अध्यादेशका पक्षमा उभिन आफ्ना सांसदलाई कांग्रेसको ‘ह्विप म्यासेज’

डिसी नेपाल
२४ माघ २०८१ १२:५७

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदलाई अध्यादेशका पक्षमा उभिन ह्विप म्यासेज पठाएको छ।

सदनमा प्रस्तुत हुने ६ वटा अध्यादेशको पक्षमा उभिन आज बसेको संसदीय दलको बैठकले ह्विप लगाउने निर्णय गरेसँगै दलका प्रमुख सचेतक श्याम घिमिरेले सबै सांसदलाई ह्विप लगाएको जानकारीसहितको म्यासेज पठाएका हुन्।

‘आज २४ गते १ बजे बस्ने संसद्‌को बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुनेहुँदा बैठकको अन्तिम समयसम्म उपस्थित रहन यो ह्विप जारी गरिन्छ,’ घिमिरेले पठाएको म्यासेजमा उल्लेख छ। राष्ट्रियसभाका सदस्यलाई पनि पक्षमा उभिन कांग्रेसले सोही ह्विप म्यासेज पठाएको छ।

संसद्‌मा अध्यादेशको विपक्षमा ५१ वटा सूचना दर्ता भएका छन्। यी सूचना सामूहिक रूपमा विपक्षमा रहेका दलका तर्फबाट एक जनाले अस्वीकृतिको प्रस्ताव पेस गर्नेछन्।

सरकारले ल्याएको अध्यादेश संसद्को दुवै सदनबाट स्वीकृत हुनुपर्छ। अध्यादेश स्वीकृत भए संसद् सुरु भएको ६० दिनसम्म जीवित रहन्छ। तर, अस्वीकृत भयो भने तत्कालै अध्यादेश निष्क्रिय हुनेछ।

माघ १८ बाट हिउँदे अधिवेशन सुरु भएको थियो। त्यसमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरेका थिए।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरेका थिए। सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुव्वा गुरुङले सुशासन प्रवर्धन सम्बन्धी अध्यादेश पेस गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *