चितवन जिल्ला अदालतमा रविविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने
काठमाडौं– चितवनकाे बहुउद्देश्यीय सहकारी संस्थाकाे रकम ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको थुनछेक बहस आज पनि जारी रहने भएको छ । हिजो जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा लामिछानेको बयानपछि सुरु भएको थुनछेक बहस नसकिएकाले आज पुनः बहस हुने भएको हो ।
बुधबार बहस नसकिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासतमा पठाइएको थियो । प्रहरीले लामिछानेलाई बिहान १० बजे जिल्ला अदालतमा उपस्थित गराएपछि आजको बहस सुरु हुनेछ । बहस सकिए आजै आदेश आउने सम्भावना रहेको छ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनाको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सोमबार रविसहित १५ व्यक्ति र ६ वटा कम्पनीविरुद्ध अदालतमा पूरक अभियोग दायर गरेको थियो ।
Facebook Comment