नियात्राः बाबाधामको धार्मिक यात्रा
![नियात्राः बाबाधामको धार्मिक यात्रा](https://www.dcnepal.com/wp-content/uploads/2025/02/11.jpg)
केही वर्ष अगाडिदेखि भारतको झारखण्ड जिल्लामा रहेको भगवान शिवजी र पार्वतीको संगम स्थलको ठूलो तिर्थाटनको यात्रा गर्ने बिचार थियो जुन शिवजीको बाह्रौं ज्योर्तिलिंग मध्येको एक नवौं तीर्थ स्थलको रुपमा प्रसिद्ध धाम मानिन्छ।
यसलाई अर्को नाममा श्री बाबा बैद्यनाथ ज्योर्तिलंग मन्दिर पनि मानिएको छ। यो प्रसिद्ध मन्दिर आराध्यदेव शिव गंगा बगेको एक पवित्र तीर्थ स्थल पनि मानिन्छ।
भौगोलिक हिसाबले यो भारतको हालै बिहार राज्यबाट अलग्ग भएको यो धाम झारखण्डको देवघर नगरमा रहेको छ। ठाउँको नामसँगै यो नगरका मानिसहरु शिवजीको अत्यन्त श्रद्धावान मानिन्छ।
आ-आफ्नो ब्यबसाय गरी साथै शिवजी भोलेबाबाको निरन्तर पूजा पाठ अर्चना र आराधना गर्ने यो ठाउँको अलग्गै बिशेषता रहेको पाइन्छ। यहाँ प्रसिद्धिको नाममा सालाना हरेक दिन त्यत्तिकै यात्रुहरुको घुइँचो लाग्ने गर्दछ भने शिवजीको बिसेश दिनमा त यहाँ यात्रुहरुको खुटटा राख्ने ठाउँ समेत पाउन निक्कै गाहारो पर्दछ।
यो पवित्र तीर्थ स्थलमा दिनहु हजारौं लाखौं श्राद्धालुहरु भारतका बिभिन्न प्रान्तहरुबाट र नेपालका बिभिन्न जिल्लाबाट सालाना थिरठाटन गरी आफ्नो मनोकामना पूरा गर्ने र भगवान शिव र पार्वती दुबैबाट अमोग बरदान पाउने आशा भरोसा र बिश्वास लिइ यहाँ भ्रमण गर्ने परम्परा रही आएको छ।
साधारण दिनहरुमा नै यहाँ ठूलो मात्रामा भिड हुने भएको छ भने शिवजीको विशेष दिन शिवरात्री र माघ महिना भरी स्वस्थानी ब्रत कथाका दिन र बसन्त पञ्चमीका दिनहरुमा त यहाँ अत्यन्त भिड हुने बताइएको छ र भिड नियन्त्रण भन्दा बाहिर जाने कुरा धेरैको यात्रा र भ्रमणबाट बुझिन्छ जसको महिमा यो लेखमा बर्णन गर्न सकिन्न।
भिडको बाबजुदपनि यो धाममा पुगेर मन्दिर भित्र पुगी दर्शन गर्न पाउँदा फेरि अर्कै आनन्द र शान्तिको बातावरण मनभित्र पूरा हुने सबैको एकै भनाइ रहेको पाइन्छ। भिडको कोलाहल त छनै तर त्यो कोलाहल भित्रको मनको शान्ति भने अलक्कै रहेको पाइन्छ।
यसै सन्दर्भमा कुरै कुरामा यस्तो तीर्थ स्थल धाममा जानको लागि एक हाम्रो अति मिलनसार मान्यवर जो स्कूलको प्राध्यापन जीवनबाट भर्खरै अबकास वा निवृत्त हुनु भएका धार्मिक भावना बोकेका भक्तपुर ठिमी निबासी बिमल पोखरेलले एक्कासि टेलिफोनबाट मलाइ यात्रामा जान निमन्त्रणा गर्नुहुन्छ।
कुरा सुनेर मेरो मनमा जाने जिज्ञासा तुरुन्तै जागेर आयो र मैले तुरुन्त हामी दुवै जना बुढाबूढीले जाने जवाफ दिएँ। सोही अनुसार रेलको टिकट प्रथम चरणमा लिने कामको तय भयो।
टिकट अनुसार १७ माघ बिहान नौ बजेतिर रक्र्सौल रेलवे जक्सनबाट रक्सौलदेखि हावडा, कलकत्ता जाने रेल समाती १२ घन्टाको रेल यात्रा गरी बीच नगरी जेसिडी रेलवे स्टेशन उत्रिने कार्यक्रम रहेको थियो।
सो अनुसार हामी जम्मा १२ जवान दाजुभाइ, ज्वाँइ, भान्जा, मामा र अन्य महिला दिदी बहीनीहरु साथ लिइ हामीले १६ माघको बिहान ८ बजेको वीरगञ्ज जाने रिजर्भ माइक्रो बसमा कोटेश्वरबाट माइक्रोबस चढ्ने काम भयो।
यसरी यात्रा गर्नेमा बिमल पोखरेल, मुन्नी पोखरेल, शिक्षिका निशा भट्ट, इन्जिनियर निर्मलदर्शन अचार्य, श्रीमती गंगा ढुंगेल आचार्य, श्रीमती गायत्री आचार्य, अनिल देबकोटा, श्रीमती सहाना रेग्मी, नीरज भट्ट, श्रीमती सुशीला भट्ट, शंकर रिजाल र श्रीमती बिमला रिजालसहित जम्मा १२ जनाको यात्रु टोलीको समूह वीरजञ्ज तिर लाग्यौं।
माइक्रो बस राम्रो थियो र साथै चालक पनि भक्तपुरका परियार थर भएका शान्त र सुशील स्वभाबका थिए। काठमाडौंदेखि वीरगञ्जसम्मको भाडा जनही नौ सय थियो। हामी दिउँसो एक बजे वीरगञ्ज पुग्यौं र एउटा होटेलमा बस्यौं। केही क्षणको विश्रामपछि वीरगञ्जमा घुमघाम गर्यौं।
भोलिपल्ट बिहान १० बजेको रक्र्सौलबाट हाबडा, कलकात्ता जाने मिथिला एक्सप्रेस ट्रेनको खोजीमा वीरगञ्जबाट रक्र्सौल पुग्यौं र ट्रेनको समय तालिकानुसार ट्रेनको प्रतिक्षामा रहने काम भयो। समयको केही हेरफेरमा हामी रक्र्सौलबाट करीब १०.१५ मा अगाडि बढ्यौं।
मुजफ्परपुर हुँदै समस्तीपुर, किउल जन्क्सन हुँदै राति १२ बजे जेसिडी रेलवे जक्सन पुग्यौं। मध्ये राति भएका कारण होटेलतर्फ नलागी स्टेसनमा रहेको रेस्ट गर्ने कोठामा चार घण्टासम्म आराम गरी बस्यौं।
त्यो चार घन्टाको बीचमा हामी सबैले ठट्टा र खुसियाली बाँड्दै एकले अर्कालाई अझ धेरै नजिकबाट चिन्ने र जान्ने मौका पायौं। महिलालाई स्टेसन बाहिर लगरे बिहानको चिया पिलाउने काम पनि भयो र स्टेसन वरिपरिका केही ठाउँको फोटो खिच्ने कामपनि भयो। त्यत्तिकैमा बिहानको ५ बजेपछि हामी सबै झोली तुम्बा बोकी टेम्पो रिजर्भ गरी देवघर बाबा धामतर्फ अगाडि बढ्यौं।
आधा घन्टामा धामको नजिक पुग्यौं र सबैभन्दा पहिले झोला बिसाउने र हातमुख धोइ बाबा भोलेनाथको दर्शनार्थ हामी सबै बडो फुर्तीका साथ मन्दिर तर्फ पूजागर्ने सामान लिएर गयौं।
हाम्रा केही दाजु भाइले पहेँलो कुर्ता सुरुवाल लगाएका थिए भने सबै दिदी बहिनीहरुले पहेंलो रंगको साडी चोलो लगाई एक दम चिरीचट्ट परी गएका थिए। भब्य मन्दिरको सामु आइपुग्दा सबै आनन्दले भाव बिभोर भएका देखिन्थे।
मन्दिर भित्र बाबाको दर्शन गर्नको लागि लाइनको ठूलो लागेको थियो। बिस्तारै सबै लाइनमा उभिएर अगाडि बढ्यौं। लाइन बसेका भारतीयहरुले ‘बोलबम बोलबम’ पुकार्दै चर्को स्वरमा बाबालाई पुकार्दै आशिस मागिरहेका थिए।
सबैका हातमा बाबालाई जल वृष्टि गराउन जल पात्रमा पानी भरी लिएर आएका देखिन्थे। लाइन बढ्दै गर्दा एक ठाउँ यस्तो आयो जहाँ एकै हल जस्तोमा बार मार्ग अनुसार सयौं पटक फन्का मारी ठूलो फुर्तीका साथ मन्दिर भित्र प्रवेस गरी बाबाको दर्शन सबैले पाएरै छोडे।
निधारमा ठूलो पहेँलो टिका तिलक प्रसाद लगाई बल्ल बल्ल मन्दिर भित्रै सबैजना एकै ठाउँमा भेला भै साथमा रहेको पार्वती माताको पनि भब्य दर्शन गरी सबै मन्दिर बाहिर आयौं। फर्केर चिया नास्ता गरी फेरि धामदेखि ३५ किलोमिटर पर रहेको बाशुकीनाथ मन्दिरको दर्शनको लागि करीब एक डेढ घण्टा भित्र बासुकी नाथ मन्दिर पुग्यौं।
बासुकीनाथ मन्दिर अगाडि ठुलो बिशाल स्नान पोखरी रहेछ। तर पानी अली दुषित भएकाले डुबुल्की मार्न भने कसैको पनि मनले दिएन। जे होस् हाम्रो मन पवित्र थियो। त्यही पबित्र मनभित्र रहेको गंगाको स्नान अन्तस्तकरणबाट गरी बासुकीनाथ मन्दिर तिर अगाडि बढ्ने काम भयो। करीब पन्ध्र मिनेटको समयमा मन्दिर भित्र प्रवेश गर्याैं।
भिडको त कुरै नगरौं। तैपनि मन्दिरको गर्भगृह भित्र पसी सबैले दर्शन गर्न सफल भए। म चाहिँ भिडमा त्यत्ति छिचोल्न नसक्ने भएकाले अली परबाट बासुकी भगवानको दर्शन गरेँ। सबैले दर्शन गरी हामी फेरी टेम्पो चढी हनुमान मन्दिर तिर लाग्यौं।
धेरै सिंढीहरु चढी जानुपर्ने भएकाले बिचमै गइ आनन्द लिइ फर्केर आयौं। बाँदरको ठूलो जगजगी भएकाले बिस्तारै झोला लुकाई ल्याउनु पर्ने रहेछ। भोलिपल्ट बेलुकाको पुनः ट्रेन चढ्नु परेकोले एक कोठामात्र लिइ समान सबै एकै ठाउँमा थन्क्याई दिउँसो घुमफिर गर्ने काम भयो।
घर फर्किँदा बाबाधामको प्रसिद्ध पेडा सबैले खरिद गरी बेलुका फेरि खाना खाइ होटेलको सबै महसुल चुक्ता गरी हामी बेलुकाको ट्रेन चढ्न जेसिडी रेलवे जक्सन पुग्यौं र बेलुका ८ बजे रेल चढी पुनः रक्र्सौल तिर लाग्यौं।
बिहान करिव सात बजे रक्र्सौल उत्रिइ सबैजना वीरगञ्ज आयौं। हामीले वीरगञ्जको पान पनि खायौं। बजारमा केही किनमेल गरेर बेलुका ८ बजेको काठमाडौं जाने नाइट बसका चढ्यौं।
सबैजना आआफ्नो घर फर्किने हुँदा सबै खुसी थिए र कहिले आफ्ना परिवारको नजिक रही भ्रमणको सारा वृतान्त सुनाउने तरखरमा थिए। नाइट बस भएकाले दृश्याबलोकन केही हुन सकेन।
बस २१ माघ २०८१ को बिहान ५बजे काठमाडौं आइपुग्यो र हामी सबै जना बाबा धाम गएका समन्त आफन्तजनहरु आआफ्नो अनुकुल अनुसार ठाउँमा ओर्लिइ सबैजना आआफ्नो घरतर्फ लाग्यौं।
Facebook Comment