अमेरिकाको ओहियोमा नेपाली–भुटानीको हत्यापछि नेपालीभाषी समुदाय शोकमा
![अमेरिकाको ओहियोमा नेपाली–भुटानीको हत्यापछि नेपालीभाषी समुदाय शोकमा](https://www.dcnepal.com/wp-content/uploads/2025/02/893fad31-3fc9-450b-af05-b791806ae8cc_1920x1080.jpg)
काठमाडौं । अमेरिकाको ओहियो राज्यको न्यू अल्बानीमा एक गोदाममा भएको अन्धाधुन्ध गोली प्रहारको घटनामा नेपाली भुटानी समुदायका शेखर चापागाईको हत्या भएपछि त्यहाँको नेपालीभाषी समुदाय शोकमा छ ।
गोदाममा काम गर्ने शेखरको गोदामभित्रै भएको धन्धाधुन्ध गोली प्रहारमा मृत्यु भएको थियो । गोली प्रहारमा शेखरसहित अन्य एकको पनि मृत्यु भएको अमेरिकी मिडियाले जनाएका छन् । गोली प्रहारबाट घाइते भएका अन्य ४ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
चापागाई नेपालीभाषी भुटानी शरणार्थीका सन्तान थिए । उनी झापाको गोलधाप शरणार्थी शिविरमा भुटानी शरणार्थी परिवारमा जन्मिएका थिए । चापागाई सन् २००९ मा अमेरिका गएका थिए । सुरुमा परिवारसहित अमेरिकाको कोलोराडो गएका उनी सन् २०१६ देखि ओहियोको कोलम्बसमा बस्दै आएका थिए ।
अमेरिकाको रेनोल्ड्सबर्ग सिटी काउन्सिलम्यान भुवन प्याकुरेलले त्यहाँको नेपालीभाषी समुदाय पीडित परिवारको साथमा रहेको बताए । उनका अनुसार घटना भएको गोदाममा धेरै नेपाली भुटानीहरुले काम गर्छन् । राम्रो कामको अवसरको खोजीमा अमेरिका आएका चापागाईको हत्याले उनको परिवारमा अपुरणीय क्षति पुगेको प्याकुरेलले बताए ।
शेखर ५ वर्षकी छोरीका पिता हुन् । अहिले उनकी श्रीमती गर्भवती छिन् र केही हप्तामै उनको अर्को सन्तानको जन्म हुँदैछ । पीडित परिवारको सहयोगको लागि कोष संकलन गर्न नेपालीभाषी समुदायले गोफण्डमी पेज पनि संचालन गरेका छन् । यो समाचार लेख्दासम्म त्यहाँ १६ हजार ७ सय डलर संकलन भएको छ ।
Facebook Comment