रास्वपाले संसद् बैठकमा मर्‍यादा भंग गर्‍यो : एमाले

डिसी नेपाल
२३ माघ २०८१ १९:३३

काठमाडौं । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बिहीबारको प्रतिनिधिसभाको बैठकमा अध्यादेश पेश हुने बताएका छन्। बुधबार सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भ्रष्टाचारसँग सम्बन्धित प्रतिवेदनसमेत भोलिको संसद‍्मा पेश हुने बताएका हुन्।

उनले भने, ‘भोलि अध्यादेश पारित हुने गरी पेश हुनेछ। विशेषगरी प्रतिपक्ष दलका नेताहरूले बोल्ने कुरा गर्नु भएको छ। त्यो स्वभाविक कुरा नै हो। सुन्ने र विशेष समयलगायत केही विषय हुन्छन्। सरकारका तर्फबाट मान्य स्वास्थ्य मन्त्रीले केही विषयमा छलफल राख्ने हाम्रो तयारी छ। केही महत्त्वपूर्ण विषय र प्रतिवेदनमाथि छलफल हुनेछ। विशेषगरी भ्रष्टाचार सम्बन्धी प्रतिवेदन भोलिको संसद‍्मा पेश गर्ने छौं।’

उनले शुक्रबार बसेको संसद‍्को बैठकमा रास्वपाले मर्यादा भंग गरेको बताए। उनले यसरी मर्यादा भंग हुँदा नेपालको संसद‍्को काम प्रक्रियाको बारेमा दुखद चित्र बाहिर सार्वजनिक भएको बताए।

‘विशेष गरी अस्तिको पहिलो बैठकमा हाम्रो के प्रचलन छ भने कतिपय कुरा संसद‍्भित्र गर्दैगर्दा कार्यव्यवस्थामा छलफल गर्ने र कार्य व्यवस्थामा छलफल हुन सकिएन भने सम्माननीय सभामुखलाई बैठक पूर्व नै कतिपय विषयवस्तुका बारेमा जानकारी दिने हाम्रो संसदीय अभ्यास र परम्परा हो। तर, पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट एकाएक जसरी उहाँहरूले संसदको बैठकमा उभिएर बैठकको मर्यादा भंग गरेको कुरा र सभामुखले पटक पटक रुलिङ गर्दा पनि त्यसलाई अस्विकार गर्ने, सभामुखको आदेशलाई नमान्ने जुन ढंगबाट प्रस्तुत भएको हामीले देख्यौं त्यसले नेपालको संसदको काम प्रक्रियाको बारेमा दुखद चित्र बाहिर सार्वजनिक भएको छ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *