लुटेको मोबाइलमा अर्काले आँखा लगाउँदा गयो ज्यान
![लुटेको मोबाइलमा अर्काले आँखा लगाउँदा गयो ज्यान](https://www.dcnepal.com/wp-content/uploads/2025/02/thunama.jpg)
काठमाडौं । आइतबार बिहान अन्दाजी ५ बजेको थियो । काठमाडौंको चाबहिल क्षेत्रमा एक जना पुरुष मादक पदार्थ सेवन गरेर हिँडिरहेका थिए । उनी ‘कन्ट्रोल’मा थिएनन् ।
उनको अवस्थालाई त्यहीँ रहेको एउटा समूह (जो लागूऔषध प्रयोगकर्ता हुन्)ले राम्रोसँग नियालिरहेको थियो । उनीहरू थिए झापा घर भई गोकर्णेश्वर बस्ने क्षितिज कार्की, सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर बस्ने २० वर्षीय विशाल तामाङ र प्रशान्त नामक एक युवक ।
त्यसपछि उनीहरूबीच मादक पदार्थले लट्ठ ती व्यक्तिलाई लुट्ने आन्तरिक समझदारी बन्यो । त्यसपछि उनीहरूले ती व्यक्तिको शरीर ‘खानतलासी’ गरे र उनीसँग भएको मोबाइल लुटे ।
उनीहरूले मादक पदार्थले लट्ठ व्यक्तिको मोबाइल लिएको नजिकै रहेका अर्का व्यक्ति (उनी पनि लागूऔषध सेवनकर्ता हुुन्)ले पनि देखेका थिए । ती व्यक्ति थिए दोलखा घर भई कपन सिमलटार बस्दै आएका युनिक लामा भन्ने २२ वर्षीय नुर्बु शेर्पा । उनी पनि सो ठाउँमा साथीभाइसँग हिँडिरहन्थे । यद्यपि, नुर्बु र मोबाइल लिने समूहबीच चिनजान भने थिएन । आफ्नै आँखाअगाडि अर्काे समूहले मोबाइल लिएको घटना नुर्बुलाई निको लागेन । त्यसपछि उनले तीन जनाको समूहबाट मोबाइल लुट्ने योजना बनाए । तर, आफू एक जना र उनीहरू तीन जना भएकाले एक्लै ‘भिड्ने’ आँट उनले गर्न सकेनन् । त्यसपछि उनले काभ्रे घर भई गोकर्णेश्वर बस्ने अमृत भन्ने २३ वर्षीय संघर्ष कार्कीलाई बोलाए ।
अमृत आउँदासम्म उज्यालो हुन लागिसकेको थियो भने सरस्वतीनगर, कुमारीगाल क्षेत्रका पसलहरू विस्तारै खुल्न थालेका थिए । त्यसबेलासम्म मोबाइल लुट्ने समूह कुमारीगाल पुगिसकेको थियो । उनीहरूलाई नुर्बुले पछ्याइरहेका थिए ।
अमृत र नुर्बुबीच मोबाइल जसरी पनि हात पार्नुपर्छ भन्ने कुराले ‘घर’ ग¥यो । सुरुमा राम्रो ढंगले माग्ने, नदिए जाइलाग्ने विषयमा उनीहरूबीच कुरा भयो । अर्काे समूह तीन जनाको भए पनि ‘भिड्न’ सकिन्छ भन्ने निष्कर्षमा अमृत र नुर्बु पुगे ।
त्यसपछि अमृत र नुर्बुले आफ्नो योजना कार्यान्वयन गर्ने सिलसिलामा अर्काे समूहसँग उनीहरूले लुटेको मोबाइल मागे तर त्यो समूहले दिएन । त्यसपछि दुई समूहबीच हानाहान भयो । सोही क्रममा तीन जनाको समूहका क्षितिजले आफूसँग भएको सानो चक्कुले अर्को समूहका अमृतको छातीमा प्रहार गरे । अमृतले चोट सहन सकेनन् । छातीमा चोट लागेपछि उनी गल्लीको बाटो हुँदै एक ठाउँ आएर भित्तामा अडेस लागेर बसे ।
नुर्बु भने आफ्नो साथीमाथि चक्कु प्रहार गरेको भन्दै अर्को समूहका क्षितिजमाथि जाइलागे । उनी क्षितिजसँग भएको चक्कु खोस्न पनि सफल भए । त्यसपछि नुर्बुले लगातार क्षितिजमाथि चक्कु प्रहार गर्न थाले । क्षितिजको हात, पिँठ्यू र तिघ्रामा चोट लाग्यो ।
दुई समूहबीच ‘ग्याङ फाइट’ भएको दृश्य देखेका स्थानीयले प्रहरीलाई खबर गरे । यतिखेर बिहानको ६ बजेर ५ मिनेट गएको थियो । खबरपछि ५, ६ मिनेटमै प्रहरी वृत्त गौशालाको टोली घटनास्थल पुग्यो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार घटनास्थलबाट दुवै पक्षलाई पक्राउ गरी घाइतेलाई तुरुन्तै काठमाडौं मेडिकल कलेज सिनामंगल लगिएको थियो ।
‘भित्तामा अडेस लागेर बसेका अमृत भने अचेत भइसकेका थिए,’ एसपी बोहोराले भने, ‘क्षितिजको पनि शरीरको ठाउँठाउँमा चक्कुको चोट चियो, चेकजाँचपछि अमृतलाई भने चिकित्सकले मृत घोषणा गरे ।’
घटनापछि नुर्बु र विशाल पक्राउ परे पनि प्रशान्त भने भाग्न सफल भएका थिए । उनको खोजी भइरहेको एसपी बोहोराले बताए ।
‘यस घटनालाई हामीले समाजको बिम्बका रूपमा पनि हेरेका छौं, लुटेको फोनलाई फेरि अर्कोले लुट्न खोजेपछि यसरी एक जनाको ज्यानसमेत गएको छ,’ एसपी बोहोराले भने ।
प्रहरीका अनुसार मृतक अमृत केही महिनाअघि मात्रै दुबईबाट फर्किएका थिए । उनी यसअघि पनि प्रहरीको निगरानीमा परिसकेका व्यक्ति थिए । प्रहरी वृत्त गौशालाले यस घटनाको थप अनुसन्धान गरिरहेको छ । पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमतिसमेत पाएको छ ।
Facebook Comment