छविलाल पुगे उच्च अदालत, थुनामा राख्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर माग

डिसी नेपाल
३० माघ २०८१ १४:२५

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत रुपन्देहीले दिएको आदेशविरुद्ध पूर्वडीआईजी छविलाल जोशी उच्च अदालत पुगेका छन्।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई सोमबार पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेसँगै जोशी उच्च अदालत पुगेका हुन्।

जोशीका छोरा रोचक जोशीले थुनामा पठाउने आदेश र ठहर खण्डमा उल्लेखित विषय पूर्वाग्रही रहेकाले बदर माग गर्दै निवेदन दर्ता गराएका छन्। ७३ नं. निवेदनमार्फत जोशीको तर्फबाट उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दर्ता भएको छ।

यसअघि जोशी पोखराको सूर्य दर्शन सहकारीमा ८८ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख धरौटीमा रिहा भएका थिए। उनीविरुद्ध चितवनको सहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भइसकेको छ।

सुप्रिम सहकारी ठगीमा २२ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको थियो। पूरक अभियोगमा ५५ करोड रुपैयाँ बिगो कायम गरिएको छ । सुप्रिमबाट जोशीका नाममा व्यक्तिगत २ करोड ५० लाख र सामूहिक दायित्वअन्तर्गत १० करोड ९९ लाख ऋण लिएको देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *