जब मनिषाले हेर्न पाइनन् पूर्णबहादुरको सारंगी

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्णबहादुरको सारंगी हेर्न चाहेर पनि नपाएको बताइन्। ‘दुईपटक पूर्णबहादुरको सारंगी हेर्ने समय मिलाएँ। तर, हाउसफूलका करण टिकट पाइनँ,’ उनले भनिन्।
नेपाली चलचित्र यसरी चलेको प्रति आश्चर्य मान्दै ह्वाइट हाउस लिट्रेचर फेस्टिबलको ‘आर्ट बिवोन्ड बौडरिज’मा उनले नेपाली चलचित्रको बजार ठूलो हुँदै गरेको सन्दर्भ जोडिन्। ‘नेपाली फिल्म अन्तराष्ट्रिय बजारमा पुगि सक्यो। र, नेपालमा फिल्मको बजार ठूलो बनेको एउटा उदाहारण पूर्णबहादुरको सारंगी हो,’ उनले भनिन्।
अभिनेत्री मनिषाले बलिउड कलाकारले कडा मेहनत गरेका कारण स्थापित हुन पुगेको बताइन्। उनले भनिन्, ‘बलिउड कलाकारले जस्तै मेहनत यहाँ भएको छ। यही मेहनतले निरन्तरा पायो भने नेपाली फिल्मको बजार फराकिलो हुनेछ।’
कुनै पनि सफलता पाउन निरन्तरता र कडा मेहनत गर्नु पर्ने उनले बताइन्। ‘मेरो सिकाई कस्तो छ भने, कि गर्ने हो कि मर्ने हो भन्ने हुन्थ्यो,’ उनले भनिन्।
कला यात्रामा लाग्नुको कारण पारिवारिक पृष्ठभूमि राजनीति मात्रै नभएर परिवार कलाप्रति झुकाव पनि रहेको उनले बताइन्। उनका अनुसार बाल्यकालमा पारिवारिक पृष्ठभूमि राजनीतिक भए पनि उनी सामान्य हुर्किन्। ‘नयाँ पुस्ताका विद्यार्थी माझ पुग्दा ममा अझै धेरै काम गर्ने ऊर्जा आउँछ। कथा सुन्ने र सुनाउने थलो भएकाले म यस्ता कार्यक्रममा पुग्छु,’ उनले भनिन्।
कुराकानीको क्रममा उनले क्यान्सरलाई जित्न मनोबल बलियो हुनु पर्ने बताइन्। ‘क्यान्सरलाई जित्नका लागि मनोबल बलियो हुनुपर्छ,’ उनले भनिन्, ‘आफैँबाट बाँच्ने प्रयास गर्नु पर्छ।’
Facebook Comment