आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन
![आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन](https://www.dcnepal.com/wp-content/uploads/2025/02/98b5d610-2497-11ef-80aa-699d54c46324.jpg)
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले नेपालले दक्षिणपूर्व एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमा योगदान गरेकामा धन्यवाद ज्ञापन गरेको छ।
कार्यालयले आज जारी गरेको विज्ञप्तिमा कोषमा नेपालले रु १५ लाख (करिब ११ हजार अमेरिकी डलर) योगदान गरेकामा नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई धन्यवाद ज्ञापन गरेको हो। डब्लुएचओका सदस्य राष्ट्रहरूलाई स्वास्थ्य आपत्कालीन अवस्थाका लागि तयारी र प्रभावकारी प्रतिकार्यका लागि सहयोग गर्ने उद्देश्यका साथ कोष स्थापना भएको हो।
थाइल्याण्ड, भारत र टिमोर–लेस्टेपछि कोषमा योगदान गर्ने नेपाल चौथो राष्ट्र हो। ‘आपत्कालीन कोषमा नेपालको योगदान कोषप्रतिको सहयोग, स्वामित्व र प्रतिबद्धताको प्रमाण हो। यस कोषलाई विश्व स्वास्थ्य सङ्गठनले आफ्नो क्षेत्रका सदस्य राष्ट्रका लागि पारदर्शी रूपमा व्यवस्थापन गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
सन् २००७ मा हिन्द महासागरमा आएको सुनामीबाट प्रभावित दक्षिण–पूर्वी एसिया क्षेत्रका विभिन्न देशको सिकाइका आधारमा कोष स्थापना गरिएको हो। विज्ञप्तिमा कोषले १० राष्ट्रमा घटेका ४९ वटा आपत्कालीन अवस्थामा सहयोग गरेको उल्लेख गरिएको छ।
नेपालले पनि सन् २००८ मा कोशीमा आएको बाढी, सन् २०१५ को विनाशकारी भूकम्प र सन् २०२३ मा जाजरकोटमा गएको भूकम्पको प्रतिकार्यमा कोषबाट सहयोग प्राप्त गरेको थियो।
डब्लुएचओका क्षेत्रीय निर्देशक साइमा बाजेदले सदस्य राष्ट्रलाई कुनै पनि ठूलो जनस्वास्थ्य आपत्कालीन अवस्थाको प्रभावकारी प्रतिकार्य गर्नसक्षम बनाउनका लागि निरन्तर सहयोग गर्नेमा कोष व्यवस्थापन पक्ष प्रतिबद्ध रहेको जनाउनुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
Facebook Comment