‘खेलकुदको माध्यमबाट धरानले आफ्नो इतिहास रचेको छ’

डिसी नेपाल
२६ माघ २०८१ २१:४८

धरान (सुनसरी)। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको माध्यमबाट धरानले आफ्नो इतिहास रच्न सफल भएको बताए। आज धरान उपमहानगरपालिका–१६ स्थित रंगशालामा सम्पन्न २५औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको समापन गर्दै उनले धरान सांस्कृतिक पर्यटनक्षेत्रदेखि खेलकुदको महत्वपूर्ण ‘हब’का रूपमा स्थापित भएको बताए।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २५ वर्षसम्म निरन्तर प्रतियोगिता सञ्चालन गरेर नेपाली फुटबलको क्षेत्रमा नयाँ पहिचान स्थापित गरिएको उल्लेख गरे। ‘धरानको भविष्य खेलकुद र पर्यटन विकासमा उज्ज्वल छ। यहाँहरूले निरन्तर प्रतियोगिता आयोजना गरेर यसमा धेरै ठूलो योगदान गर्नुभएको छ। प्रदेश सरकारले धरानलाई पर्यटन र खेलकुदको केन्द्र बनाउन आवश्यक योजना तथा बजेटको व्यवस्था गर्नेछ’, उनले भने, ‘धरानलाई सबै मिलेर समृद्ध र सबै क्षेत्रमा उत्कृष्ट नमूना नगरका रूपमा विकास गर्नुपर्ने आजको आवश्यकता छ। यहाँको विकास र समृद्धिका निम्ति प्रदेश सरकार सधैँ साथमा छ।’

धरानमा खानेपानीको उपलब्धताका लागि प्रदेश सरकारले वार्षिक रूपमा भूमिगत पानीका लागि आवश्यक बजेट विनियोजन गर्दै आएको र अब अन्य योजना अगाडि बढाउने तयारी गरिरहेको मुख्यमन्त्री कार्कीको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *