दिल्ली विधानसभाको चुनाव सुरु
दिल्ली विधानसभा चुनावको मतदान सुरु भएको छ। दिल्लीका ७० विधानसभा सिटका लागि निर्वाचन भइरहेको हो। मतदान बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ।
यस चुनावमा लगभग १.५६ करोड मतदाताले मतदान गर्नेछन्। दिल्लीको चुनावमा ६९९ उम्मेदवार प्रतिस्पर्धामा छन्। दिल्ली चुनावको मतदानलाई ध्यानमा राख्दै आज दिल्ली र हरियाणामा सार्वजनिक बिदा घोषणा गरिएको छ। आम आदमी पार्टीले दिल्लीमा २०१५ र २०२० को विधानसभा चुनावमा बहुमत हासिल गरेको थियो।
२०१५ मा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो भने २०२० मा ६२ सिट जितेको थियो। निर्वाचनमा ६९९ उम्मेदवार छन्। उनीहरुको भाग्य परीक्षा एक करोड ५६ लाख मतदाताको हातमा छ । दिल्लीमा १८ प्रतिशत स्वीङ भोटर्स रहेका र उनीहरु नै जितका लागि निर्णायक हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दिल्लीको सत्ता लगातार तेस्रो पटक हात पार्ने दाउँमा आम आदमी पार्टी (आप) छ। आपलाई रोक्ने प्रयासमा भाजपा र कांग्रेस लगायत दल छन्।
लगातार तीन वर्ष केन्द्र सरकारको नेतृत्व गरिरहेको भाजपा दिल्ली प्रदेशको सरकारमा भने २५ वर्षदेखि बाहिर छ । आम आदमी पार्टी सरकारको नेतृत्वमा आउनुअघि कांग्रेसले १५ वर्षसम्म दिल्लीको सत्ता चलाएको थियो । तर विगतका दुई निर्वाचनमा कांग्रेसले एक सिट पनि जित्न सकेको छैन।
Facebook Comment