नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा ६ स्रष्टा सम्मानित तथा पुरस्कृत

डिसी नेपाल
२८ माघ २०८१ १६:५२

काठमाडौं । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा साहित्य, कला, संस्कृति, संगीत तथा पत्रकारिता विधाका विभिन्न ६ जना स्रष्टा सम्मानित तथा पुरस्कृत भएका छन् ।

प्रतिष्ठानद्वारा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा २०८१ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत भएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ लोकसंस्कृतिविद् तथा कवि तुलसी दिवसले सम्मान तथा पुरस्कार अर्पण गरेका थिए ।

कार्यक्रममा वरिष्ठ संस्कृतिविद् तथा शिक्षासेवी प्राडा वीणा पौड्याललाई राष्ट्रिय कलाश्री सम्मान अर्पण गरिएको थियो । यसैगरी राष्ट्रिय कलाश्री पुरस्कार कवि तथा साहित्यिक अभियन्ता विश्वविमोहन श्रेष्ठलाई अर्पण गरिएको थियो । राष्ट्रिय कलाश्री पुरस्कारको राशि ताम्रपत्रसहित एक लाख रुपैयाँ रहेको छ ।

यसैगरी स-सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुवादक चन्द्र गुरुङलाई अर्पण गरिएको थियो । बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार लेखक तथा पत्रकार वसन्त बस्नेत, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार प्रयोगवादी युवा चित्रकार सुनिल सिग्देल र पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार लोकगायक कमलीकान्त भेटवाललाई दिइएको छ ।

राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स-सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपियाँ, थिरछाया कलाश्री राष्ट्रिय ललितकला पुरस्कारमा ६० हजार रुपियाँ र अन्य पुरस्कार ताम्रपत्रसहित ५०-५० हजार रुपैयाँ राशि छ ।

कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले कलासाहित्यले राष्ट्रिय भाव प्रसार गर्न सक्नुपर्ने बताए । ‘कला साहित्यले राष्ट्रिय भाव प्रसार गर्नसक्नुपर्छ । अहिले त्यो भावना घटेर ‘म’ मा बढ्ता सीमित भएको छ । तर संस्थागत रुपमा गरिने क्रियाकलापलाई हामीले प्रोत्साहन गर्नुपर्छ’, उनले भने ।

मौलिक राष्ट्रिय भावनाका लागि योगदान दिनु नै कला साहित्यको मूल ध्येय हुनुपर्ने पूर्वसचिव विमल कोइरालाले बताए ।

संस्थाकी अध्यक्ष मोमिलाले साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा अझै उचाई बढाउनुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो सम्मानको विरासत र वर्तमानले साहित्य लेखनलाई अझै उचाईमा लैजान सकोस्, संस्कृति र कलाको क्षेत्रमा अझै महत्वपूर्ण योगदान गर्न सकोस् भनेर हामीले पारदर्शिता र निष्पक्षता राख्न सकेका छौँ’, उहाँले भन्नुभयो ।

प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ कवि राजेश्वर कार्कीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको उद्देश्य र समग्र गतिविधिबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा कार्यक्रममा युवा समालोचक महेश पौडेलले सम्मानित तथा पुरस्कृत स्रष्टाहरुको विस्तृत परिचय राख्नुभएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार शंकरप्रसाद कोइराला, प्राडा। गोविन्दराज भट्टराई, लेखकहरू भागिरथी श्रेष्ठ, उषा शेरचनलगायत सहभागी हुनुहुन्थ्यो । प्रतिष्ठानले कलाश्री सम्मान र पुरस्कारहरू विगत १६ वर्षदेखि निरन्तर समर्पण गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *