‘चल छैंय्याँ छैंय्याँ छैंय्याँ छैंय्याँ…’

हृषीकेश ढकाल
२६ माघ २०८१ ७:२४

श्रीराधा

“ऐसा समाँ न होता
कुछ भी यहाँ न होता
मेरे हमराही जो तुम न होते
मेरे हमराही जो तुम न होते…”

स्व. लताजीको निर्झर झैँ कण्ठदेश उहाँका कोकिला आवाजहरू प्रपात गर्दछन्। अनि ती कोकिल आवाजहरू सनातन देखि अनवरत बगिरहेकी अस्तित्वको प्रेमनदीमा गई मिल्दछन् र सबै हृदयहरूलाई आफूसँगै बगाउँदछन्।

एक निर्झरिणी झैँ त्यो गलाप्रदेशबाट निर्झर प्रपातित आवाज अस्तित्वको प्रेमनदीमा गई एक गीत स्वरूपमा यस्तै गरी मिलेको छ, जो यस लेखनको प्रयासमा अनि जीवनहरूमा पनि बडा सान्दर्भिक प्रतीति हुन्छ;

“ओ राहें वो ही वादी वो ही बदला कुछ नहीं
फिर भी तेरे मिलने से है दुनिया क्यों हसीन
राहें वो ही वादी वो ही बदला कुछ नहीं
फिर भी तेरे मिलने से है दुनिया क्यों हसीन
कहीं ख्वाबों में हम गुम ना होते
मेरे हमराही जो तुम न होते
ऐसा समाँ न होता
कुछ भी यहाँ न होता
मेरे हमराही जो तुम न होते
मेरे हमराही जो तुम न होते…”

यस गीतका शब्द ‘गीनिज बूक अफ वर्ल्ड रेकर्ड्स’मा सर्वाधिक धेरै गीत लेख्ने गीतकारको ताजले सजिएका भारतका वर्तमान गीतकार समीर अनजानका स्व. पिताजी सायर अनजानका हुन्। र, सङ्गीत – स्व. आर.डी.बर्मन।

उपक्षेप :

सन् १९९८। एउटा गीतले संसार मै तहल्का पिट्यो ! ए. आर. रहमानको ‘म्युजिकल जीनियस’मा संसार झुमेर उठेको यस गीतमा शब्द थियो सायर गुलजारको।

छुराहरू धारिला हुन्छन्। हो, यो सत्य हो। र, काट्छन् पनि ! अनि कष्ट निम्त्याउँछन्। तर, प्रेमछुराको कहानी बेग्लै छ ! प्रेमछुराले पनि काट्छ नै! तर, आनन्द प्लावन गर्छ, हृदयबाट !

यस्तै त्वचाहरूमा रोमहर्षण अनि हृदयमा आनन्द प्लावन गर्ने धारिलो एक प्रेमछुरा सरी सपना अवस्थीको आवाज यहाँ सुन्नासाथ धरतीमा ढुकढुकेर बसिरहेको हर मुटुलाई उनको तिखो आवाजरूपी प्रेमछुराले आकाश फाडी अर्को लोकमा पुर्याइदिने र हृदयबाट प्रेम प्लावित गराई मस्त-आनन्दित तुल्याइदिने, अनि सुखविन्दर सिंहको भाववाहक आवाज यस्तो कि उनी गाउँदा सर्लक्क आफ्नो मुटु झिकी स्रोता माझ राखिदिने:

गज्जबको साधनाले पछाडिबाट आडभरोसा अनवरत भेटिरहेको झैँ बडा आत्मविश्वासी आवाज सुखविन्दरको ! बडो ‘एक्सप्रेसिभ’ गायकी ! यिनको त आवाज नै नाच्तछ। गाउँदा गाउँदै गलाबाट आवाज नाच्तै निस्कन्छ ! र, यी आफैँ झुम्दछन्। आफैँ झुम्नाले नै यिनले लोकलाई झुमाए !

यो भारतीय पप-लोक गीत थियो भारतीय चलचित्र ”दिल से…” को ‘साउन्ड ट्र्याक’ ; ”चल छैंय्याँ छैंय्याँ छैंय्याँ छैंय्याँ…”

सन् १९९८ ! त्यस जमानामा यस गीतले भारतमा मात्रै साठी लाख प्रति विक्रि गर्यो ! र, अन्तर्राष्ट्रिय रूपमा ‘कल्ट फलोईङ्ग’ नै स्थापित गर्दियो ! भारतीय सिनेमामा प्रायः ‘इन्फ्लुएन्सियल ट्र्याक’को रूपमा लिइन्छ, यस गीतलाई।

मणिरत्नम निर्देशित, ए.आर. रहमानको सङ्गीत रहेको “दिल से…” ले त्यहाँको दुई राष्ट्रिय र आठ ‘फिल्मफेयर अवार्ड्स’ जित्यो। “दिल से…” ले रहमान र गुलजारलाई पहिलो पल्ट सँगै ल्याइदियो।

“दिल से…”ले दुईको दिल जोड्दियो; शब्द र सङ्गीतको, शब्द लेख्नेवालाको र ती लेखिएका शब्दमा सङ्गीत भर्नेवालाको। गाउनेवाला सुखविन्दर त रहमानसँग पहिले नै जोडिएका त छँदै नै थिए। अब यहाँ त्रिवेणी घटित थियो; शब्दकार, सङ्गीतकार र गायनकार ! र, घटित भयो एक कालजयी रचना ! ‘‘चल छैंय्याँ छैंय्याँ…”

यस “दिल से…” चलचित्रका सबै छ गीतहरू सायर गुलजारले नै लेखेका थिए, कालजयी ‘‘चल छैंय्याँ छैंय्याँ छैंय्याँ छैंय्याँ…” सहित। अनि यसै गीतका लागि गुलजार गीतकारको रूपमा ‘फिल्मफेयर अवार्ड’बाट सम्मानित पनि हुन पुगे। गायक सुखविन्दर सिंह उत्कृष्ट ‘मेल सिङ्गर’को रूपमा ‘फिल्मफेयर अवार्ड’बाट सम्मानित भए।

बेलायतमा पनि यो गीत उत्तिकै चर्चित रह्यो ! सन् २००२ मा बी.बी.सी. विश्व सेवाले अन्तर्राष्ट्रिय चुनाउ गर्यो ‘सर्वकालीन सबैभन्दा दश लोकप्रिय गीत’ नामको शीर्षकमा।

(सातौँ स्थानमा हाम्रा प्रातःस्मरणीय गायक स्व. श्री अरूण थापाज्यूले गाउनु भएको “ऋतुहरूमा तिमी हरियाली वसन्त हौ, नदीहरूमा तिमी पवित्र गङ्गा हौ…” भन्ने बोलको गीत चम्किरहेकै नै छ। (आगामी भविष्यमा यस विषयमा छुट्टै शीर्षकमा प्रयासको आश यस पङ्क्तिकारले गरेकै नै छ।)

“चल छैंय्याँ छैंय्याँ छैंय्याँ छैंय्याँ…” गीत नवौँ स्थानमा स्थित भयो ! यहाँ गीतकार सायर गुलजारको चामत्कारिक शब्दलास्यको जयजय सिद्ध भएको थियो, सङ्गीतकार ए. आर. रहमानको ‘म्युजिकल जीनियस’ प्रमाणित भएको थियो र गायक सुखविन्दर सिंहको भावबोधक गायकी जीवन्त प्रमाणित भएको थियो, धक् धक् धक् धक्। तीनै जनाको सिद्धि प्रमाणित भएको थियो औपचारिक रूपमा विश्वव्यापी।

यस गीतले लोकप्रियता र चर्चाको शिखर चुमीसकेको पहिले नै अब त आफैँ शिखरको लक्ष्य खडा गरेर अघि बढी नै रह्यो ! रोकिने त नामै थिएन! अझै अगाडि गएर डेन्जेल वाशिङ्गटनको ‘लीड रोल’ रहेको हलीऊड चलचित्र ‘इनसाइड म्यान’मा ‘फीचर्ड’ हुन पुग्यो सन् २००६ मा ! चलचित्रको ‘ओपनिङ्ग’ नै यही गीतले गर्छ। र, अन्त्य पनि।

स्रोताको मन कुदाउँदै लगेर आकाश छेड्ने सपना अवस्थीको तिखो प्रेमझङ्कार युक्त आवाजबाट गीतको सुरुवात सँगै चलचित्रको सुरुवातमा ‘प्रोडक्सन’ हेर्ने तीन वटा मध्ये एक र मुख्य ‘डिस्ट्रिब्युसन’ हेर्ने ‘कम्पनी’ – युनिभर्सलको लोगोमा पृथ्वी घुमेको छ जसरी यो गीतले अत्यधिक लोकप्रियताको चर्चामा संसार घुम्यो-गज्जबको एक सांयोगिक सांकेतिक चित्रण ! पृथ्वी घुम्दा घुम्दै लेखिन्छ – ‘युनिभर्सल’ ! गीत ‘युनिभर्सल’ नै सिद्ध थियो !

चलचित्रको समापन गर्दा असली गीतलाई ‘रीमिक्स’ गरेर पञ्जाबी एम.सी. को र्याप समावेश गरिएको छ जसलाई ‘छैंय्याँ छैंय्याँ बलीऊड जोइन्ट’ नाम दिइयो। यस ‘रीमिक्स’मा आधुनिक समयका लहर दिन सपना अवस्थी र सुखविन्दर सिंहको असली स्वर सहित नयाँ ‘र्याप भर्स’हरू मिलाइएको छ। पञ्जाबी संगीतलाई ‘हिप-हप’ र ‘ईलेक्ट्रोनिक बीट’हरू सम्मिश्रण गर्न चिनिएका संगीतकर्मी हुन् पञ्जाबी एम.सी.।

रसेल जेवर्ट्स लिखित चलचित्र ‘इनसाइड म्यान’ निर्देशक स्पाइक लीको निर्देशन हो। पैँतालिस मिलियन डलर लागतको यस चलचित्रले ‘बक्स अफिस’मा एक सय चौरासी दशमलव चार मिलियन डलरको बरसात-प्रपात-उत्पात गरेको थियो।

‘म्युजिकल’ ‘बम्बे ड्रीम्स’ र टेलीभिजन शोहरू ‘स्मिथ’ र ‘सीएसाइ : मायामी’ मा गीत छायो। इन्डोनेसियामा सन् २०१० मा चर्चाको शिखरमा पुग्यो!

सुफी सङ्गीत र ऊर्दू ‘पोएट्री’मा आधारित यस गीत बाबा बुल्लेह शाहको “तेरे इश्क नचाया करके थैय्या थैय्या…” नामक गीतबाट ‘डीराइभ’ गरिएको हो।

कवि बुल्लेह शाहको यस “थैय्या थैय्या” बोलको सुफी लोक गीतलाई गायक सुखविन्दर सिंहले सङ्गीतज्ञ ए.आर. रहमानलाई देखाउँछन् जो ‘दिल से…’ को ‘साउन्डट्र्याक’ का लागि एक पन्जाबी भक्ति संगीत(भजन) को खोजमा हुन्छन्।

सायरको हृदयमा प्रेम मात्रै हुन्छ ! दुवै जना प्रेमै प्रेमले ओतप्रोत हृदय भएका सायर गुलजार कहाँ पुग्छन्। पहिल्यै अप्रतिम रचना पुरानो समयका एक दुर्लभ कविको “थैय्या थैय्या” यसै पनि।

अति सघन गुरुत्वको यस सांगीतिक रचनालाई सकीनसकी फ्याँफ्याँ हुँदै बोक्तै आएका आधुनिक समयका साङ्गीतिक आकाशका दुई घाघडान युवाको जोसजाँगरलाई गुलजारले पुनर्लेखन गर्न बाध्यै हुन्छन् र नाम परिवर्तन गर्छन्- “छैंय्याँ छैंय्याँ”।

त्यसपछि त ‘रेस्ट इज हिस्ट्री’ भन्छन् : गीतको हिरण्यमय इतिहास हाम्रो अघिल्तिर वर्तमानमा चम्किरहेकै छ – आगामी भविष्यमा पनि कालजयी रूपमा झलमल्ल भएर।

घरकै स्टुडियोमा विद्याकी देवी श्रीमहादेवी सरस्वती, विद्याका देवता भगवान् शिव र अष्टैश्वर्यकी महादेवी श्रीलक्ष्मीमाताको मूर्ति लस्करै स्थापित छ, बगलमा सुखविन्दर छन्। झुम्दै निस्कने आवाज उनको गलाबाट निस्केसँगै आफैँ पनि झुम्न थालिहाल्ने उनी !

एक अन्तरवार्ताको क्रममा, झुम्दै-गाउँदै उनी भन्छन्; “हरेकमा केही न केही खास बात हुन्छन्। गुलजार साहबले शब्दलाई एक अद्वितीय चित्रकारले जसरी उन्नुहुन्छ। “छैंय्याँ छैंय्याँ”को त्यस्तो सङ्गीत अरू कसैले गर्न सक्दैन भनेर त म भन्दिन तर एक नयाँ आयाम रहमान साहबले दिनुभयो।”

यति भनि नसक्तै उनी गाउन थालिहाल्छन् झुमेर- “चल छैंय्याँ छैंय्याँ छैंय्याँ छैंय्याँ…”। गाउँदा गाउँदै हातका पौँजा र औँलाहरू गलाबाट नाच्तै निस्कँदै गरेको आवाजसँग घुल्दछन् उनका र नृत्य र आवाज एक भई सरगम सङ्गीतको सुर र तालमय नृत्य घटित !

गायक सुखविन्दर उपर सायर गुलजार एक अन्तरवार्तामा भन्छन्; “छैंय्याँ छैंय्याँको झंकार नै मस्तिष्कमा झङ्कृत हुने खालको ! अब यत्तिको लोकप्रिय होला भनेर त सुरुमा कसैलाई पनि कहाँ थाहा हुन्छ र ! यो गीतमा सुखविन्दरको, सुखविन्दरको आवाजको ठुलो योगदान छ। उसको आवाजमा गायन प्रतिको एक शब्दातीत प्रेम छ, एक ऊर्जा छ जसलाई रहमानले बडा उत्कृष्ट तरिकाले सदुपयोग गरे।”

यसै अन्तरवार्तामा गुलजार ए.आर. रहमान उपर पनि आफ्ना भनाई भन्छन्; “एक ऊर्जा जो रहमानको मनमस्तिष्कमा थियो, त्यो यस गानामा आयो र गानामा भएको ऊर्जा आम जनमा पुग्यो।

रहमानको आफ्नो जन्मक्षेत्रका लोक धूनहरू ऊ हुर्कँदा उसले टिपेको र त्यसमाथि पाश्चात्य सङ्गीत उसले सिकेको ! त्यही वाद्य यन्त्र अरूले बजाउँदा एउटा सुनिन्छ, उसकोमा अर्कै ! यो उसको अलग खुबी हो। उसको आध्यात्मिक आस्था र आधुनिक विज्ञान-प्रविधिको राम्रो सामञ्जस्यता- जुन उसको जीवनमा पनि र सङ्गीतमा ! र, आजसम्म आइपुगेर (सबै उसका कार्यहरू) हेरे पछि त्यो व्यक्ति, त्यो जो जादू छ, त्यसको नाम हो ए.आर. रहमान।”

सुरुमा यस गीत खासमा रहमानले आफ्नो एल्बम “वन्दे मातरम्” का लागि ‘कम्पोज’ गरेका हुन्छन्। तर, यस एल्बममा यो गीत ‘फिट’ नभएको सोचेर उनले निर्देशक मणिरत्नमलाई देखाउँछन्, जसलाई गीतमा भएको खालको मोहक धुन खुब मनपर्छ। मणिरत्नमले पहिलो चोटि नै गीत सुन्दाबित्तिकै रेलमा खिच्ने निर्णय लिन्छन्। यस गीतबारे यो कुरा ए.आर.रहमानले एक अन्तरवार्तामा भनेका हुन्।

मञ्चन :

“चल छैंय्याँ छैंय्याँ छैंय्याँ छैंय्याँ
चल छैंय्याँ छैंय्याँ छैंय्याँ छैंय्याँ…”
जाउँ छायाँ-छायाँमा जाउँ
जाउँ छायाँ-छायाँ हिडौँ, जाउँ
हिँडी जाऔँ छायाँमा…

“जिनके सर हो इश्क़ की छाँव
पाँव के नीचे जन्नत होगी
जिनके सर हो इश्क़ की छाँव…”

जसको शिर ‘इश्क’को छायाँमा छ
पाउको तल स्वर्ग हुन्छ।

प्रेम ! शब्द आफैँमा शीतल हो। मायाँको सुरुवाती जब तड्पनका रापतापहरूबाट यात्रा अघि बढ्छ र हृदय प्रेमशिखरको शीतलतामा स्थित हुन्छ तब काँचका धारिला टुक्राले बिझेका मर्त्यलोकी जिन्दगीहरूमा पनि पाउहरू स्वर्गमा शयर गरे झैँ प्रतीति हुन लाग्दछन्; “मन चंगा तो कठौती मै गंगा !”

त्यसै कसैले भनेका होइनन् र लोकमा लोकप्रिय त्यसै भएको होओइन। पाउले त आदेश मान्ने न हो आदेश र पाउको सन्देशको स्विकारोक्तिको निर्णय लिने प्रधान कार्यालय मनै त हो ! ‘इश्क़’को परमानन्दमा मग्न मन फूलमा हिँडेको छ काँचका टुक्रालाई फूल मानेर तब काँचैको चस्चस् बिझाईमा हिँडे पनि यी पाउ तल स्वर्ग नै स्थित भएको छ। मनले गङ्गा नै जो मानिसक्यो त गंगाजी स्वयम् प्राकट्य हुनुभो पवित्रता स्वतः सिद्ध गर्न ! प्रेमको शक्तिको सवाल नै जो आयो ! आँच आउन त दिन मिलेन !

प्रेमको मामला अलग छ ! यही संसारको कहानी भित्रै प्रेमको यो अलग कहानीलाई हेर्न चाहिने फरक केवल नजरियाको हो। विषय यहाँ ‘इश्क़’को नजरिया रह्यो।

“मानुँ तो मै गंगारानी
ना मानुँ तो मै बहता पानी !”

भाव न हो ! ‘इश्क़’ले त्यो भाव ल्याउँछ। पानी मै गङ्गाजीको दर्शन हुन्छ !

“चल छैंय्याँ छैंय्याँ छैंय्याँ छैंय्याँ…”

शिर ‘इश्क़’को छायाँमा जाउँ छायाँमा

माथ ‘इश्क़’को छायाँमा, पाउ तल ‘जन्नत’ नै दिने ल्याकत राख्ने जाउँ ‘इश्क़’को छायाँमा, जाउँ छायाँमा, सायर गुल्जार भन्छन्।
भयो अब संसारी घामको टट्याई पुग्यो, जाउँ छायाँमा, पाउ तल ‘जन्नत’ हुन्छ, गएर त हेरौँ, जाउँ छायाँमा,
शिर ‘इश्क़’को छायाँमा !

”चल छैंय्याँ छैंय्याँ छैंय्याँ छैंय्याँ
सारे इश्क़ की छाँव चल छैंय्याँ छैंय्याँ
सारे इश्क़ की छाँव चल छैंय्याँ
पाँव जनत चले चल छैंय्याँ छैंय्याँ…”

जाउँ छायाँमा, सबै ‘इश्क़’को छायाँमा,
जाउँ छायाँमा
पाउ स्वर्गमा हिँड्छन्
जाउँ छायाँमा…

”वो यार है जो ख़ुशबू की तरह
जिसकी जुबां उर्दू की तरह…”

‘इश्क़’को छायाँमा मन अब स्वर्गमा स्थित भएको छ। स्वर्गको कहानी त बेग्लै छ : यहाँ प्रियतमा तब पिरतीको सुवासमा रूपान्तरित हुन्छिन् ! मूर्तताको सिमितता अब अमूर्तको असिमित विस्तीर्णतामा प्रसारित छ पारलौकिक अवस्थितिमा।

स्वर्ग तिर पुग्दा मर्त्यलोकी प्रेममूर्तता अब एक अमूर्त प्रेमसुवासको बहार हुन पुगेको छ। प्रेमको मग्नता अब यस्तो डुबानमा भैगयो कि मूर्त उनी अब अमूर्त-निराकार सुवास झैँ यत्र, तत्र, सर्वत्र- मिठो र पवित्र ! मूर्त आफू भित्रको अमूर्त-निराकार प्रेम झाङ्गिएर यति विघ्न घना भइदियो कि मूर्त उनीमा डुब्दा आफू भित्रको अमूर्त प्रेम उनीभित्र कै अमूर्त प्रेममा एकाकार भएर साकार उनीलाई निराकारको व्यापकतामा सर्वत्र पाउन लाग्यो ! जाउँ छायाँमा !

उनका कोकिल कण्ठी बोलीहरू अब गजल झैँ रसिक एक साङ्गीतिक मिठास भरा हुन लागेका छन्। हराभरा वसन्ती सुवास यत्र, तत्र, सर्वत्र।

”मेरी शाम रात, मेरी कायनात
वो यार मेरा सैंय्याँ सैंय्याँ
चल छैंय्याँ छैंय्याँ छैंय्याँ छैंय्याँ…”

मेरो साँझ रात, मेरो ब्रह्माण्ड – मेरो रोम-रोम देखि सिङ्गो अस्तित्व मेरो प्रेम-प्रेम, मेरी उनी, मेरी प्रियतमा-प्रियतमा। जाउँ छायाँमा।

साँझहरू रोमाञ्चक हुन्छन् नसा चढेका। पिरतीको नसामा मदमस्त प्रियतमा झैँ ! यो नसा बढेर अब रात हुन्छ ! र, उनी पूर्ण ! पूर्ण प्रेम स्वरूप हुन पुग्दछिन् ! साँझ अन्धकारको घनत्व सघन भएर मस्त रातमा रूपान्तरित भए झैँ जतिजति म उनीमा डुब्दछु थोरै हल्का पिरती चढेकी उनी म पुरै डुब्दासम्म अब मूर्त उनी साँझबाट बढेर पुर्ण रात अनि सिंगाे अस्तित्वको अमूर्त सघनता र विस्तीर्णतामा छिन्, फैलिएकी हरतरफ उनी नै पाउँदछु ! मूर्त प्रेम यहाँ अनन्त-अमूर्त भएको छ ! निराकार प्रत्यक्ष अनुभूतिमा।

वाह गुलजार साहब ! जाउँ छायाँमा ….

”गुलपोश कभी इतराए कहीं
महके तो नज़र आ जाए कहीं…”

फूलहरू धनी हुन्छन् ! बडा धनी। सुन्दरता धनी हुन्छ। फूल सुन्दर हुन्छ। फूल एक्लो हुन्न ! सुन्दरता एक्लो हुन्न। अन्तर्निहित बहुआयामिक अवयवहरू, अदाहरूले युक्त अदाकारीहरू, अगण्य साथै लिएर आफूमा धारित सुन्दरता धनी हुन्छन्। फूल धनी छिन्। सुन्दर छिन्।

धनी छिन् किनभने सुन्दर छिन्। सुन्दर छिन्, धनी छिन्। ‘इतराउनु’-घुर्क्याउनु सुन्दरताको त नैसर्गिक नियमै जस्तो के ! प्रकृति नै जस्तो। प्राकृतिक स्वभावै जस्तो। घुर्क्याएर ‘मेरो पारै यस्तै हो।’ भनेजस्तो के ! मान्दिन पर्ने हुन्छ। उपाय के ?!

एक फूल त यहाँ यत्ति विघ्न छ, यहाँ त सिङ्गो ‘गुलपोश’ नै छ – वस्त्र, आभूषणै पुरा फूलका छन्, स्वर्गवागका सुगन्धी पुष्पले महकिएर मगमग नै हररर…छरेर पिरतीको इत्र-सुवास सररर… अनि त किन न इतराइयोस् ! स्वाभाविकै छ।

तर, भने झैँ सुन्दरता एक्लो हुन्न। धारित बहुआयाम सुन्दरताका आफूमा र यिनका अवयव अन्तर्निहित खुदमा, लुकाएर कहाँ लुक्थ्यो र ! आगो छ त धुवाँ उठ्छ नै ! फूल छ त महकिन्छ नै ! लुकाइयोस् जति नै !

सुन्दर छ त प्लावन हुन्छ नै; भरिएर चुरचुर छ त पोखिन्छ नै ! भरिएर पोखिएर ‘महफिल’मा फैलिनु नै छ, फैलिन्छ नै – ‘महके तो नजर आ जाए कहीं…’ त्यसपछि त दृश्यमा यो दर्शन गर्ने ‘दीदा-वर’हरू गुलजार हुन पुग्दछन्।

”तावीज़ बना के पहनूँ उसे
आयत की तरह मिल जाए कहीं
गुलपोश कभी इतराए कहीं…”

दैविक शक्तिले युक्त बुटी झैँ सधैँलाई हृदयमा टाँसेर पहिरिउँ उनलाई !

धार्मिक ग्रन्थका छन्द युक्त पवित्र पङ्क्ति पठन हुँदा झैँ उनी मिलिजाउन् कतै ! मिलिन् भने कुनै पल वियोग नहुन्; बुटी बनाएर हरपल, पलपल नि प्रत्येक पल सधैँलाई हृदयमा टाँसेर पहिरिउँ उनलाई !

”वो यार है जो ईमाँ की तरह
मेरा नग़मा वही मेरा कलमा वही
मेरा नग़मा नग़मा मेरा कलमा कलमा…”
ती साथी मेरी जो आस्था-श्रद्धा झैँ,
मेरी गीत उनै, यसै कोकिला कण्ठी उनी, सुरिली सङ्गीत उनै, मेरी मूल मन्त्र उनै
सुरिली सङ्गीत उनै, मेरी मूल मन्त्र उनै …

“यार मिसाल-ए-ओस चले
पाँव के तले फ़िरदौस चले…”

साथी मेरी ताजगी भरे शीतको मिसाल-नजीर जो पात-पात माथिका शीतका थोपाथोपामा छिन्, ती थोपाथोपा भएर चल्दछिन्। यस्तो शीत छरिएको मृदु नजारा जो उषामा सूर्यका किरणले रंगीबिरंगी ंगङ्ग प्रसारित गरिरहेछन् – आफैँमा स्वर्गको वयान बोकेको छ, यसमा उनी चल्दछिन् !

अत: उनको पाउको तल स्वर्गहरू चल्दछन् ! उनी जहाँ टेक्तछिन्, स्वर्ग खडा हुन्छ त्यहाँ ! पाउ जहाँ पर्छ उनको, पाउ तल स्वर्गहरू हिँड्छन् ! वाह ! गुलजार साहब ! जाउँ छायाँमा !

”कभी डाल-डाल, कभी पात-पात
मैं हवा पे ढूंढूं उस के निशाँ…”

मणिमाणिक्य जडित रङ्गीबिरङ्गी अति सुन्दर लहङ्गा केही उचालेर हिमवर्णी सुकुमार पाउले कहिले फूलको डालीडाली कुद्दछिन्, कहिले पातपात डुल्दछिन्। चञ्चल उनी चञ्चलता मै हराईजाँदछिन् ! हावा मै म खोजुँ उनका निशानहरू, डोबहरू, पाउका छापहरू, पदचापहरू…

”सारे इश्क़ की छाँव चल छैंय्याँ छैंय्याँ
सारे इश्क़ की छाँव चल छैंय्याँ
पाँव जनत चले चल छैंय्याँ छैंय्याँ..”
सबै ‘इश्क’को छायाँमा
जाउँ छायाँमा
पाउहरू स्वर्गमा हिँड्छन् जाउँ छायाँमा
गुलजार साहब जाउँ छायाँमा।

“मैं उसके रूप का शहदाई,
वो धूप छाँव सा हरजाई…”
म उनको रूपको बडा मग्न प्रेमी, ‘दीवाना’, ‘परवाना’
उनको रूपको प्रेममा प्रेमले ओतप्रोत भरिएको म उनको एक मस्तमौला प्रेमी
तर उनी घाम छायाँ झैँ हराई जान्छिन्
उडेर गई घाम भनी म छुन खोज्छु उनलाई
छायाँ भैदिन्छिन्।
झरेर तल धरतीमा ती छायाँलाई फेरि भेट्न खोज्छु म
उनी हठात् फेरि हराई जान्छिन् …

“वो शोख़ है रंग बदलता है
मैं रंग रूप का सौदाई
मैं रंग रूप का सौदाई…”

उनी नटखट छिन्, जिस्किन्छिन्, जिस्क्याउँछिन् मलाई ! र, जिस्क्याएर तड्पाउँछिन् ! जिस्क्याउनलाई रङ्ग बदल्छिन् ! तड्पाउनलाई रङ्ग बदलेर घुर्क्याउँछिन्। तड्पाउनलाई घुर्क्याउँछिन्, घुर्क्याउनलाई तड्पाउँछिन् ! उनको रंग पक्कै यो हो भनी हठात् गई समात्न खोज्दा मिठो चुलबुललाई आफ्नो प्रकृति झैँ धारण गरेकी उनले झट्ट रंग फेर्दछिन् !

अनि म पनि के कम म पनि उनको रंग भेट्न रंग रूपको ‘सौदागर’ नै जो अब भएको छु, अस्तित्वका सबै रङ्गको भण्डारण सुरु गरेको छु ! कुनै न कुनै रङ्गमा त उनी छिन् नै। रंग भण्डारणको क्रममा उनलाई फुत्कन दिने छैन !

अझै जिस्क्याउन रङ्गहीन भएरै बसिन् भने पनि कति दिन बस्लिन् र ?! शृङ्गारको गहना त उनलाई अपरिहार्य हो नै ! रङ्गमा उनलाई नभेटे पनि आफूमा शृङ्गारको रङ्ग भर्न उनी पक्कै आउने नै छिन् एकदिन ! पक्कै शृङ्गारको रङ्ग खरिद्न आउने नै छिन्।

(यहाँ सौदाईको अर्थ सौदागर(व्यापारी) पनि हो र पागल प्रेमी पनि हो। दुवै अर्थ यहाँ ठ्याक्कै मिल्छ : पागल प्रेमी भएरै उनलाई भेट्न सुरु देखि आजसम्म आईपुग्दा रङ्गरूपको सौदागरको कर्म लिन पुगेको भन्ने अर्थ र भाव स्पष्ट भए झैँ लाग्छ।

कुन भाव वा ठ्याक्कै अर्थ वा अझ ठूलो अर्थमा हुँदा सायर गुल्जारसाहब स्वयम् ले बताउन सक्लान्। हामीले त हाम्रो सिमानुसार गीतका प्रेमले निथ्रुक्क प्लावित प्रेमीले उनलाई भेट्न गरेको प्रयास झैँ हरफका अर्थ भेट्ने प्रयास मात्र त हो !)

“जिनके सर हो इश्क़ की छाँव
पाँव के नीचे जन्नत होगी…”

“शाम रात, मेरी कायनात
वो यार मेरा सैंय्याँ सैंय्याँ
चल छैंय्याँ छैंय्याँ छैंय्याँ छैंय्याँ…”

साँझ, रात मेरी कायनात – ओह्हो ! गोधूलि त प्रेमको प्रतीक हो ! बाब्बा ! मेरी गोधूलि साँझ उनै हुन्, मधुर साँझमा पनि छिन्, रात पनि उनै हुन् अनि तारा, नक्षत्र, आकाशगङ्गाहरू स्पष्ट देखिने मेरी ब्रह्माण्ड, मेरी अस्तित्व उनै हुन्
ती साथी मेरी सङ्गी सङ्गी
जाउँ छायाँमा, छायाँमा, जाउँ छायाँमा …
गुलजार साहब।

उपसंहार :

“ऐसा समाँ न होता कुछ भी यहाँ न होता
मेरे हमराही जो तुम न होते
मेरे हमराही जो तुम न होते…”

मन उही, मानसिकता फरक ! मस्तिष्क उही, सोच फरक ! आँखा उही, हेराई फरक – नजर उही, नजरिया फरक ! दृश्य उही, दृष्टि फरक ! शरीर उही, अनुभूति फरक ! जीवनको यात्रा उही, यात्राको मजा फरक – मामला ‘इश्क़’को हो …

त्यही भएर सायर अनजानले त्यसै लेखेका होइन रहेछन्;
“ओ राहें वो ही वादी वो ही बदला कुछ नहीं
फिर भी तेरे मिलने से है दुनिया क्यों हसीन
राहें वो ही वादी वो ही बदला कुछ नहीं
फिर भी तेरे मिलने से है दुनिया क्यों हसीन
कहीं ख्वाबों में हम गुम ना होते
मेरे हमराही जो तुम न होते
ऐसा समाँ न होता कुछ भी यहाँ न होता
मेरे हमराही जो तुम न होते…”

र, अन्त्यमा, फेरि पनि –
“चल छैंय्याँ छैंय्याँ छैंय्याँ छैंय्याँ…”
जाउँ, गैजाउँ छायाँमा…’इश्क़’को छायाँमा…

मामला ‘इश्क़’को हो …
गुलजार साहब जाउँ छायाँमा…

hrisheekeshdhakal@gmail.com




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *