देशमै भविष्य रहेको सन्देश प्रवाह गर्दै सकियो ह्वाइट हाउस लिटरेचर फेस्टिभल
![देशमै भविष्य रहेको सन्देश प्रवाह गर्दै सकियो ह्वाइट हाउस लिटरेचर फेस्टिभल](https://www.dcnepal.com/wp-content/uploads/2025/02/DSC_2090.jpg)
काठमाडौं । दुई दिनसम्म चलेको ह्वाइट हाउस लिटरेचर फेस्टिभल विविध कार्यक्रमका साथ सकिएको छ। विभिन्न सेसनका साथ आयोजित कार्यक्रम शुक्रबार समापन भएको हो।
शुक्रबारको सेसनमा पनि विभिन्न वक्ताहरूले आफ्नो धारणा राखेका थिए। कार्यक्रममा नायिका रेखा थापाले पर्दामा देखिनु मात्र हिरोइजम नहुने बताएकी छन्।
‘पर्दामा देखिनु मात्र हिरोइजम होइन। हिरोले समाजमा आशा लेखाउँछ। हिरोले समाजिक रुपमान्तरणमा कति काम गर्यो भन्ने पनि हेरिनुपर्छ,’ उनले भनिन्। हिरो कुनै समयको नभएर सधैँका लागि हुने र त्यो योगदानले मात्र सम्भव भएको उनले बताइन्।
उनले पुरुष प्रधान फिल्म बनिरहेको अवस्थामा आफूले हिम्मत गरेर आफैँ चलचित्र निर्माण गर्ने हिम्मत जुटाएको बताएकी छन्।
नायिका थापाले अहिलेको समय फिल्ममा व्यक्ति नभइ कथा हिरो भइरहेको बताएकी छन्। ‘पहिले लिड रोलमा काम गर्नेलाई मात्रै हिरो भनिन्थ्यो। अहिले परिभाषा बदलिएको छ। अहिले चरित्र हो, यो कथा हिरो भइरहेको समय हो। अब हिरो हिरोइन विस्तापित भएको जस्तो लाग्छ,’ उनले भनिन्।
पछिल्लो समय समाजको हिरोलाई हेर्ने दृष्टिकोण फरक भएको उनले बताइन्।
भूकम्पको समयमा आफू डराउँदा मानिसले हिरोलाई पनि डर लाग्छ र भनेर प्रश्न गर्दा यस्तो परिस्थितिमा पनि आफूहरूले जोगिएर संरक्षणात्मक भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन्।
थापाले पछिल्लो समय नेपाली फिल्म हेर्ने पुस्ता घट्दै गएको बताइन्। उनले नेपाली फिल्मलाई माया गर्न आग्रहसमेत गरेकी छन्। उनले नयाँ पुस्तालाई संरक्षण गर्न आग्रहसमेत गरेकी छन्।
यस्तै नायक नाजिर हुसेनले सामान्य मान्छेमा सहयोगी भाव भए समाजका लागि त्यो नै हिरो हुने बताएका छन्। ‘बाटो काट्दै गरेकी वृद्ध आमालाई बाटो काट्न सघाउने मानिस नै उहाँका लागि हिरो हो। त्यसैले कलाकारले पनि समाजिक क्षेत्रमा काम गर्नुपर्ने उनले बताए।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवं प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले नेपालमै भविश्य खोज्न बाहिरबाट फर्किने जमात ठूलै रहेको बताएका छन्।
‘बाहिर गएर भविश्य खोज्ने जमात ठूलै छ। यहीबीच नेपाल फर्किनुपर्ने फर्किहरू पनि थुप्रै छन्। यसलाई सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने।
जनतामा विकासको ठूलो अभिष्ट रहेकाले विकासलाई रफ्तारमा अगाडि बढाउनुपर्ने बताएका छन्। विश्वव्यापी परिवर्तनलाई नेपालले पनि आत्मसाथ गर्नुपर्ने उनले बताए। त्यस्तो हुन नसक्दा नेपालबाट ठूलो संख्यामा युवा जनशक्ति पलाएन भइरहेको तर्फ वाग्लेले चिन्ता व्यक्त गरेका छन्।
उनले नेपालमा कर तिर्ने युवा विदेसिने क्रम नरोकिनु सोचनीय विषय भएको बताए। ‘नेपालमा जनसंख्या घट्यो भन्ने चिन्ता होइन, कर तिर्ने युवा विदेसिएको चिन्ता हो। पाँच/दश वर्षमा यो अवस्था कस्तो होला? सोचनीय छ,’ उनले भने।
नेपालमा उद्योगको कारण बढ्न नसक्दा रोजगारका लागि जनशक्ति बाहिर पलाएन हुने क्रम बढेको वाग्लेले बताए। उनले क्लाइमेट चेन्ज भइरहेकोप्रति पनि चिन्ता व्यक्त गरेका छन्। यो विश्वव्यापी चुनौतिको विषय भएकाले सबैले एक साथ समस्या समाधानमा जुट्नुपर्ने बताए।
उनले युवाहरूलाई नेपालमा केमा लगानी गर्दा सफलता हासिल गर्न सकिन्छ भन्नेमा चिन्तनशील हुन आग्रह गरेका छन्। पानी जहाँज, कृषि, पर्यटन, विद्युत्लगायत क्षेत्र लागनीका लागि उपयुक्त क्षेत्र हुन सक्ने वाग्लेले सुझाए। डिजिलाइजेशनमा पनि नेपालले ध्यान दिनुपर्ने उनको भनाइ छ। यस्तो गर्न सकेमा नेपालले समृद्धि हासिल गर्नसक्ने वाग्लेले बताए।
उनले नेपालले क्लाइमेन्ट चेन्ज, युवा पलायनलगायतमा विशेष ध्यान दिनुपर्ने बताए। बाहिर गएका क्षेमतावान् मानिसलाई कसरी स्वदेशा फिर्ता बोलाउने भन्नेमा ध्यान दिन सके समृद्धिमा टेवा पुग्ने वाग्लेले बताए। यसका साथै भारत र चनसँगको सम्बन्धमा पनि नेपालले समानजस्यता कामय गर्न सक्नुपर्ने बताए।
नेपालमा राजनीतिलाई सङ्ल्याउन आवश्यक रहेको समेत औंल्याका छन्। सङ्लो राजनीतिले मात्र समृद्धि हासिल गर्न सकने उनको भनाइ छ। यी सबै कुराको व्यवस्थापनले मात्र मुलुकले समृद्धि हासिल गर्न सक्ने वाग्लेले बताए।
यस्तै उद्यमशील युवाले नेपालमै भविश्य खोज्नुपर्ने बताएका छन्। नेपालमा व्यावसायीक सफलता हासिल गरिरहेका द क्लिप्स बन्जिजम्प व्यवसायी राजु कार्की, माउन्टेन हिस्टारिट्रिक नगरकोटका अध्यक्ष होटल तथा पर्यटन व्यवसायी अर्जुनसिंह ठकुरी र फ्रेन्चाइज क्यू एफएक्स सिनेमाकि प्रबन्धक तृप्ति गिरीले उक्त कुरा बताएका हुन्।
ठकुरीले आफूसँग भएको चिजको सदुपयोग गर्दै उद्यमशीलतालाई अगाडि बढाउनु पर्ने बताए। आफूले १२ रुपैयाँबाट होटल व्यवसायमा लगानी गरेकोमा अहिले ५० करोडभन्दा माथिको लगानी पुगाएको बताए।
उनले नेपालमा व्यवसाय गर्दाका हजारौं समस्या भए पनि त्यसको सामना गर्नुको विकल्प नरहेको धारणा राखे। नेपालमा देशभन्दा व्यक्ति/व्यक्तिका समस्या धेरै रहेको उनको भनाइ छ
‘नेपालमा व्यवसायीक वातावरण छैन। यस्तो अवस्थामा आफूले पनि सहजता बनाउनुपर्छ,’ उनले भने।
यस्तै गिरीले आफूले १० वर्ष विदेशमा बसे पनि अन्तिममा उद्यमशिलताका लागि नेपाल रोजेको बताइन्। आफूले आइटीमा १० वर्ष हंकङ र आठ वर्ष अमेरिका बसेर काम गरेकोमा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ स्वदेश फर्किएको उनले बताइन्।
‘नेपालमा रिसर्चमा धेरै सम्भावना छैन। किन फर्किएको भनेर सोध्नेहरूको ठूलो जमात छ। नेपाल छोडेर विदेश केका लागि जाने भनेर सोच्नुपर्छ। त्यहाँ के अवसर छ भनेर विचार गर्नुपर्छ,’ उनले भनिन्।
गिरीले युवाहरूले उद्यम गर्न सक्नुपर्ने बताएकी छन्। उद्यम गर्न नसके जागिर खान नसकिने उनको भनाइ छ। केही छैन भन्दैमा निराश नहुन उनको सुझाव छ।
यस्तै कार्कीले स्पष्ट योजनाका साथ काम गर्दा सहजै सफलता हासिल गर्न सकिने धारणा राखेका छन्। ‘नेपालमा अरुको सिको गर्ने चलन छ। कुनै एक व्यवसाय सफल हुँदा त्यसैको पछि लाग्छौं। यसले सफल भइदैन। नयाँ भिजनका साथ काम गर्दा नेपालमा धेरै अवसर छ,’ उनले भने।
गन्तव्यमा पुग्नका लागि केही न केही सीपमा अब्बल हुनु पर्ने धारणासमेत उनले राखे। त्यसैले कुनै न कुनै सिपमा अब्बल हुन उनको सुझाव छ।
गायिका एलिना चौहानले आफूलाई धोकेबाज भनेर बोलाउन थालेको बताएकी छन्। कार्यक्रममा आफ्नो प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले धोकेबाज गीत गाउन अनुरोध गर्दा उनले उक्त कुरा बताएकी हुन्।
‘धोकेबाज मलाई भनेको कि गीत? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,’ उनले भनिन्।
दर्शकले धोकेबाज गीत वान्समोरभन्दा धेरैको प्रेममा धोका भएको छ कि भन्दै प्रश्न गरेकी थिइन्। उनले यो पढ्ने बेला भएकाले प्रेममा नपर्न सुझाएकी थिइन्।
यस्तै उनले आफूलाई अहिलेको अवस्थामा धोकेबाज गीत धेरै गाउन मन नभएको बताइन्। ‘भर्खंर भर्खंर ब्रेकअप भएको छ। यस्तो बेला धेरैपटक धोकेबाज गाउनु हुँदैन। मलाई धोकेबाज धेरै गाउने मुड छैन,’ उनले भनिन्। त्यसपछि उनले के माया लाउछ र गीत गाएकी थिइन्।
यसका साथै उनले तिम्रो मायाले बाँधेर राख, धोकेबाज हौं तिमि, कट्टा हान्दिन्छु, रक्सी चुरोट छाड्न पाउन्नौं, दुश्मन हेरेको हेरेई, मिनरल वाटरलगायत आधिदर्जन गीत गाएकी थिइन्।
गायिका चौहानले काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटाविरुद्ध गत शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन्।
यस्तै अहिलेको समय प्रविधिको भएकाले सोही अनुरुप आफूलाई अगाडि बढाउन सक्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। आइटी क्षेत्रका सरोकारवालाले उक्त कुरा बताएका हुन्।
आइटी, एआई र फ्युचर विषयक संवादमा आफ्नो धारणा राख्दै आइटी विज्ञ डा. अमृता शर्माले यसको सदूपयोगबाट मानिसले मनग्य आम्दानी गर्न सक्ने बताएकी छन्।
‘आइटी क्षेत्रको सदुपयोका लागि इन्टरनेटको पहुँच भए पुग्छ। यसका लागि धेरै ठाउँ चाहिँदैन। ठूलो झन्झट हुँदैन। अहिले विश्व प्रविधिमैत्री भएको छ। यसलाई हामीले चिन्न सक्नुपर्छ। यसको सही सदुपयोग भएमा मनग्य आम्दानी हासिल गर्न सकिन्छ। युवा पुस्ताले यसको महत्त्व बुझ्दै आफूलाई सोही अनुरुप अगाडि बढाउनुपर्छ,’ उनले भनिन्। कतिपय विद्यार्थीले अध्ययन गर्दै आइटीको सदुपयोगले मासिक डेढ लाखसम्म घरमै बसेर कमाइरहेको उनले उदाहरण प्रस्तुत गरिन्।
यस्तै अर्का वक्ता उज्ज्वल रोयले एआईले मानिसलाई अल्छि बनाउनेतर्फ भने सचेत हुनुपर्ने बताएका छन्। उनले वर्षेनी बलिया टेक्नोलोजी आइरहेकाले त्यसको सदुपयोग गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे।
‘अहिलेको जेनेरेशनसँग धेरै सुविधा छन्। एआई त्यसको नयाँ उदाहरण हो। सकेसम्म प्रत्येक विद्यार्थीले एआई चलाउनु पर्छ। एआईभन्दा मानिस बढी क्रियटिभ हुनु पर्ने हुन्छ। अल्छि गर्नु हुँदैन। एआईभन्दा बढी क्रियटिभ हुन बढी पढ्नुपर्छ,’ उनले भने। परम्परागत शिक्षाले मात्र आजका विद्यार्थी क्रियटिभ हुन नसक्ने उनले औंल्याएका छन्।
यस्तै अर्की वक्ता सुप्रिया श्रेष्ठले टेक्निकल स्कुल आजको आवश्यकता भएको बताएकी छन्। विश्व आइटी बजारसँग प्रतिस्पर्धा गर्न नेपालमा टेक्निकल स्कुलको आवश्यकता रहेको उनले औंल्याएकी हुन्।
यस्तै सर्वोच्च अदालतकी बरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव कम गर्नुपर्ने बताएकी छन्।
उनले ‘न्याय-अन्याय’ शीर्षकमा धारणा राख्दै कलेजमा कानुन अध्ययनरत विद्यार्थीसँग अन्तरक्रिया पनि गरेकी थिइन्। संसद् विघठनको मुद्दामा तत्कालीन केपी ओली नेतृत्वको सरकारको विपक्षमा फैसला गर्दा कस्तो चुनौती आयो भन्ने विद्यार्थीको प्रश्नमा उनले भनिन्, ‘आयो नि! अब तिमिलाई प्रधानन्यायधीश बनाउँदैनन् भन्थे।’
उनले त्यस्तो अवस्थामा आफूले नबाए के भयो भन्ने जवाफ दिएको उनले बताइन्। मरो जवाफ हुन्थ्यो, ‘नबनाए के भो? म प्रधानन्यायाधीश बन्न न्यायाधीश बनेको होइन। न्यायाधीश बनेर न्याय गर्न आएको हो। म संविधानसँग सम्झौता गर्दिन।’
उनले आफूलाई तिमिलाई ज्यानको डर छैन? भन्ने प्रश्नसमेत आउने गरेको बताइन्। ‘राष्ट्र र संविधानको स्वार्थसँग सम्झौता गर्दिन। यही कारणले जीवन दाउमा लाग्छ भने लागोस्। तर, संविधानको मर्मभन्दा बाहिर म जान्न भने।’ न्यायको अत्यन्त महत्वपूर्ण तत्त्व निडरपन भएको उनको तर्क थियो।
यस्तै समाजमा अपराधको न्यूनिकरण गर्न समाजका सबै पक्ष जाग्नुपर्ने उनले बताइन्। ‘बलात्कारका घटना बढिरहेका छन्। महिलामाथि हुने हिंसा भइनै रहेका छन्। यसमा यौन शिक्षा पनि आवश्यक छ। कानुनको जानकारी पनि जरुरी छ। हिंसा सहनु हुँदैन प्रमाण जोगाएर न्याय माग्न जान पर्छ,’ उनले भनिन्।
यस्तै न्यायाधीश मल्लले न्यायिक स्वायत्तता एकदमै महत्त्वपूर्ण भएको बताएकी छन्। ‘न्यायाधीशको सिफारिस र नियुक्ति प्रक्रिया राजनीतिक छ। प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक परिषद् पनि राजनीतिक छ। संसदीय सुनवाइ पनि राजनीतिक नै भयो। न्यायपरिषद्मै राजनीति हाबी छ,’ उनले भनिन्। तर, समस्या हुँदाहुँदै पनि काम गराई हेर्दा न्यायालय स्वच्छ र स्वतन्त्र नै छ भन्ने विश्वास रहेको उनले बताइन्।
न्यायिक स्वतन्त्रताका लागि न्यायाशीस नै सक्षम र स्वतन्त्र हुनुपर्ने उनको तर्क थियो। ‘कानुन व्यवशायबाट आएका न्यायाधीशको कुनै न कुनै आवद्धता त हुन्छ नै। तर, उसको मूल्यांकन फैसलाको स्वच्छताबाट हुनुपर्छ। विगतको आबद्धताबाट होइन,’ उनले भनिन्। संविधानसँग सम्झौता गरेको छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण भएको उनको तर्क छ।
न्यायपालिकामाथि सरकारको मात्र नभएर समाजबाट, सञ्चारमाध्यमबाट र सामाजिक सञ्जालबाट दबाब रहेको उनको बुझाइ छ। ‘तर न्यायाधीश यस्ता दबाबबाट प्रभावित हुनुहुँदैन, त्यसो भयो भने त न्याय मर्छ,’ उनले भनिन्।
कार्यक्रममा एक दर्जन कविले कविता वाचन गरेका थिए। कार्यक्रममा कविता प्रतियोगता पनि सम्पन्न भएको थियो। प्रतियोगितामा सञ्जिला पोखरेल प्रथम, परीक्षा पुरी द्वतीय र सहिशुष्णता भट्टराई तृतीय भएका थिए।
Facebook Comment