दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै गर्न संसदीय समितिको निर्देशन
काठमाडाैं। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा नै गर्न सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले कर्णाली प्रदेशमा आगामी चैत्र २३ गतेदेखि हुने राष्ट्रिय खेलकुद तोकिएको मितिमा नै गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो। समितिका सभापति अम्मर बहादुर थापाले तोकिएको समयमा खेलकुद सञ्चालन गर्ने अवस्था बनाउन मन्त्रालयलाई निर्देशन दिए। प्रतियोगिता सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार फास्ट ट्र्याकबाट बनाउन उनले निर्देश गरे।
बैठकमा खेलकुद मन्त्री तेजुलाल चौधरीले ऐन कानूनको समस्याका कारण समयमा नै पूर्वाधार लगायतको तयारी गर्न नसकेको बताए। फाल्गुनमा नै राष्ट्रिय खेलकुद सम्पन्न गर्ने भनिएपनि विविध कारण चैत्रमा सार्नुपरेको उनले बताए। उनले मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच समन्वयन हुन नसकेको गुनासो गरे।
बैठकमा समिति सदस्यहरुले खेलकुद निकायबीच समन्वयन गरेर समयमा नै प्रतियोगीता सम्पन्न गर्न सरकारलाई सुझाव दिएका थिए। आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा समितिले युवा तथा खेलकुद मन्त्रालयसँग छलफल गरेको हो।
Facebook Comment