‘राम्री बाहुन केटी’को भिडियो सार्वजनिक

डिसी नेपाल
२८ माघ २०८१ १०:३१

काठमाडौं। नेपाली ब्याण्ड ‘झिल्के एण्ड द कम्पनी’को गीत ‘राम्री बाहुन केटी’को भिडियो सार्वजनिक भएको छ। पोजिटिभ भाईब्स ईन्टरटेन्मेन्ट नेटवर्कद्वारा निर्मित यो भिडियो उनीहरूको आउँदो एल्बमको पहिलो रिलिज हो।

गीतमा स्टिभ देवानको स्वर, शब्द र संगीत छ। भिडियोमा ‘मिस नेपाल २०२४’की फाइनलिस्ट तथा ‘मेगा मोडल सिजन ४’का विजेता पुजा बराल, प्रवेश जोशी, प्रह्लाद ओली र बिपुला सिद्धान्त जोशीको अभिनय छ।

भिडियोमा एक युवालाई उसको प्रेमिकाको विवाहको दिनमा प्रेमिकासँग भाग्न ‘झिल्के एण्ड द कम्पनी’ व्याण्डका सदस्यहरुले सहयोग गरेको कथा देखाइएको छ । बियोन्डको निर्देशन रहेको भिडियोमा कमल प्रसाईंको छायांकन र विकेश मगरको सम्पादन छ।

भिडियोले नेपाली समाजमा देखिएको कठोर यथार्थलाई व्यङ्ग्यात्मक रूपमा चित्रण गरेको छ । जहाँ जातीय भिन्नताका कारण परिवारहरूले प्रेम सम्बन्ध तोड्न बाध्य पार्छन् । भिडियोका अन्त्यमा बेहुलीका बाबु नै छोरीलाई प्रेम विवाह गर्न गुपचुप साथ दिइरहेको देखाइएको छ ।

व्याण्डले गीतले नयाँ पुस्तासँगै समाजमा परम्परागत सोच र आधुनिक प्रेम तथा व्यक्तिगत स्वतन्त्रताबीचको द्वन्द्वलाई उजागर गरेको दाबी गरेको छ ।

अन्तरजातीय प्रेमको भावनालाई व्यक्त गरिएको गीतको सुरुवात रमाइलो शैलीको भए पनि अन्त्यतिर गहिरो प्रेम व्यक्त गरिएको छ । व्याण्डका मुख्य गायक तथा गीतकार स्टिभ देवानले गीत र भिडियोले नेपालमा अन्तरजातीय विवाह र सम्बन्धलाई सामान्य रूपमा स्वीकार गर्ने संस्कृतिबारे थप बहस सुरुवात गर्ने बताए । झिल्के एण्ड द कम्पनीमा स्टीभ देवान (गायन र गिटार), बिशाल हाङ राई (बास गिटार), र दिप्सन केसी (ड्रम्स) छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *