प्रतिनिधिसभा बैठकमा अध्यादेशलाई निर्णयार्थ पेश गरिने

डिसी नेपाल
२४ माघ २०८१ ७:०१

काठमाडाैं। प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेको अध्यादेहरू निर्णायार्थ प्रस्तुत हुनेछ। बैठक दिउँसो १ः०० बजे बोलाइएको छ।

संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट आज (बिहीबार) सरकारले हालै ल्याएका ६ वटा अध्यादेश स्वीकृत गर्ने कार्यसूची छ। दुवै सभाबाट अध्यादेश स्वीकृत गराएर प्रतिस्थापन विधेयक ल्याउने सरकारको तयारी छ।

तर, राष्ट्रिय सभामा अध्यादेश स्वीकृतका लागि आवश्यक संख्या सत्तारूढ दललाई पुर्‍याउन नदिने विपक्षीको कसरत थप घनिभूत बनेको छ। राष्ट्रिय सभामा रहेका दलहरूले आजको बैठकमा अनिवार्य उपस्थित हुनका लागि सांसदहरूलाई निर्देशन दिएका छन्।

राष्ट्रिय सभाको आजको बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि निर्णयार्थ पेस हुँदै छन्। अध्यादेश स्वीकृत गराउने प्रस्तावअघि अध्यादेश अस्वीकार गरियोस् भन्ने १६ वटा प्रस्तावमाथि छलफल र मतदान हुनेछ।

विपक्षी दलका सांसदहरूले राष्ट्रिय सभामा अध्यादेश अस्वीकार गर्ने १६ प्रस्ताव दर्ता गरेका छन्। त्यसैले सरकारका लागि अध्यादेशको सवालमा राष्ट्रिय सभाको अंकगणित चुनौतीपूर्ण बनेको छ।

संवैधानिक प्रावधानअनुसार संसद् अधिवेशन चालु नभएको बेला आएको अध्यादेश संसद् चलेपछि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट बहुमतले पारित गर्नुपर्छ। सरकारले संघीय संसद्को अधिवेशन अन्त्य भएका बेला ६ वटा अध्यादेश ल्याएको थियो ।

ती अध्यादेश स्वीकृत गराएर संसद्बाट ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर पास गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ११४ मा सरकारले ल्याएको अध्यादेश संघीय संसद्को दुवै सदनले स्वीकार नगरेमा निष्क्रिय हुने व्यवस्था छ । प्रतिनिधि सभामा अध्यादेश अस्वीकार गर्ने ५० वटा प्रस्ताव दर्ता भएका छन्।

आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८१ र ‘आर्थिक कार्यबिधी तथा बित्तीय उत्तरदायित्व (पहिलो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन’ पेश गर्नेछन्।

साथै, राज्य ब्यवस्था तथा सुशासन समितिकाका सभापति रामहरि खतिवडाले ‘भ्रष्टचार निवारण (पहिलो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८१ पेश गर्नेछन्। संसद सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगको बार्षिक प्रतिवेदन, २०७९-८० पेश गर्ने’ कार्यसूचीमा उल्लेख गरिएको छ।

उता, उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले ‘आर्थिक बर्ष २०८१-८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध बार्षिक मुल्याङकन प्रतिवेदन’ पेश गर्नेछन्। साथै, आजको बैठकमा त्यसो त सरकारले हालै जारी गरेका अध्यादेशहरू पनि निर्णयार्थ प्रस्तुत हुने भएको छ।

जसअनुसार “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, “निजीकरण (पहिलो संशोधन) अध्यादेश, “आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, “सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णायार्थ प्रस्तुत गरिने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *