कथा : बाबा, म बाँच्न चाहन्छु
![कथा : बाबा, म बाँच्न चाहन्छु](https://www.dcnepal.com/wp-content/uploads/2025/02/8-1.jpg)
आज कान्छी छोरीको जन्मदिन। तीन पुगेर चार सुरु हुँदैछ। बिहानै उठेर आफ्नो फेसबुकको वालमा उसको स्माइली फोटो अपलोड गर्दै लेखे -‘ह्याप्पी बर्थडे माइ लिटिल परी।’
जब जब उसको जन्मदिन विश् गर्छु, तब तब केही पुराना नमिठा पलहरु नचाहेरै सम्झिन पुग्छु। नसम्झिउँ भन्छु, सम्झिहाल्छु। आज पनि सम्झिएँ फेरि। मन अमिलो बनाएर अफिस लागेँ।
त्यो बखत लोकसेवाको तयारी गरिरहेकै थिँए, स्नातकोत्तर पनि सिध्याएँ। र अधिकृतमा नाम निकालेँ पहिलो प्रयासमै। छोरो जवान भैसकेपछि आमावुवाले सोध्ने प्रश्न सबैको एउटै हो।
घरमा बुवाआमाको पहिले देखिकै दवाब झेल्न सक्ने तागत थिएन। इस्टमित्र र आफन्तजनमा पनि कुरो पुग्यो। नभन्दै जागिर सुरु गरेको केही दिनमै तमाम प्रस्तावहरु आउन सुरु गरे। सबैका आआफ्नै रोजाइ हुन्थे। पढ्ने बखत कलेजमा प्रेम नपरेको पनि होइन, तर के कति कारणले हो टिक्न सकेन। वा भनौँ बिबाह सम्म पर्खिन सकिएन।
एकदिन मामाले एउटा कन्याको प्रस्ताव लिएर आउनुभयो। स्नातक पढ्दै रहिछन। डडेल्धुरा बजारमै घर। बोलीभाषा, संस्कार संस्कृति मिल्ने भनेर बुवाआमाले मामाको प्रस्ताव अस्वीकार गर्ने कुरै भएन। मलाई पनि ठिकै लाग्यो। चिठा मगाइयो। जुडमिल भयो। बिहेको टुङ्गो लाग्यो।
बुवाआमा गाउँकै घरमा बस्नुहुन्थ्यो। बुवा शिक्षण पेशाबाट सेवा निबृत भैसक्नुभएको थियो त्यो बेलासम्म। त्यसकारण बिहे खर्च जुटाउन मैले धेरै सोच्नुपरेको थिएन। बुवाको सञ्चयकोषको रकम मेरै बिहेको लागि सन्चित गरेर राखिएको थियो।
जुडमिल भएपछि दुबै परिवारको कुराकानी अघि बढ्यो। हामी बाहुनको चलन नै यस्तै। मान्छे मन परेर मात्र नहुने, जुडमिल हुनैपर्ने। बाटो खुल्यो बिहेको। फेसबुकमा नाम सर्च गरे – निरु! निरु पाण्डेय। प्रोफाइल लक गरेकी रैछन।
कभर फोटोमा उग्रताराको मन्दिर राखिएको थियो। धेरै फोटा हेर्नै पाइँन। कौतुहलताले कुत्कुत्याइरह्यो। जुडमिल त भो, मान्छे मन पर्ने हो कि होइन? डर र लाज दुबै मिँसिदै गयो। प्रोफाइल पिक्चर ब्ल्याक एन्ड ह्वाइट थियो।प्रोफाइल पिक्चर हेरेर मात्रै अनुमान लगाउन सकिएन।
भर्खर नयाँ मोबाइल किनेको थिएँ- ग्यालेक्सी स्यामसुङ ए फिप्टिन। अफिसमा वाइफाइ छँदै थियो। रिक्वेस्ट पठाएँ। एक घन्टापछी एसेप्ट भो। कहाँ बाट सुरु गरौँ? कुनै मेसो पाउन सकिन।
‘हाइ !’ सबैले प्रयोग गर्ने सजिलो सर्वब्यापी शब्दबाट औपचारिक वार्तालापको श्रीगणेश गरेँ।
‘हेलो’ ! उताबाट पनि उहि कमन रिप्लाई। केही सहज भयो।
‘चिन्नु भो?’ यसरी नै वार्तालाप अघि बढाउँछन जस्तो लागेर यही प्रश्न गरे।
‘नाँइ!’ छोटो तर मीठो लाग्ने जवाफ आयो उताबाट।
‘ …. ’ कुनै शब्द फुरेन अब। लाज पो लागेर आयो।
निरुसित च्याटमा कुराकानी हुँदै गयो। साथी भैसकेपछि फोटाहरु एक एक गरेर हेरेँ। सुन्दर। सारै सुन्दर। मैले खोजेकै जस्ती। गोलो अनुहार, कैला आँखा। पिपलपाते ओठ, हाँस्दा बायाँ गालामा सानो डिम्पल पर्ने। दायाँ आँखाको अलि तल सानो कोठी। लामो केशराशी, मध्यम उचाइ। शारीरिक बनावट आकर्षक लाग्यो।
बिस्तारै कुराहरु अघि बढ्दै गए। परिवारका कुरा भए, पढाइका कुरा भए। करियरका कुरा भए, जीवन जगतका कुरा भए। मन मिल्यो, मुटु नि मिल्यो। बिचार मिल्यो, आचरण मिल्यो। र मिल्यो लगनगाँठो कस्ने तिथिमिति पनि- मंसिर १२ गते।
मैले लोकसेवा तयारी गर्दाखेरीका पुस्तकहरु जतन गरेर राखेको थिएँ। निरुलाई सहयोगी बने। म पनि सहयोग गर्थे। घरमा कामको खासै चटारो थिएन। बुवाआमा दुबै जना गरिहाल्नुहुन्थ्यो। बुहारीलाई पढेर जागिर खानुपर्छ भनेर भन्नुहुन्थ्यो बुवा।
बुवाको हौसला, निरुको मिहिनेत, मेरो साथ र सहयोगले पहिलो प्रयासमै स्थानीय निकायको चौथो तहमा नाम निकाल्न सफल भइन्। खुशीको कुनै सीमा थिएन। दुबै जनाको परिवारमा खुशीयाली छाएको थियो। पोस्टिङ पनि गोदावरी नगरपालिकामै भयो। घरबाट केही समयको दूरीमा थियो वडा कार्यालय।
फेरि अर्खो खुशी थपियो परिवारमा। निरु आमा बन्दै थिइन्, म बुवा। पहिलेको भन्दा बढी हेरचाह गर्थे उनको। नयाँ सदस्यको आगवन हुँदै थियो निकट भविष्यमा।
र त्यो दिन आयो। म बुवा बनेँ, निरु आमा। घरमा साक्षात् लक्ष्मीको रुपमा छोरी जन्मिएकी थिइन्। खुसीको सिमै थिएन। लाग्थ्यो भगवानले फटाफट हाम्रो पोल्टामा खुसी नै खुसी खन्याएर जाँदैछ। एकपछि अर्खो खुसी थपिरहेका थिए।
निरु र मेरो झगडा हुन्थ्यो छोरीको शारीरिक बनावट सम्बन्धमा। म आफू जस्तै छ भन्थे, निरु आफू जस्तै। नढाँटी भनौँ भने, ओठ र आँखा मेरा जस्तै थिए। गाला र निधार निरुको जस्तै। आफैं न्यायाधीश बनेर एकदिन झगडाको छिनोफानो गरेका थियौँ हामीले।
समय बित्न के नै पो बेर लाग्दो रहेछ र! त्यो पनि खुसीयालिका। हामी दुई जना जागिरे। दिउँसोको समय हाम्रो अफिस हुन्थ्यो। छोरीको स्याहारसम्भार गर्ने जिम्मा आमाको हुन्थ्यो। उसैपनि साउँ भन्दा ब्याज प्यारो भन्छन्।
बुवाआमाखी लडेली नातिनी भएकी थिइ छोरी -अर्चना। प्रारम्भिक दिनहरु आमाबुवाकै छत्रछाँया र लाडप्यारमा बिते छोरीका। खुवाउने चुठाउने जिम्मा उहाँहरुकै हुन्थ्यो। अझ भन्नुपर्दा हामीले त जन्माइ मात्र दिएका थियौँ भन्दा हुन्थ्यो।
बुवाआमाको हौसला र प्रेरणा, निरुको लगनशीलता र मिहिनेतले फेरि एकपटक जित्यो। संघीय नायब सुब्बामा नाम निस्कियो। दरबन्दी बाजुरा मालपोत कार्यालयमा पर्यो। जानैपर्याे।
छोरीलार्ई तीन बर्स पुगिसकेको थियो। उसैपनि छोरी बुवाआमाकै बढी मान्थी। निरु नहुँदा पनि खासै सताइन उसले। म पनि घरमै थिएँ। दिउँसो स्कुल जाने भैसकेकी थिइ। ज्ञानी थिइ। पढाईमा अब्बल पनि।
स्कुलमा पढेको कुरो सब याद हुन्थ्यो उसलाई। साँझ सुत्ने बखत सुनाउँथी दुरुस्तै। अरु बखत मेरो खासै मतलब नगरे पनि सुत्ने बखत मेरै अँगालो प्यारो लाग्थ्यो उसलाई। मेरै हत्केलाको सिरानो न्यानो लाग्थ्यो।
छोरी दिनप्रतिदिन ठूली हुँदै गैरहेकी थिइ। चार बर्ष पूरा भएर पाँचौ सुरु भैसकेको कुरो माघ ७ गते उनको जन्मदिन मनाउँदै गर्दा थाहा भयो। आफ्ना सन्तान सधैँ सानै लाग्ने। उमेर बढेको ख्यालै नहुने रैछ।
छोरीको जति धेरै जन्मदिन मनाउँदै जान्थ्यौ, त्यति धेरै केही कुराहरु सुन्दै जान्थ्यौँ। टोलछिमेक, आफन्त, इष्टमित्र सबैको केही न केही आशय बुझ्थ्यौँ। प्रत्यक्ष रुपमा हाम्रै अघाडी केही नभने पनि सांकेतिक रुपमा ब्यक्त आशय बुझ्थ्यौँ।
‘छोरी ठूली भैसकि। अब यसैको मात्र जन्मदिन मनाउने हो कि अर्को पनि सोच्नुपर्यो।’ यही वाक्य काफी हुन्थ्यो हामीलाई। अर्थात् सबैको आशय अर्को सन्तान जन्मिदिए हुन्थ्यो भन्ने थियो। घरमा बुवाआमाले पनि बेलाबखत सुनाइराख्नुहुन्थ्यो। ‘फलानाको छोरो भयो, फलानाकी छोरी।’
बुवा फेसबुकबाट दैनिक घटनाहरु आमालाई अपडेट गर्नुहुन्थ्यो। बुवा हामिलाई भन्न चाहिँ केही सक्नुहुन्थेन। तर आमा मार्फत् उहाँका अब्यक्त इच्छा र चाहनाहरु हामी बुझ्थ्यौँ।
घरमा इष्टमित्र, छिमेकी आएका बखत गन्थनमन्थन हुन्थे। बेलामौका म पनि सुनिरहेको हुन्थे।
‘हैन, बज्यै अब नातीको मुख हेर्ने होइन।’ छिमेकी भाउजू भन्दै थिइन् एकदिन।
‘अब त नानी पनि ठूली भैसकिन क्यारे, यसो सोच्नुपर्यो भन्नू दाइलाई।’ एकजना बहिनी आमालाई उस्काउँदै थिइन।
‘पिण्ड हाल्ले नाति त चाइयो के जिउ, नातीनी लै ज्वान भैगै अब। केइनथिन् चालचुल?” पल्लाघरकी काकी आएर गन्थन गर्दैथिइन्।
मान्छेहरु अनेक कुरा गर्थे। अनेक शंकाा उपशंकाा गर्थे। हाम्रो निजी जिन्दगी माथि हस्तक्षप गर्न खोजेको भान हुन्थ्यो।
यसरी समयक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपले दोस्रो सन्तानको लागि हामिलाई दबाद आउँदै थियो। तर हाम्रो अनुकुल मिलिरहेको थिएन। निरुको जागिर बाजुरा, मेरो धनगढी।
दशैँ आयो। टीका थाप्न आफन्तको घरमा गयौँ। टिकाजमरा लगाउन्जेल ठिकै हुन्थ्यो, आशीर्वाद थाप्दा मन अमिलो पार्दिन्थे। कुरो उही आउँथ्यो – ‘अर्खोपटक चार आउने हो।’
छोरीले पाउने आशीर्वाद फरक हुन्थे -‘पिठी भाइ होइजाउ।’
निरु दिक्काउन थालिन्।
बिदा सिध्यियो। निरु बाजुरा फर्किइन्। फेरि तिहार आयो। निरुलार्ई सन्चो भएन योपटक। मेडिकल गइन्। चेकजाँच गराउँदा रिजल्ट पोजेटिभ आयो। अर्थात निरु गर्भवती भइन्। जेठी छोरी सात बर्सकी भैसकेकी थि। जन्मदिन आउन केही दिन बाँकी थिए।
यो पटक निरुलाई अलि बढी नै समस्या देखिन थाले। मुखमा केही हाल्नै नहुने, बान्ता आइहाल्ने। बाजुरा जान गाह्रो हुनथाल्यो। अफिसमा कुरो गरें। यताउता भनसुन गरेँ। बल्लतल्ल काज मिल्यो। धनगढीमै अफिस भयो। दिनहरु पुरानै तरिकाले चल्न थाले।
मैले आमालाई खुशी बाँडे। आमाले बुवालाई। खुशी बाँडिदै गयो। समाचार फैलिँदँ गयो टोल छिमेक हुँदै इस्टमित्रसम्म। केहीदिन सबैको मुखमा बुजो लागेजस्तो भयो। दिन्दिनै हाम्रो घर आएर आमाको रजिस्टरमा हाजिर लाउने काकी पनि केही दिन अलप भइन्।
‘कति महिना भो निरु ? चेक गरायौ कि नै? एकपटक चेक गराइहाले हुने।’ माइलो दिदिले फोन गरेर लिंग परीक्षण गराएर एकिन हुन संकेत गरिन।
घरमा कुराहरु भएको सुनिन्थ्यो। छोराकै कुरा हुन्थे। मानौँ छोरो जन्मेन भने सारा ब्रह्माण्ड नै खस्नेछ। हाम्रो जीवन नै अन्धकारमय हुनेछ। हाम्रो स्वर्गको बाटो रोकिनेछ। हामी संसारकै सबैभन्दा अभाग्गी ठहरिनेछौँ।
मैले त्यो कुरोलाई प्राथमिकतामा राखिन। छोराछोरी दुबै हाम्रा सन्तान हुन्। जे भए पनि ठिक छ भन्ने मान्यता पहिले बाटै थियो।
अफिसमा स्टाफहरु विभिन्न तवरले घोचपेच गरिरहन्थे। मेरो जेठी छोरी सात बर्ष पुगिसकेकी थि। सबैजना जिस्क्याउँथे। व्यंग्य प्रहार गर्थे।
‘के हो सर यत्रो पर्खाइ ? छोराकै लागि त होला नि, होइन?’ एकदिन नास्ता खाइरहँदा पन्त सरले ब्यंग्य मिश्रित प्रश्न गरेका थिए। हाँसेरै टारेको थिएँ त्यो दिन।
‘छोरा जन्माउने विधि म सित छ सर। अस्ति मल्ल सरको ठ्याक्कै मिल्यो। तर एकदिन झरफर चाहिँ गराउनुपर्छ। फ्रीमा आइडिया दिने बानी छैन मेरो।’ अर्को दिन सिंह सरले चिया खाइरहेको बखत फेरि घोचे।
‘चाइनिज क्यालेन्डर छ सर। ठ्याक्कै मिल्छ। म भोलि ल्याइदिउँला हजुरलाई।’ बिस्ट सर पनि के कम हुन्थे र? अस्ति मात्रै छोरो जन्मेको थियो उहाँको।
चार दिनदेखि रमा म्याडम अनुपस्थित हुनुहुन्थ्यो। पाँचौ दिन निराश भएर आइरहनु भएको देखेँ। अनुहारमा कुनै चमक थिएन। धेरैदिनबाट बिरामी जस्ती। पुस्पा मेडमले रमा म्याडमलाई इंगित गर्दै भन्नुभयो, ‘बिचरा मेडम, योपाली नि छोरी नै रहेछ। फेरि फाल्नु भएछ।’
मन खिन्न भयो। धेरै अनुत्तरित प्रश्नहरु मनमा खेलिरहे त्यो दिन।
डाक्टरकहाँ फलोअफ गर्ने दिन थियो। तीन महिना पछि बोलाइएको थियो। त्यसकारण हाफ छुट्टी लिएर घर आएँ। निरु पनि म भन्दा अगाडि घर पुगिसकेकी थिइन्। तयार भएर निस्कियौँ। भिड थियो। नाम बिहानै टिपाएकोले दश नम्मरमा पालो आयो। भित्र पस्यौँ। डाक्टरले प्रश्नहरु सोध्नुभयो। हामी दुबै मिलेर जवाफ दियौँ।
अघिल्लो पटकको पर्चा हेर्दै डाक्टरले सोध्नुभयो, ‘यो दोस्रो बच्चा हो नि ?’
‘हो, डाक्टर साप।’
‘छोरी कि छोरा ?’
मलाई रिस उठेर आयो। सम्हालिएर जवाफ दिए।
‘छोरी’
डाक्टरले किन यो प्रश्न गरे, मैले ठ्म्याउन सकिन त्यो बखत। किन छोरा र छोरी भनेरै प्रश्न गरे? किन लिंग छुट्याएरै सवाल गरे? पहिलो सवालमै जवाफ थियो त। किन दोस्रो सवाल गरे डाक्टरले ? मनमनै रिस उठेर आयो।
निरुलाई भिडियो एक्सरेको लागि भनियो। सिस्टरले सहयोग गरिन्। डाक्टर कुर्सी फर्काएर निरुतिर मोडिए। औजार चलाए। एकछिन गम खाए। हामीतिर बारम्बार हेर्न थाले। मैले बुझिन। प्रश्न गरे-‘केही अप्ठेरो त छैन डाक्टर साप?’
‘सब ठिक छ। … ’
‘अनि ? ’
‘छोरी छ नि घरमा ?’
निरु मलाई हेरिरहेकी थिइन्। अनुहार मलिन थियो उनको।
टाउको हल्लाएरै जवाफ दिए यसपटक।
‘के छ बिचार ?’
‘कस्तो बिचार डाक्टर साप ?’
‘जाँच गरौँ कि भन्या ?’
खै, म कसरी हारेँ यहाँनिर। सहमति जनाएँछु।
डाक्टरले समय लगाए अलि बढी। पुरानै पोजिसनमा फर्किएर कुर्सी घुमाए। आँखाबाट पावरवाला चश्मा निकालेर टेबुलमा राखे र म तिर आँखा घुमाएर लामो सास ताने।
‘के भो डाक्टर साप?’ डाक्टरले केही भन्नुभन्दा पहिल्यै मुखबाट फुत्किहाल्यो यो प्रश्न।
‘छोरी छ।’
कन्ट्रोल गर्दा गर्दै पनि मन अमिलो भएर आयो। पूरा ब्रह्माण्ड घुमेर आयो। तर किन? किन यस्तो भयो मलाई? छोरीले के गरि तेस्तो? आफैंले आफैंलाई प्रश्न गर्न नपाउँदै डाक्टरले पुनः प्रश्न तेर्स्याउनु भयो-‘के सोच बनाउनु भा छ? सफा गर्ने हो कि?’
केही सोच्नै सकिन मैले। निरु निराश थिइन्। मैले उनलाई हेरेँ, तर उनले मलाई हेर्न सकिनन् सायद।
भित्र बस्न सकिनन्। ह्यान्ड ब्याग समातेर बाहिर निस्किहालिन्।
‘सल्लाह गर्नुहोला। सफा गर्ने प्लान गर्नुभयो भने पर्सि शुक्रबार मिल्छ। बाहिर काउन्टरमा गएर सबै प्रक्रिया बुझ्न सक्नुहुन्छ।’
‘हस् डाक्टर साप।’ यत्ति भन्न सकेँ। बाहिर निस्किएँ। निरु सडकमा आएर बाइकमा अडेस लगाएर बसिरहेकि थिइन्।
केही बोलेनौँ दुबै जना। तर किन? उत्तर न त मसँग थियो, न त निरुसँग नै त्यो बखत। मौनता शिवाय अरु केही थिएन त्यहाँ। बाइक स्टाट गरेर घर आइहाल्यौँ।
खै किन हो कुन्नि, त्यो दिन मन उदास उदास भैरह्यो। बेलुकी खाना खाएर बेडमा आयौँ। छोरी गृहकार्य गरिरहेकी थि। केही छिन कोही कसैसँग पनि बोलेनौँ। छोरीले नै जिस्क्याइ-‘आज बाबा मामुको झगडा भा छ कि क्यायो? कोही बोलिसिन्न्न त?’
मैले हाँसेरै जवाफ दिए-‘छैन छोरी।’
सबै जना सुत्यॉै।
‘नाँइ बाबा, नाँइ। मलार्ई नमार्नुहोस्। म बाँच्न चाहान्छु।’
झस्याङ भएँ। कस्तो नमिठो सपना देखेछु। उठेर लाईट अन गरेँ। खल्खली पसिना आइरहेको थियो। निरुलार्ई नियाँले, मस्त निद्रामै थिइन्। जेठी छोरीलाई हेरेँ, उनी पनि कोल्टो फर्केर मस्त निद्रामै थिइन्।
ओहो ! कस्तो डरलाग्दो सपना देखेछु। निरुको पेटभित्र हुर्कँदै गरेकी चौध हप्ताकी छोरीको कारुणिक हारगुहार थियो यो।
मन कुँडिएर आयो। टाउकोमा एक टनको घनले बजारे जस्तो लाग्यो। यो कस्तो सपना देखेछु मैले? किन हामीबाट यस्तो पाप हुँदैरैछ? किन हामी यति सारो अन्धो भैरहेका रहेछौँ? सोच्नै सकिन। सपनालाई सम्झिने प्रयास गरेँ। फेकटुप्पो केही बुझिन। तर जुन दृश्य सपनामा देखियो, त्यसले लज्जित बनायो स्वयंलार्ई।
अघिल्लो दिन मेडिकलबाट फर्किसकेपछि निरु र म फेरि आआफ्नै रुटिनमा निस्किन्छौँ। डाक्टरले अन्तिम पटक बोलेको वाक्यलाई बिर्सिदैँ आफ्नै नित्यकर्ममा फर्किन्छौँ। समय बित्दै जान्छ। एकातिर फेरि काखमा छोरी आउने कुराले खुशी थियौँ त अर्कोतिर घरमा र छरछिमेक तथा कार्यालयमा सुनिने लैंगिक बिभेदलाई प्रश्रय दिने खालका कुराहरुले निराश र दिक्क बनाउँथ्यो।
‘रिता म्याडमले यो पटक गरि चारचोटी गर्भपतन गराइ सक्नु भएको छ। अब डाक्टरले उहाँलार्ई बच्चा नजन्माउन सुझाव दिनुभएकोछ।’ तारा म्याडम कृष्णा म्याडमको क्याबिनमा आएर गफिनुहुँदै थियो।
एकदिन कार्यालय सहयोगी नरेश दाइले लड्डु बाँड्दै हुनुहुन्थ्यो अफिसमा। बुझ्दै जाँदा छोरी भएको खुशीयालीमा रहेछ। तर लड्डु खाँदै कुरा काट्ने स्टाफहरु देखेर ताजुब लागेर आयो।
‘दुई दुई छोरी छँदैछन्, फेरि पनि छोरी नै जन्माएछ नरेशले।’ लड्डु बेरेको प्लास्टिक डस्टबिनमा फाल्दै निर्मला म्याडमले प्याच्च भनिहाल्नुभयो।
‘त्यही त, चेक गरेको भए हुने। धनगढीमै कति मेडिकल छन् अहिले। तीन तीन छोरीले के पो गर्ने हो बिचरा नरेश?’ केश पाकिसकेकी दर्ता फाँटकी यसोदा म्याडमले साथ दिनुभयो निर्मला म्याडमलाई।
‘अहिलेको जमानामा पनि यस्तो विभेद गर्ने हो म्याडम? छोरीलाई कतिसम्म हेप्नुभाको हजुरहरुले। मलाई त तपाईंहरुको कुरो चित्त बुझेन।’ भर्खरै नियुक्ती लिएर आउनुभएकी सावित्री मिसले त सहनै सक्नुभएन उहाँहरुको कुरा।
‘सत्य कुरो नमिठै हुन्छ मिस। हामीले सब भोगेर आइसकेका छौँ। यो समाज र यहाँका मान्छेहरुको सोच कस्तो छ, सब अनुभव गरेर आइसकेका छौँ।’ निर्मला म्याडमले फेरि सावित्री मिसको कुरो काट्दै भनिन्।
सावित्री मिसलाई त्यो कुरो झन् मन परेन। कुर्सिबाट उठेर भन्न थालिन्, ‘जहाँसम्म हामी महिलाहरु नै सत्यलाई असत्य साबित गर्न सक्दैनौँ, त्यहाँसम्म छोरीहरु हेपिएरै बस्नुपर्ने हुन्छ। लैंगिक बिभेदको सिकार थुप्रै छोरीहरुले भोग्नुपर्नेछ। हामी आफैँ परिवर्तन हुन सक्दैनौ भने अरुबाट कसरी आश गर्नसक्छौँ? पुत्रमोहबाट जबसम्म हामी नारीहरु नै बाहिर निस्किन सक्दैनौँ, तबसम्म भ्रुणहत्या भैरहनेछन्। सुन्दर धर्ती नदेख्दै कयौँ छोरीहरु पेटभित्रै मारिनेछन्। पहिले हामीले आफ्नो सोच परिवर्तन गर्नुपर्यो। तबमात्र नरेश दाइ जस्ता बुवाहरुले सगौरव तीन तीन ओटा छोरी जन्माउन सक्नेछन।’
सायद यो बहस अझ तन्किन सक्थ्यो तर सेवाग्राही आएको संकेत पाइसकेपछि सावित्री मिस आफ्नो कार्यकक्षतिर लागिन्।
केही दिनपछि एक साँझ सुत्ने बखत निरुले अप्रत्याशित रुपमा प्रश्न गरिन्-‘के गरौं?’
मैले बुझ्ने कुरै भएन। ‘कस्तो के गरौँ?’
निन्याउरो मुख लगाएर झ्यालबाट बाहिर हेर्दै भनिन्–‘फेरि पनि छोरी पाउने हो र?’
म अवाक्क भएँ। घर, टोल, छिमेक, अफिस। अब हुँदा हुँदा आफ्नै पढेलेखेकी शिक्षित, समझदार, एउटा आत्मनिर्भर स्वास्नीले समेत लैंगिक बिभेदको छनक दिनेगरि मलाई जाँच्न खोजिरहेकी थिइन् वा भित्री हृदयको विवशता पोख्न खोजिरहेकी थिइन्। उनको आशय ठ्याक्कै बुझ्न सकिन। कुन अभिप्रायले उनले आज एक्कासि यो प्रश्न गरिन्। मेरो मन चोर्न? वा अरु केही?
मौन रह्यौँ केही मिनेट। सायद सास चल्न बन्द भयो एकछिन। पृथ्वीले सूर्यको परिक्रमा गर्न रोक्यो। घडीका सुइहरु आआफ्नै स्थानमा टक्क अडिए।
बिचारहरु मन्थन हुनथाले दुबैका। हामी गर्भपतन गराउने तिर मोडिँदै थियौँ। एउटा पापको भारी बोक्ने गन्तव्यमा हिँड्न खोज्दै थियौँ। थाहा थिएन केही दिन, केही महिना अघिका हाम्रा आदर्श लाग्ने बिचारहरु, तर्कहरु स्खलित हुँदै थिए।
हामी चेतना शून्य हुँदै थियौँ। हामीले लिएको शैक्षिक डिग्रीले हामीलाई जिस्क्याइरहेको थियो। म स्वयंले कतिपटक गाउँमा गएर नारी अधिकारको बिसयमा, लैंगिक बिभेदको विषयमा वकालत गरेको थिएँ।
सामाजिक रुपान्तरण र महिला शसक्तीकरणका महँगा महँगा सेमिनारमा भाग लिएको थिएँ। निरु पनि कतिपटक नारी दिवसको दिन उत्कृष्ट निबन्ध लेखे बापत पुरस्कृत भएकी छिन्।
विद्यालय, कलेज तहको त कुरै छोडौँ। वक्तृत्वकला, निबन्ध प्रतियोगितामा मैले कहिल्यै रित्तो हात फर्किनु परेन। तर आज मेरा निबन्धहरु, मेरा मन्तव्यहरु फिक्का फिक्का लाग्दै थिए आफैंलाई। जुन निर्णय आजको रात हामी लिइरहेका थियौँ, त्यो निर्णय सायदै हामिले परिकल्पना गरेका थियौँ।
त्यो रात निश्कर्षमा नपुगेरै निदायौँ। सायद निश्कर्षमा पुग्थ्यौँ पनि होला। तर निरुको एक्कासि पेट दुख्यो। त्यसैमा अल्झियौँ। र सुत्यौं धेरै नबोली।
‘बाबा, मलाई नमारिस्योस् न, प्लिज।’
सोह्र हप्ताकी छोरीले आफ्नो मामुको पेटबाट अनुनय बिनय गर्दै जीवन रक्षाको लागि गरेको अपिलको सपनाले रातभर सुत्नै सकिन। मोबाइलमा समय हेरेँ, दुई बजेर दश मिनेट भएको थियो।
के अनर्थ हुनलागेको थियो हामीबाट ? जसले बिज रोपेका थियौँ, उनै कोपिला निमोठ्न लाग्दै थियौँ। आफूलाई सम्हाल्नै मुस्किल हुँदै थियो।
रातभरीको सल्लाह बमोजिम दोस्रो दिन बिहानै हामी मेडिकल जान्छौँ। डाक्टरले भिडियो एक्सरे गर्नुहुन्छ। सोह्र हप्ताको भैसकेको हुन्छ। काउन्टरमा गएर पैसा जम्मा गर्ने र पर्सि बिहानै छ बजे आउन आग्रह गर्नुहुन्छ।
पर्चामा केही औषधि लेखिदिँदै हामीलाई बाहिर पठाउनुहुन्छ। डाक्टरले भनेबमोजिम हामी आज्ञाकारी बालक झैँ सबै काम फटाफट गरेर घर पुग्छौँ। खाना खाएर दुबै जना अफिस जान्छौँ। दोस्रो दिन डाक्टरले दिएको निर्देशन बमोजिम नै भ्रुण हत्या गर्ने ट्याब्लेट मुखमा हाल्नै लाग्दा छोरी रुन्छ। दुबै हात जोडी अनुनय बिनय गर्छ- ‘म हजुरलाई कुनै दुख्ख दिन्न बाबा। म मेरो दादा वा भाइ भन्दा कम हुन्न। हजुरको हरेक सपना पूरा गर्नेछु। प्लिज बाबा, मलाई एकपटक मात्र यो धर्तीमा आउन दिनुहोस्। प्लिज बाबा।’ गर्भमा रहेकी सोह्र हप्ताकी छोरीसित मौन संवाद हुन्छ हाम्रो।
म निरुतिर फर्किन्छु। निरुका आँखाका डिलबाट अनमोल दिव्यरत्न टिलपिल टिलपिल हुँदै ओठसम्म आइपुग्छन्।
‘प्लिज मामु, हजुर त नाँइ भनिस्यो। यत्रो दिनसम्म राखिस्यो। दुख्ख गरिस्यो। आज आएर मलाई मार्ने कुरा गरिसिँदैछ। कसरी सोचिस्यो मामु? मेरो माया लाग्दैन हजुरलाई ?’ सुँक्क सुँक्क गर्दै रुँदै बोल्छे छोरी।
‘हजुरलाई कहिल्यै सताउन्न मामु। दिदी भन्दा नि ज्ञानी हुन्छु। दिदी भन्दा नि बढी पढ्ने हुन्छु। हजुरलाई पाल्छु। बरु बिहे नगरेरै बस्छु।
हजुरहरुलाई कहिक्यै एक्लो छोड्दिन। प्लिज मामु, मलाई बचाउनुहोस्। म जवाफ दिनेछु समाजलाई। मलार्ई थाहा छ, हजुरहरु मलाई किन मारिसिँदैछ भनेर। कतिन्जेलसम्म मारिसिन्छ मामु हामीहरुलाई?’ अघिको नम्र स्वर अब अलि कठोर र कडा हुँदै जाँदै थियो।
‘कि हजुरले लेख्ने शब्दको आयु सकिएकै हो त बाबा? हजुर नै होइन, गाउँ गाउँमा गएर नारी अधिकारका कुरा गर्ने? हजुर नै होइन कान्तिपुर, गोरखापत्र जस्ता राष्ट्रिय दैनिक पत्रिकामा ठूला ठूला अक्षरमा लामा लामा लेख छाप्ने लैंगिक हिंसाका? आज कहाँ गयो बाबा हजुरको त्यो आदर्श? कहाँ गयो त्यो चेतना? हजुर नै होइन लोक सेवा आयोगका अनलाइन कक्षामा महिला हिंसा, नारी अधिकार, समाज रुपान्तरण, समानता र समता जस्ता टपिकमा राम्रो नोट लेखाउने? आज कुन कुनोमा मिल्काउनु भयो ती नोटका सेता पानाहरु? पत्रिकाका कटवाउट्सहरु कहाँ बेचेर बदाम खानुभयो? कहाँ छन् हजुरका डिग्रीका सर्टीफिकेटहरु? धिक्कार छ यस्तो बाबालार्ई।’
‘मामु, हजुर त यति कठोर हुनुहुन्न जस्तो लाग्थ्यो। तर यो के निर्णय लिँदै हुनुहुन्थ्यो। मेरो माया लागेन मामु? कत्ति पनि लागेन?’ फेरि सुँक्क सुँक्क गर्छे।
ओठमुख पुरै सुकिसकेका हुन्छन। तर रिस र आक्रोश थामिएको हुन्न। कतिखेर भावुक हुन्छे त कतिखेर आक्रोशित। म केही बोल्न सक्दिन। आफ्नो अपराध स्विकार गरेर सजाय सुन्न पर्खिरहेको अपराधी जसरी घोसे मुन्टो लगाएर छोरीको अगाडि उभिरहन्छु।
‘मामु, म हजुरलाई निराश हुन दिने छैन। हजुरको पीडा राम्ररी बुझेकी छु। यो हजुरको एक्लो पीडा हुँदै होइन। तर हजुर जसरी यो समाज, धर्म संस्कृतिबाट भाग्न खोज्दै होइसिन्छ, यो राम्रो होइन। हजुरलाई सायद पटक्कै मन छैन होला आफ्नै छोरी आफ्नै हातबाट हत्या गर्न। हजुरलाई यो पनि थाहा छ, यो महापाप हो। अपराध हो। तरपनी तपाईँ कसको खुशीको लागि यति सम्म अमानविय निर्णय लिन थाल्नुभएको? मलाई पटक्कै बिश्वास छैन कि मेरी मामुले आफ्नै छोरीको हत्या गर्न सक्छे। तीन तीन महिना सम्म दुख गरेर हुर्काएकी छोरीलाई निमेसभरमै एउटा ट्याबलेटको सहाराले कैँचीले काटी काटी मार्न सक्छे। अँह मामु, म यो पत्याउनै सक्दिन। हजुर यस्तो गर्न सक्नुहुन्न। हो नि मामु?’ फेरि भावुक हुँदै रुन खोज्छे। तर आँसु रित्तिसकेका हुन्छन्।
आवाज केही दबेको थियो छोरीको। हामी चुपचाप थियौँ। केही बोल्ने समय नै पाइरहेका थिएनौँ। बोल्ने अवस्था पनि त थिएन। हामी त कठघरामा उभिएका अपराधी जस्ता थियौँ।
‘बाबा, हजुरहरुले लिँदै गरेको निर्णयमा पुर्नबिचार गरिस्यो। एकपटक जन्मिएर यो समाजसँग लड्नेछु। तपाईंलार्ई छोराको आवश्यकता महसुस हुन दिने छैन कदापि। यो मेरो बाचा भयो। दिदी र म हजुरहरुलाई सधैँ गर्व बोध हुने काम गर्नेछौँ। हजुरहरुले मलाई जन्माएर कहिल्यै पश्चाताप गर्नुहुनेछैन। त्यो मौका नै दिदिनँ बाबा। हजुर नै यस्तो कुकर्ममा लाग्नु भयो यो समाज कहिले रुपान्तरण होला बाबा? प्लिज बाबा, मलाई एकपटक जन्मिन दिस्यो। म जन्मिन चाहन्छु। यो दुनियाँ हेर्न चाहन्छु। जीवन भोग्न चाहान्छु। यो धर्तीको माटोमा स्पर्श गर्न चाहन्छु। तपाईं र मेरा साझा सपनाहरु पूरा गर्न चाहन्छु। मामुलाई सबैको अगाडि सगौरव आफ्ना छोरिहरुको नाम लिएर उभिने तागत दिन चाहान्छु। मलार्ई एकपटक, मात्र एकपटक जन्मिन दिस्यो बाबा। म जस्ता पीडित भ्रुणहरुको अधिकारको लागि लड्न चाहन्छु।’
निरुका आँखा लोलाइरहेका थिए। थकित देखिन्थिन्।
छोरीसँगको यो मौन वार्ताले म छाँगोबाट खसेजस्तै भएँ। चेतना शून्य भएँ।
ओहो ! कस्तो डरलाग्दो सपना देखेछु मैले। पर्दा उधाएर बाहिर हेर्छु, चकमन्न अँध्यारो छ। कुकुरहरु एकोहोरो भुकिरहेका छन्।
निरुतिर नजर दौडाएँ, मस्त निद्रामा थिइन्। आँखा रसाए। माया लागेर आयो। गएर निधारमा चुम्बन गरेँ। र निदाउन प्रयास गर्दै पल्टिएँ।
दोस्रो दिन अली ढिला गरि उठेँ। छोरी र निरु उठिसकेका थिए। मन बेचैन थियो। तावामा भुट्न राखेको मकैजस्तो। फ्रेस भएँ। चियानास्ता खाएर राति देखेको सपना र छोरीसँग भएको मौन वार्तालाप निरुलाई सुनाएँ। धेरैबेर सम्म हामी केही बोलेनौँ। र अन्त्यमा छोरी जन्माउने निर्णय गर्दै आआफ्नो कामतिर लाग्यौँ।
(भण्डारी डोटेली भाषी लेखक तथा शिक्षकसमेत हुन्।)
Facebook Comment