आहा! रारा पोखरा गोल्डकप: चर्च व्वाइज क्वाटरफाइनलमा

डिसी नेपाल
२४ माघ २०८१ २१:५४

कास्की। चर्च व्वाइज फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा आज भएको प्रतिस्पर्धात्मक खेलमा सडन डेथमा एनआरटी फुटबल क्लबलाई हराउँदै चर्च व्वाइजले अन्तिम आठको यात्रा तय गरेको हो। एनआरटी र चर्च व्वाइजले पोखरामा पहिलो पटक प्रतिस्पर्धा गरेका हुन्। पहिलो हाफमा एक गोलले पछि परेको चर्चले दोस्रो हाफमा गोल फर्काउँदै खेल बराबरी गर्न सफल भयो। एनआरटीले खेलको २५औँ मिनेटमा रिचार्ड विल्सनको गोलबाट अग्रता लियो। तर खेलको ६४औँ मिनेटमा एनआरटीका नरेन चौधरीले मनिष जर्गामगरलाई पेनाल्टी बक्समा लडाएपछि चर्चले पेनाल्टी पायो । नविन लामाले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भए।

निर्धारित समय र अतिरिक्त समयको खेल एक एक गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्रसिंह थापा, अकिन्स बाफोर, प्रशान्त लक्सम, नविन लामा, अबायोमी र मिलन राईको प्रहार गोलमा परिणत भयो भने सकल रेग्मी र राज भुषालले गोल गर्न सकेनन्।

एनआरटीका गोलकिपर विशाल सुनार, अन्जन विष्ट, सुमित श्रेष्ठ, जय गुरुङ र रवि लोप्चनको पेनाल्टी गोलमा परिणत भयो। रिचार्ड विल्सन, जन्मदेव धामी र मिचेल मगरको प्रहार खेर गएको थियो। चौविसौँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी टोलीले सहभागिता जनाएका छन्।

प्रतियोगिताको विजेताले रु १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले रु ६ लाखसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउनेछन्। यस्तै ‘फेएर प्ले’को रूपमा एउटा टोलीलाई पुरस्कृत गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीेले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *