सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क र बढी हुने साउथ सुडान, नेपालको अवस्था कस्तो छ ?

डिसी नेपाल
२९ माघ २०८१ १७:४८

काठमाडौं। विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा साउथ सुडान देखिएको छ।

ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकअनुसार एक सय ८० देश सम्मिलित यस सूचकांकमा डेनमार्क विगत सात वर्षदेखि लगातार ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा रहेको छ। यस्तै, साउथ सुडान आठ अंक प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दर्ज भएको छ।

सूचकांकमा एक सय अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट जनाउँछ। सर्वेक्षण गरिएका मुलुकको औसत अंक यस वर्ष पनि ४३ नै कायम रहेको छ। कम अंक प्राप्त गर्नेमा कमजोर र द्वन्द्वप्रभावित मुलुकहरू रहेका छन्। विश्वव्यापी चासोको विषय रहेको जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रियस्तरमा सक्रिय रहेका मुलुकहरूले समेत भ्रष्टाचार अवधारणा सूचकांक सर्वेक्षणमा कम अंक प्राप्त गरेका देखिएको छ।

नेपाल भ्रष्टाचार हुने मुलुकको एक सय सातौँ स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ। नेपालले १०० अंकमा जम्मा ३४ अंक प्राप्त गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। यस नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी कामकारबाही अगाडि बढाउन आवश्यक देखिएको संस्थाले औँल्याएको अध्यक्ष मदनकृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

दक्षिण एसियाली मुलुकहरूमा भुटानले ७२ अंक, भारतले ३८ अंक, मालदिभ्सले ३८ अंक, नेपालले ३४ अंक, श्रीलंकाले ३२ अंक, पाकिस्तानले २७ अंक, बंगलादेशले २३ अंक र अफगानिस्तानले १७ अंक प्राप्त गरेका छन्। छिमेकी चीनले ४३ अंक प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *