नेहा र सत्यन्द्रको विषय जोडेर मेरो आदर्शमाथि प्रश्न उठाइयो : गृहमन्त्री

डिसी नेपाल
२४ माघ २०८१ १६:१७

काठमाडौं । सर्लाहीको बरहथवाका सत्यन्द्रकुमार राम चमार र सोही नगरपालिकाकी नेहा रौनियारको अन्तरजातीय विवाहबारे गलत समाचार सम्प्रेशण गर्दै आफ्नो आदर्शमाथि प्रश्न उठाइएको टिप्पणी गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन्।

‘म सधैँ जातीय छुवाछुतविरुद्ध रहँदै आएको छु। अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भएको भन्नु मेरो आदर्शप्रतिको अवमूल्यन भएको ठानेको छु। वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको ग्यारेन्टीका लागि विद्यार्थी कालदेखि नै लड्दै आएको म अन्तरजातीय विवाहप्रति पूर्वाग्रह भयो भन्नु जीवनमूल्य र आदर्शप्रति नै अवमूल्यन हो,’ उनले भने।

आफ्नो पार्टी नेपाली कांग्रेस जातीय विभेद र छुवाछुतविरुद्ध रहेको उनको प्रष्टोक्ति थियो। उनले यस्तो विवाहलाई राज्यले प्रोत्साहन गर्नुपर्छ भन्नेमा आफू प्रष्ट र प्रतिवद्ध रहेको बताए।

अन्तरजातीय विवाहमा गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु कपोकल्पित भएको लेखकको भनाइ छ। प्रहरीले सम्पूर्ण विवरण सार्वजनिक गरिसकेको र मन्त्रालयले पनि सत्यतथ्यसहित विज्ञप्तिमार्फत घटनाको जानकारी गराइसकेको उनको भनाइ छ।

‘यस विषयमा कही त्रुटी भएको देखिए छानबिन र कारबाही गर्ने कुरा सम्मानित सदनलाई विश्वास दिलाउन चाहन्छु। पीडितको गुनासो सम्बोधन गर्ने र सम्पूर्ण पक्षमा सुरक्षा दिनेमा म आश्वस्त पर्दछु,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *