दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने खेलाडीको विदाई
दुवई। दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विदाई गरेको छ।
मंगलबार राखेप परिसरमा आयोजित एक कार्यक्रमकाबीच राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, राखेपकी सदस्य अञ्जना श्रेष्ठ र पारा एथलेटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले खेलाडीहरुलाई विदाई गरेका हुन्।
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समामा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार दुबइ प्रस्थान गर्नेछन्। खेलाडीलाई विदाई गर्दै राखेप सदस्य सचिव घिसिङले अन्तराष्ट्रिय खेलमा पदक ल्याउदा सरकारले नै पुरस्कार सहित प्रोत्साहन गर्ने बताए।
खेलाडीले आफ्नो भविष्य सुनिश्चित हुने गरि खेल्ने आधार तयार भएको उनले बताए। फेब्रुअरी ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।
नवराज कार्कीले पुरुष ४ सय मिटर र १ हजार ५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन्। विलिशा अर्यालले महिला १ सय मिटर दौड र सटपुट तथा प्रभा आङडेम्वेले महिला २ सय-४ सय मिटर दौड र लङजम्पमा सहभागी हुने छन्।
यसै प्रतियोगिताको प्रदर्शनका आधारमा नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमाका लागि खेलाडी छनोट गरिने बताइएको छ।
Facebook Comment