सबैले विधिको शासन मान्नुपर्छ : ज्ञानेन्द्र शाही

डिसी नेपाल
२९ माघ २०८१ १९:२०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सबैले विधिको शासन मान्ने र कानुन पालना गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्नेक्रममा सांसद शाहीले सत्तारूढ दलका नेता तथा कार्यकर्ताले गल्ती गर्दा पनि उनीहरूलाई कानुन नलाग्नु विधिको शासनको उल्लंघन रहेको बताए।

सर्वसाधारणका लागि एक खालको कानुन र नेता तथा कार्यकर्तालाई अर्को खालको कानूनको अभ्यास सरकारले गरेको आरोप सांसद शाहीले लगाए।

आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद वासुदेव घिमिरेले सरकारले सुशासन कायम गर्न, सेवा प्रवाहलाई छरितो बताउन र लगानी प्रवर्द्धनका लागि अध्यादेश ल्याएको बताए। अध्यादेशमाथि प्रतिपक्षले विरोध गर्नु जायज नरहेको उनको भनाइ छ।

‘संसद्मा अनौठा परिदृश्य देखा परेका छन्। आफूले राम्रो गर्न नसक्ने र अरूलाई पनि गर्न नदिने प्रवृत्ति देखिएको छ। के अघिल्ला कुनै सरकारले अध्यादेश ल्याएका थिएनन्’, उनले भने, ‘जारी अध्यादेशबाट नागरिकलाई सहज सेवा प्रवाह, समृद्धि र परिवर्तनको अनुभूति दिलाउन सहयोग पुग्नेछ। यसबाट युवा, उद्योगी, व्यवसायी, भूमिहीन किसानलगायत आम नागरिक उत्साहित हुनुहुन्छ।’

अध्यादेशको प्रक्रियामा कुनै त्रुटि नरहेको तर अध्यादेशमा राखिएका विषयवस्तु संशोधन गर्नुपर्ने भए त्यसमाथि संसद्मा छलफल गर्न सकिने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *