कर्मचारीको तलब भत्ता बढाए मात्र भ्रष्टाचार नियन्त्रण हुन्छ : मुख्यमन्त्री सिंह

डिसी नेपाल
२८ माघ २०८१ १६:४९

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब सुविधा बढाउनुपर्ने बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रण गर्न सम्बन्धित निकायले कडाइका साथ लाग्नुपर्ने बताए। सदाचार, निष्पक्षता र निर्भिकताका साथै भ्रष्टाचार नियन्त्रणमा सबैले भूमिका खेल्नुपर्ने उनले बताए।

मुख्यमत्री सिंहले शिक्षा, स्वास्थ्य, उद्योग, खानेपानीलगायत प्रत्येक क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको र दर्ता नभएकाले राजस्व छल्ने काम गरेकाले ती निकायलाई सरकारको करको दायरामा ल्याउनुपर्ने उल्लेख गरे।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुन फितलो भएकाले मुलुकमा भ्रष्टाचार बढेको बताए। महंगी अनुसार कर्मचारीको तलबभता नबढाएसम्म भ्रष्टाचार नियन्त्रण नहुने उनको भनाइ थियो।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले भ्रष्टाचार नियन्त्रणका लागि सामूहिक प्रतिबद्धताको खाँचो रहेको बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख रामबहादुर कुरुवाङले भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा आफ्नो कार्यालयले उल्लेखनीय रुपमा आर्थिक अनियमिततासम्बन्धी मुद्दाको फर्छौट गरेको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *