२० लाख अमेरिकी सरकारी कर्मचारीलाई जागिर छाड्न पत्र, राजीनामा दिने आज अन्तिम दिन

डिसी नेपाल
२४ माघ २०८१ १०:५९

काठमाडौं। अमेरिकामा डोनाल्ड ट्रम्पको प्रशासनमा सरकारी दक्षता विभागको नेतृत्व गरिरहेका अर्बपति एलन मस्कले २० लाख अमेरिकी सरकारी कर्मचारीहरुलाई जागिर छाड्न दबाब दिएको खुलासा भएको छ । अमेरिकी संचारमाध्यमका अनुसार मस्कले ती सरकारी कर्मचारीलाई हप्तामा ५ दिन कार्यालयमा उपस्थित भएर काम गर्ने वा जागिर छोड्नेमध्ये एक विकल्प छान्न निर्देशन दिएका छन् ।

अमेरिकी मिडिया फर्च्युनका अनुसार मस्कले अमेरिकी सरकारी कर्मचारीलाई अहिले पठाएको पत्रको शैली उनले २०२२ मा तत्कालीन ट्वीटर (अहिले एक्स)का कर्मचारीलाई पठाएको पत्रको जस्तै छ । मस्कले ट्वीटर किनेपछि त्यहाँका कर्मचारीलाई पनि यसैगरी जागिर छाड्न दबाब दिएका थिए । मस्कले अहिले पठाएको पत्र र पहिले ट्वीटरका कर्मचारीलाई पठाएको पत्रको विषयमा लेखिएको वाक्यांक हुबहु एउटै छ । जसमा लेखिएको छ – ‘अ फोर्क इन द रोड ।’

अमेरिकी मिडियाका अनुसार मस्कले पठाएको पत्रमा जागिर छाड्ने कर्मचारीले आगामी सेप्टेम्बरसम्मको पारिश्रमिक अहिल्यै पाउने उल्लेख गरिएको छ । कर्मचारीहरुलाई जागिर छाड्नको लागि अन्तिम दिन फेब्रुअरी ६ तोकिएको छ । फेब्रुअरी ६ आजै हो र अमेरिकामा दिनको सुरुवात नेपाली समयअनुसार आज राती हुन्छ । आजसम्म जागिर नछाड्ने कर्मचारीले अनिवार्य ५ दिन कार्यालयमा उपस्थित भएर काम गर्नुपर्नेछ र कुनै कारणवश जागिर छाड्नुपर्ने वा बर्खास्त गरिने अवस्था आएमा कुनै सुविधा पाउने छैनन् ।

न्यूयोर्क पोस्टकी जोनाथन स्वानका अनुसार एलन मस्कले सरकारी कर्मचारीहरुलाई दबाब दिन आफ्ना मान्छेहरुलाई नियुक्त गरेका छन् । यी युवाहरुले एलन मस्कसँग पहिले टेस्ला र स्पेसएक्समा काम गरेका थिए र अहिले उनीहरुलाई सरकारी दक्षता विभागमा नियुक्त गरिएको छ । मस्कले उनीहरुलाई सरकारका संवेदनशील निकायहरुमा तैनाथ गरेका छन् । जोनाथन स्वानले यी व्यक्तिहरुलाई ‘मस्कका भक्तहरुको सेना’ भनेकी छिन् ।

यी व्यक्तिहरुले कुनै पनि सरकारी कार्यालयमा छिरेर त्यहाँका कर्मचारीहरुलाई अनावश्यक सोधपुछ गर्ने उनीहरुले गरेका कामको विवरणहरु माग्ने र काम प्रभावकारी नभएको भन्दै अत्यन्तै छिटो र कठिन काम गर्न दबाब दिने गरेका छन् । यी व्यक्तिहरुले सरकारको ट्रेजरी विभागमा पनि घुसपैठ गरेका थिए ।

एक बरिष्ठ अधिकारीले उनीहरुलाई सरकारको संवेदनशील प्रणालीमा पहुँच गर्नबाट रोक्न खोज्दा उनलाई प्रशासनिक विदाको धम्की दिइयो । यस्तो धम्कीका कारण मनोबल उच्च राख्न नसकेपछि ती अधिकारीले छिटै अवकाश लिने विकल्प रोजे । सरकारको ट्रेजरी विभागले सामाजिक सुरक्षा, औषधि उपचार, संघीय कर्मचारीको तलब लगायतका लागि हरेक वर्ष ६ ट्रिलियन डलर परिचालन गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *