मन्दिरमा नांगा मूर्ति किन ?

हरिप्रसाद सोडारी
२८ माघ २०८१ ७:३३

मठमन्दिरले मनलाई प्रसन्न, भावलाई आनन्दित, कर्मलाई पवित्र बनाउँछ। मन्दिर भारी बिसाउने, पीडा पखाल्ने, आशीर्वाद लिने, मनोबल बढाउने, देवीदेवतालाई सजिलै भेट्ने स्थान हो।

देवीदेवता बस्ने, संस्कार सिक्ने ठाउँ भएकाले मन्दिरमा असभ्य, अभद्र, अश्लील दृश्य देखिनुहुँदैन। मूर्ति र मन्दिरलाई आध्यात्मिक आँखाले, ज्ञानका चक्षुले, वास्तुका नयनले, शास्त्रका नजरले, परम्पराका दृष्टिले, रहस्यका सोचले हेर्नुपर्छ।

देवीदेवता र शास्त्रलाई नबुझ्दा मन्दिरका ढोका, झ्याल, भित्ता, टुँडाल आदिका चित्रहरू अश्लिल लाग्न सक्छन्। वत्सलेश्वरी, मैतीदेवीमन्दिर, काभ्रेजिल्लास्थित चण्डेश्वरी, उग्रचण्डी र पलाञ्चोकभगवती, दोलखाभीमेश्वरमन्दिरको छानाका चारकुनाको टुप्पामा रहेका चराले तलतिर हेरेका, उड्न वा केही टिप्न लागेझैँ देखिन्छन्।

ती चराहरू काग, मयुर, चील, बाज, भाले आदि स्वरूपका छन्। कागको सम्बन्ध यमराज र चेतनाको सञ्चार, मयुरको कामवासनामाथिको विजय वा कुमारीदेवी, चीलको एकाग्रता र दूरदृष्टि, बाजको तन्त्र र शक्ति, भाले समयको सूचक र कामवासनासँग सम्बन्धित छन्।

यी पंक्षीहरूले सिद्धि दिने, समस्या र दुष्भावलाई भगाउने, दैवी ऊर्जा लिने, साक्षात्कार गर्नेलगायतका विधिहरूलाई बताइरहेका छन्। आकाशगामी देवीदेवता, तुरुन्त सिद्धि दिने, गुप्त साधना गर्नुपर्ने, उड्ने मन्दिर, तान्त्रिक मूर्ति राखिएमा यस्तो बनाइन्छन्।

नल र दमयन्तीको विवाह राजहाँसले गराएका थिए। वैदिक धर्म एवं समाजमा कागभुसुण्डी, गरुड, सम्पाति, जटायुलगायतका पंक्षीहरूको योगदान ऋषिमुनि एवं महावीरहरूको भन्दा कम छैन।

कैयौँ पंक्षीहरू साधना कालमा साथमा रहनु, कराउनु, देखिनुलाई शुभ मानिन्छ। झण्डा, सरकारी कार्यालय, जहाज आदिमा चिल वा बाज राखेका राष्ट्रहरूको नाम र वैभव उच्च छ।

चील वा बाजको फोटो घर, कार्यालयमा राख्दा आर्थिक अभाव, मानसिक तनाव, ग्रहको पीडा, रोगको प्रभाव, बाहिरी आक्रमण आदि हट्छ। सेतापरेवाका जोडी मन्दिरमा उडाउँदा या चील, लाटोकोसेरो, गिद्ध आदिको फोटो कोठाको नैऋत्यकोणमा राख्दा शान्ति, सम्पत्ति र सन्तान प्राप्त हुन्छ।

अलौकिक शक्ति भएका मन्दिरका छानामा चरा, नाग एवं टुँडालहरूमा वायुपंखी घोडा, देवीदेवता, युग, ऋषिमुनि आदि राखिन्छ। मूर्तिको दर्शन गर्नु पहिलो छाना र टुँडालका संरचना, ढोका र गर्भगृहको स्वरूप, वाहनको बसाई, क्षेत्रपालको अवस्थिति आदिमा ध्यान दिनुपर्छ। पशुपतिमन्दिरको टुँडालमा चारयुग, पाँच पाण्डव, पादुका, विभिन्न देवीदेवता आदि राखेर मन्त्र, तन्त्र, यन्त्र, वास्तु, कला, इतिहास, सभ्यता आदिको भण्डारस्थल बनाइयो।

रामायणका अनुसार रावण, विभीषण हनूमान्, सुग्रीव, बालि आदि आकाशमार्गबाट हिँड्थे। तन्त्रका साधक खेचर (आकाशमा हिँड्ने) पनि हुन्छन्। टुँडालमा वायुपंखी घोडा, छानामा चरा र नाग, छाना नभएका मन्दिरका देवीदेवता आकाशगामी हुन् सक्छन्।

विष्णुले घोडाको स्वरूप लिएर हयग्रीव राक्षसलाई मार्नुभयो। हयग्रीवोपनिषद्समेत उपलब्ध छ। घोडालाई युद्ध, अश्वमेध यज्ञ आदिमा प्रयोग गरिन्थ्यो। घोडा उभिएर निदाउने, दैवीविपत्ति थाहा पाउने, तन्त्रसाधनामा सहयोग गर्ने जनावर हो। टुँडालमा राखिएका वायुपंखी घोडाले मनलाई नियन्त्रण गरी ऊध्र्वरेता हुन प्रेरित गर्छ।

ऋषिका वंशजले सन्तान जन्माउनबाहेकको रेतलाई सत्कर्म गर्न संरक्षण गर्नुपर्छ। मन्दिरका मूर्ति वा टुँडालमा रहेका पुरुषाकृतिमा ऊध्र्वलिङ्क देखिन्छ जसले ब्रह्मचर्य, योग, मुक्तिको महत्व बताइरहेको छ।

एकमुखे रुद्राक्ष, नागमणि, वनझाँक्रीको हड्डी, सिद्धको लौरो, गौलोचन, चिन्तामणिजस्ता दुर्लभ सामग्री साथमा राखी साधना गर्दा अनेकौँ सिद्धि मिल्छ। साधनाद्वारा शान्ति, शक्ति र मोक्ष प्राप्त हुन्छ।

पृथ्वीनारायण शाहका पालासम्म तन्त्रसाधकहरूले युद्ध, सामाजिक सद्भाव, देवीदेवताको दर्शन, शास्त्र अध्ययनलगायतका क्षेत्रमा अहम् भूमिका खेले। पशुपतिलाई पशुपतिभट्टारक अर्थात् सम्पूर्ण देवीदेवताका मालिक भनिन्छ।

पशुपतिमन्दिरमा देखिने नग्न काष्ठकलाले कामकला होइन ईश्वरको छटा, योगको रहस्य, तन्त्रको शक्ति, वास्तुको बल, साधनाको ऊर्जालाई बताइरहेका छन्। गोरखाको उपल्लोकोटमा रहेका भैरवमा अद्भूत शक्ति भएकाले बज्रभैरवभट्टारक भनिन्छ।

नेपाल एकीकरणको समयमा यहीँ साधना गरी गोरखाराज्यले शक्ति, सेना, शास्त्र र गोप्य सूचना प्राप्त गरे। गोरखाको हनूमान्भञ्जयाङनजिकै तन्त्रशक्तिद्वारा खनिएको कुवा थियो जहाँको पानी पिउँदा सैनिकमा तुरुन्तै शारीरिक शक्ति आउँथ्यो।

गोरखाको माटोमा मन्त्र, तन्त्र र यन्त्रको अनुपम शक्ति, संस्कार एवं शिक्षा छ। यसलाई बुझ्न यसकै भाषा, यसकै शरीर, यसकै मन, यसकै मुटु, यसकै रगत, यसकै शैली हुनुपर्छ।

कतिपय मन्दिरमा कामकलाका उन्मत्त र अश्लीलस्वरूपका टुँडाल राखिन्छन्। यस्ता मन्दिरमा पूजा गर्दा सृजनशिलता, मुक्ति, आनन्द, शान्ति, सिद्धि आदिको प्राप्ति हुन्छ। नग्न स्त्रीका तस्विरमा कसिला स्तन देखिन्छन् जसले ऊर्जा, उब्जाउ र प्राणसञ्चारलाई बताउँछ।

आमा करुणाकी खानी हुन्, ऊर्जाकी केन्द्र हुन्, ममताकी भण्डार हुन्, मार्ग देखाउने ज्योति हुन्। उनीकै दूधले जीवन बाँच्छ, उनकै काखबाट पैतृक विरासत् एवं आशीर्वाद हस्तान्तरण हुन्छ। पृथ्वीको ऊर्जालाई बताउने हुँदा मूर्तिका देवीहरूको स्तन झोलिएका हुँदैनन्।

यस्ता मूर्तिले ब्रह्मचर्यको महत्व, स्त्रीको कर्तव्य, सक्षम स्त्रीको स्वरूपलाई बताउँछ र अनेकौँ सिद्धि प्राप्त गर्न सक्छन्। मन्त्र र मूर्तिको सहयोग लिई जापानको हिरोसिमा एवं नागासाकीलाई ऊर्बर बनाउन प्रातःस्मरणीय योगीराज नरहरिनाथजीले यज्ञ गर्न खोज्दा भाँड्ने काम भयो।

उमामहेश्वरको मूर्तिमा (चित्र २३) महादेवको बायाँ काखमा बसेकी पार्वतीको काँधमा हात राखी दाम्पत्य सुख, पेटनिर राखी सांसारिक सुख, स्तनमाथि राखी योग र आनन्द, शिरमा राखी आशीर्वाद, तिघ्रामा हात राखी प्रसन्नता र शान्तिको ऊर्जा प्रवाह गरिरहेका छन्।

टुँडालका नग्न चित्रले चट्याङ पर्न दिँदैन, कामवासना जगाउँछ भन्नु भावनात्मक पक्ष हुन्। यिनीहरूले मन्दिरभित्र गलत तŒवलाई प्रवेश दिँदैनन्, शुद्धीकरण गराउँछ, दैवी शक्तिलाई संरक्षण गर्छ।

जस्तै त्रिपुरासुन्दरीको यन्त्रलाई नाग, प्रेत, भूत वा अन्य तान्त्रिक शक्ति भएका साधकले सजिलै लैजान सक्छन्। पशुपतिमाथि हुने अदृश्य आक्रमण रोक्न, शिवत्व जगाउन, ऊर्जालाई सदुपयोग गर्न यस्ता टुँडालहरू शास्त्र, तन्त्रविज्ञान, परम्परा, वास्तुका आधारमा निर्माण गरिएका हुन्।

मन्दिरका हरेक ढोकाको दायाँ र बायाँतर्फको भित्तामा भैरव, मातृकादेवी, मशान राखिन्छ। मातृकाको वाहन, भैरवको आसनलाई नबुझी व्याख्या गर्दा मठमन्दिरको बनावट अश्लीलजस्ता लाग्न सक्छ।

वर, पिपल, खरी, चाँपसहितका फलफूलका फेदमा राखिएको मूर्तिले ब्रम्हाण्डको ऊर्जा दिलाउँछ, साधकलाई सम्बन्धित देवीदेवतासँग साक्षात्कार गराउँछ। सिमललाई भूत बस्ने रुख, बेललाई लक्ष्मी, पिपललाई विष्णु, खरीलाई कुमारीदेवी र वरलाई महादेवको स्वरूप मानिन्छ।

औषधीय गुण, शक्ति तान्ने, अक्सिजन दिने, समस्या निराकरण गर्ने क्षमता भएका विरुवाका फेदमा देवीदेवताका मूर्ति राख्ने, साधना गर्ने, शास्त्र पढ्ने विधिहरू छन्। तान्त्रिक देवीदेवताको मूर्तिलाई विशेष वृक्षको फेद, गुफा, जलाशयभित्र राखिन्छ।

काठमाडौँका अधिकांश पञ्चकुमारीका मूर्तिहरू खरीको रुखमुनि थिए। तुलसीको मठ एवं पारिजातको फेदमा शालग्राम राखेर पूजा गर्दछन्। केही रुख, ढुड्डा, पहाड, नदी, फल, धातु, रत्न आदिमा देवीदेवताको अदृश्य शक्ति रहन्छ, अनेक आकृतिहरू बन्छन्। यसैले कुण्डमा नुहाउने, वनस्पतिहरूलाई ढोग्ने, फूल र पातको माला लगाउने गरिन्छ।

तोषणं जगदम्बाया रमणं शिवशक्तयोः।
नन्दनन्तु गणानाश्च तोरणमुच्यते बुधैः।।-क्रमचिन्तामणितन्त्र

अर्थात् “जगम्बालाई खुसी बनाउने, शिवशक्तिलाई रमाउने, गणहरूलाई प्रसन्न गराउनेलाई विद्वान्हरूले तोरण भन्छन्।” देवालय, घर वा भूमिको ऊर्जा बढाउन, सुरक्षा गर्न, शुद्ध गराउन तोरण राखिन्छ।

मन्दिरको उत्तर वा पूर्वतर्फ मण्डपको स्थापना गरी तोरण राखेर चार ढोका बनाउनुपर्छ। देवी र तान्त्रिक मन्दिरहरूमा तोरण टाँगिन्छ। तोरणलाई पर्व वा तिथिविशेषमा टाँगिन्छ। गाईतिहारको दिन घरमा तोरण टाँगेर सुख, शान्ति र सुरक्षाको कामना गरिन्छ।

बाबियो वा कुशको डोरीमा आँप, पीपल, पाती, भलायो, शमी आदि उनिएको तोरणलाई नदी, तीर्थस्थल, घाट आदिमाथि टाँगेर अनेक लाभ लिन्छन्। मन्दिरको ढोकामाथि राखिएको तोरणबाट मूलदेवतासहित साधनाका रहस्यहरू बुझिन्छ।

तान्त्रिक र ऊर्जाशील मन्दिरका ढोकामा भैरव, मशान, नाग, पर्वत आदि राखिएका हुन्छन्। देवीमन्दिरको ढोकाको फेदमा दायाँतर्फ कंकाल र बायाँतर्फ ख्याक राखिन्छ। ख्याकले खुट्टाद्वारा गुप्ताङ छोपेको हुन्छ। यो नग्नता होइन तन्त्रको रहस्यात्मक ऊर्जा र चेतना हो।

नेपालका शिवालयदेखि श्रीयन्त्रसम्ममा मशानको प्रयोग हुन्छ। मशानलाई डराउने, तर्साउने अदृश्य शक्तिका रूपमा बुझ्नु गलत हो। यसलाई समुचित रूपमा प्रयोग गर्न सके अनेक लाभ लिन सकिन्छ।

चिता, मुण्डमाला आदिका रूपमा मशानलाई मन्दिरमा राखिएको हुन्छ। मुख्यतः चण्डोग्र, लक्ष्मीवन, करङ्कभिषण, घोरान्धकार, ज्वालाङकुल, किलिकिलारव, गह्वर, अट्टहास गरी आठ मशानलाई शिवालय वा देवीका मन्दिरहरूमा राखिन्छन्।

यिनीहरूका काग, सर्प, कुकुर, श्याल, घोडा, सिंह, गिद्ध, सुँगुर वाहन हुन्छन्। तन्त्र परम्परामा बाँदरमुख आसन भएमा सिद्धिकाली, गरुडमुखले चण्डकपालिनी, घोडामुखले कालचक्रेश्वरी, श्यालमुख भएमा महाडामरीलाई बुझाउँछ।

तन्त्रले ब्रम्ह्रा, विष्णु, रुद्र, ईश्वर र सदाशिवलाई पञ्चप्रेतको रूपमा लिएको छ। तन्त्र, साधना, पूजा विधि आदिलाई नबुझ्दा मन्दिर र मूर्तिले हामीलाई तर्साएको, टुँडालहरू नग्नताले भरिएको, मूर्तिहरू असभ्यताले पोतिएको, मन्दिरहरू कामुकताले सजिएको देखियो।

धेरै हात वा टाउका भएका, शिर नभएका, खुल्ला ठाउँमा राखिएका, हतियार लिएका, तान्त्रिक विधिले पूजा गर्ने स्थानमा राखिएका मूर्तिको ऊर्जाले अनेक लाभ दिन्छन्। नेपालका सरस्वती र लक्ष्मीका हातमा खड्ग छन्।

यी पक्षलाई शास्त्रीय दृष्टि र आध्यात्मिक सोचले नहेरी बुझिँदैन। यसकारण टुँगालले नग्नता होइन दैवी ऊर्जा, मूर्तिको शक्ति, साधनाको विधि, परमात्माको अनुकम्पालाई बताएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *