक्त हुनुपर्छ। चरित्रवान् र नैतिक हुनुपर्छ। तर, नेपाली राजनीतिमा पछिल्लो समय यी सबै कुरामा ह्रास आउँदै गएको छ।
भ्रष्टाचार मौलाउँदै गएको छ। व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै जान थालेको छ। पार्टीमा समूह हुन्छन्, विश्वका विभिन्न मुलुकमा यस्तो देखिन्छ भन्दै कमजोरीमा रमाउने छुट कसैलाई छैन।
राम्रा कुराको उदाहरण दिँदै प्रेरित पार्ने हो। तर, कमजोरीमा रमाउनु हुँदैन। पार्टीभित्र फरक मत हुनु स्वाभाविक हो। एकै मत मात्र भयो भने नेतृत्व तानाशाही हुन्छ।
तर, गुटगत रूपमा पार्टीका सही निर्णयलाई पनि गलत दृष्टिले हेर्दै त्यसको अपव्याख्या गरिनु हुँदैन। गुट तन्त्रमा रमाउने कांग्रेसको काम होइन। त्यो कम्युनिस्टहरूलाई छोडिदिनुपर्छ। पार्टीमा यथास्थितिको निरन्तरता देखिनु हुँदैन, परिवर्तन सुरुवात आवश्यक छ।
राणाशासनदेखि गणतन्त्रसम्म निरन्तर जनताको हकअधिकार र लोकतान्त्रिक मूल्य-मान्यताका लागि लडेको पार्टी हो कांग्रेस। नेपाली राजनीति र सामाजिक परिवर्तनको संवाहक शक्ति हौं हामी। सात दशक लामो गर्विलो इतिहास छ हामीसँग।
बिपी कोइरालाले हाम्रा लागि प्रजातन्त्र स्थापनापछिको सत्ता अपरिहार्य छैन भन्नु भएको थियो। उहाँको यो सन्देश हामीले जनताका लागि काम गर्ने हो भन्ने हो। आज यही सन्देशलाई उठाउन सक्ने ल्याकत नेताहरूमा देखिँदैन। र, अहिले पार्टीलाई गुटले सक्दै लगेको छ।
त्यसैले म सबै नेताहरूलाई हामीले अंगालेको गलत मार्गलाई सुमार्गतर्फ फर्काउन आग्रह गर्छु। हामी आफैंभित्र मौलाएको मतमतान्तर परित्याग गरौं। अझ सशक्त, एकताबद्ध, सुदृढ, विचारशील, कर्मशील, उद्यमशील र सक्रिय कांग्रेस निर्माणमा जुटौं।
लोकतन्त्रमा आवाज साँघुरिनु हुँदैन। अभिव्यक्ति स्वतन्त्रतामा प्रहार हुनु हुँदैन। स्वतन्त्रता र स्वाभिमानको आन्दोलनलाई कांग्रेसले कहिले झुक्न दिएन। त्यसैले विना स्वार्थ पार्टी र समाजका लागि क्रियाशील पंक्ति नयाँ सोच, शैली र बाटोमा अगाडि बढौं।
(लेखक नेपाल तरुणदलका केन्द्रीय सदस्य हुन्।)
Facebook Comment