कालजयी सिर्जनाको जीवन्त नमुना ऋषि बस्ताकोटीको “चेरी फुल्दा परदेशमा”

नारायण भट्टराई
२६ माघ २०८१ ८:५२

सामान्यतया मलाई नयाँ गीतहरूले छुदैनन्। अथवा भनौँ सुनिसके पछि प्रभाव छोड्ने गीतहरू कमै पाएको छु मैले। त्यस्ता कमै गीतहरू जसले मलाई पहिलो पटक सुन्दै छोएका छन् र अहिले सम्म छोडेका छैनन् ती मध्ये पछिल्लो गीत हो ऋषि बस्ताकोटीको गजल “चेरी फुल्दा परदेशमा”।

निशा देसारको स्वर र गैरे सुरेशको संगीत रहेको यो गजलले मलाई छुनुमा विशेष कारण छ। यो गजल सुनेपछि मलाई लाग्यो गीतकार ऋषि बस्ताकोटीले यो गजल मेरै लागि लेखेका रहेछन्।

गीतले श्रोतामा गहिरो प्रभाव छोड्न उक्त गीतको कुन पक्ष बलियो हुनु पर्छ? यस प्रश्नको उत्तर एउटै पक्कै आउँदैन। तर संसारमा कालजयी भएका गीत, कविता, नाटक, कथा र उपन्यासलाई केलाएर हेर्ने हो भने हामीले एउटा उत्तर पाउन सक्छौं।

विलियम सेक्सपियरले सोह्राैं शताब्दीमा लेखेको ह्याम्लेट नामक नाटकको एउटा लाइन छ “to be or not to be, that is the question” यो मनोवाद उक्त नाटकका मुख्य पात्र ह्याम्लेटले बोलेका हुन् जहाँ उनी जीवन र मृत्युको बारेमा सोचिरहेका छन्।

खास गरी उनी आफैंलाई प्रश्न गर्दै छन् कि जीवनका समस्याहरू सहन गरेर अघि बढ्नु राम्रो हो कि जीवनलाई समाप्त गर्नु राम्रो हो। त्यो एउटा दुबिधा हो जुन ह्याम्लेसियन डिलेमा को नामले संसार भर प्रख्यात छ। यो प्रत्येक मानव जीवनमा सधैँ आइपर्ने निर्णय गर्न अप्ठ्यारो रोजाइ हो।

जीवनमा सधैँ द्विविधाहरू हुन्छन् र तिनको निरोधन गर्ने उपाय आधुनिक विज्ञानले पनि पत्ता लगाउन सकेको छैन बरु प्रविधिको युगले त झन् मानिसहरूका माझ धेरै छान्नु पर्ने बाध्यताहरू थपिदिएको छ। त्यसैले त ह्याम्लेटले बोलेको यो लाइन कालजयी छ किनकी यो मानव जीवनको दोहोरिरहने वास्तविकता हो।

त्यस्ता कालजयी कृतिको कुरा गर्दा नेपाली साहित्यमा पनि प्रशस्तै उदाहरणहरू पाउन सकिन्छ। जस्तो कि लक्ष्मीप्रसाद देवकोटाको “मुना मदन” । मुना र मदनको प्रेम र बिछोडको कथा कहिले टुङ्गिएला र!

आज पनि हामीसँग बिछोडिएका मुना र मदन अनि परदेशी छोरो कहिले फर्केला भनेर पर्खिरहेकी बुढी आमाहरु जता ततै छन्। हामीसंग गौरीका कथा छन् अनि राई माइलाका गीत छन् जुन कहिलै सकिने वा आउटडेटेड हुने छैनन्।

ती साहित्यिक कृतिहरु मानव सभ्यताको जीवन्त दस्तावेजको रुपमा रहिरहने छन्। कहिल्यै हराउने छैनन्। हो, त्यस्तै कालजयी कृतिहरु मध्ये एक हो ऋषि बस्ताकोटीको गीत “चेरी फुल्दा परदेशमा”

“चेरी फुल्दा परदेशमा गाउँ सम्झियौ कि

नासपाती र आरु फुल्ने ठाउँ सम्झियौ कि !”

यो गजलले बिदेशिएका नेपालीको पिडा बोलेको छ। आफु जन्मिएको गाउँ ठाउँ छोडेर परदेश गएर उतैको बासिन्दा हुँदा कस्तो हुन्छ त्यो बेहोर्नेले मात्र महसुस गर्न सक्ने कुरा हो। ऋषि बस्ताकोटीले यो गजल २०१० सालतिर लेखेका हुन् जति बेला उनी क्यानाडामा आप्रबासीको रुपमा छिरेका थिए।

त्यस दसक यता लाखौँ नेपालीले देश छोडिसकेका छन्। तर उनीहरुले छोडेको देश बिर्सिएका छैनन् र बिर्सने पनि छैनन्। हुन सक्छ पुस्तान्तरणले गर्दा दोस्रो वा तेस्रो पुस्ताले पहिलो पुस्ताले जति धेरै सम्झन सक्दैनन् होला तर फेरि पनि अबको युगमा एक देश छोडेर अर्को देशमा बसाई जाने कुरा रोकिने छैन बरु यो त अझ बढ्ने छ।

त्यसको मतलव आगामी दिनहरुमा झन् धेरै नेपालीहरु विदेशिने छन्। देशमा सुब्यबस्था आयो। देशले फड्को मारेर बिकसित भयो भने पनि त मान्छेको मन त एकै ठाउँमा बाँधिएर बस्दैन। मानिसले परिवर्नत सधैं खोजिरहेको हुन्छ।

विदेशिने क्रम रोकिने भन्ने हुँदैन। तर विदेश जाँदैमा उसले आफ्नो मातृभूमिलाई बिर्सन सक्दैन किनकी बिदेशमा फुलेका चेरीले स्वदेशका आरु र नासपाती फुल्ने ठाउँ सम्झाइरहन्छन्। अब भन्नुस् बस्ताकोटीको यो सेरले कहिले प्रासंगिकता गुमाउला

देश छोडेर बिदेसिएको मान्छेले नयाँ परिचय पाउँछ। ऊ भौतिक रुपमा परिवर्नत हुन्छ। उसको लवाइ खवाइ , बोली र व्यवहारमा पनि परिवर्तन हुन सक्छ। उसको क्षितिज परिवर्तन हुन सक्छ। बिदेशिएपछि ऊ एउटा मझधारको मान्छे बन्न पुग्छ।

उ बिदेशी जीवन शैलीमा अभ्यस्त हुदै गएपछि उसका रोजाइ र सोचाइहरु फरक हुन सक्छन्। तर मन त उस्तै हुन्छ नि। सम्झनाहरु त हराउँदैनन्। उसलाई सबै बिदेशका कुराहरु राम्रा लागेका हुदैनन्।सुख र सुविधा पनि बिस्तारै बानी परेपछि सामान्य लाग्न थाल्छन्।

जीवनमा पहिलो पटक बिरलै कल्पना गरेको गाडी किनेर आफैंले कुदाउँदा जुन आनन्द आएको हुन्छ त्यहि आनन्द त्यो गाडीले ल्याउने व्यय भारको महसुस भएपछि पासो जस्तो हुन पुग्छ। भौतिक खुशीहरुले जीवनलाई सहज बनाउला तर जीवनलाई सरल बनाउँदैन।

त्यति बेला आफ्ना मनका पिडा र कुण्ठा बिसाउने चौतारीको खोजी हुन्छ। एउटा विदेशीलाई स्वदेशको सम्झना भनेको त्यही अभिव्यक्त गर्न नसकिरहेको कुण्ठा बिसाउने चौतारी हो।

ती सम्झनाहरु सँगालेर त्यो बिदेशी स्वदेशमा हुर्के बढेको घर, हिडेको बाटो अनि हुर्कँदै गर्दा खेलेका साथीहरुसँग एकाकार हुन चाहन्छ। बिरलै पाइने फुर्सदको समयमा सम्झनाका ती साथीहरुसगँ बहकिन चाहन्छ। त्यसको लागि ऊ स्वदेशसम्म आफुलाई जोडिदिने साँघुको खोजीमा रहेको हुन्छ। ऋषि बस्ताकोटीको गजल ” परदेशमा चेरी फुल्दा गाउँ सम्झियौ कि” त्यस्तै मझ्दारका मानिसहरुले खोजिरहेको एउटा पुल हो।

“गाढा हुन्छ भन्छन् माया, टाढा भए पछि

मनभित्रकी मायालुको नाउँ सम्झियौ कि!”

बस्ताकोटीको यो सेरले स्कटिस कवि रोबर्ट बर्न्सले लेखेको ” अ रेड, रेड रोज” भन्ने कविताको सम्झना दिलाउँछ जहाँ कविले लेखेका छन् भौतिक दुरताले मायालाई झन् प्रगाढ बनाउँछ। ऋषिको त्यो सेरमा सम्झनासँग गाँसिएको मायाको अभिव्यक्ति छ जुन प्रत्यक प्रवासीको वास्तविकता हो।

तपाईं अरवमा हुनुस् या अमेरिका, तपाईं कामको बोझले थाक्नुस् या चिल्ला सडकमा मर्सिडिज गाडी हाक्नुस्, तपाईकी मनकी मायाले तपाइंको साथ छोडेकी हुन्नन्। अनि कहिलै छोड्ने पनि छैनन्।

भनिन्छ कहिले काहीं दुख पनि मिठो हुन्छ। थाहा छ कहिले ? जब तपाईं आफ्नो मनको मान्छेबाट टाढा पुग्नुहुन्छ अनि उसलाई सम्झेर गाउनु हुन्छ -“गाढा हुन्छ भन्छन् माया, टाढा भए पछि/ मनभित्रकी मायालुको नाउँ सम्झियौ कि!” हेर्नुस् यो दुखद सम्झना भित्रको सुखद अनुभुति अनि सुखद अनुभुतिभित्रको दुखद सम्झना। हाम्रो जीवनबाट यो विरोधाभास कहिले हराउला र !

यो गीतले समेटेको अर्को बिर्सनै नसकिने पक्ष भनेको विदेशिनेले बोकेर ल्याउने विवशता हो। मुख्य त मान्छे दुई तरिकाले बिदेशिएका छन् – एक आफ्नो रहरले अनि अर्को बाध्यताले। सपनाले डोर्याएर विदेशिने हुन् या मजबुरीले विदेशिने, सबैले महसुस गर्ने यथार्थ एउटै हुन्छ।

त्यो हो जीवन सोचे जस्तो हुदैन। सबै भनिएका कुराहरु तथ्य हुदैनन्। सबै सुनेका कुराहरु सत्य हुदैनन्। अनि विदेशिने कारणहरु पनि एउटै हुदैनन्। ती विविध कारणले विदेशिएका मानिसहरु जव सामान्य अवस्थामा हुन्छन् उनीहरुभित्र निहित सम्झनाका ज्वारभाटाहरु पनि गौड हुन्छन्।

तर जब अस्वभाविक अवस्थाहरु आउँछन् जस्तो कि अलास्काको चिसो अनि अरवको तातो, तव सम्झनाहरु एकाएक भड्किन थाल्छन्। सायद त्यसै भएर होला यो गीत सुनेर अलास्का निवासी अन्जु धेरै पटक रोएकी अनि यो गीत बजाउने रेडियो हिमालयका बुद्धि बिश्वकर्माको सहयोगमा गीतकार ऋषि बस्ताकोटीसँग सम्पर्क गरेरे मनको भावना पोखेकी।

सायद त्यहि भएर होला यो गीतलाई बि एफ बि एस गोर्खा रेडियोले रास्ट्रिय गान जस्तो गरी निरन्तर बजाएको अनि अरवका नेपाली मनहरुलाई सम्झनामा दुबाउँदै रुवाएको।

अन्त्यमा, पेसाले बैज्ञानिक सर्जक ऋषि बस्ताकोटी समकालीन नेपाली साहित्यका एक ससक्त हस्ताक्षर हुन्। उनको लेखाइ जति गहन छ उनी त्यति नै नरम र मिजासिला छन्। उनको लागि सिर्जना एउटा पिलो हो जुन पाकेर फुटाउनु पर्ने छ।

उनले कलम चलाउने जुन सुकै विधामा पनि उनको उपस्थिति सशक्त छ। विद्युतिय झट्का प्रवाह गर्न सक्ने मुक्तक हुन् या हृदय पगाल्ने कविता वा गीत हुन् उनको कलमले निचोरेका सिर्जनाका पिलाहरुले नेपाली साहित्यलाई सम्पन्न बनाइरहेका छन् र बनाइरहने छन्। ” चेरी फुल्दा केरीमा ऋषि, गाउँ सम्झियौ कि, बुनेको हरियो पहाड देख्दा जन्मेको ठाउँ सम्झियौ कि ?”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *