मन्त्रालयको प्रशासन फितलो भयो : सञ्चारमन्त्री गुरुङ

डिसी नेपाल
३० माघ २०८१ १९:५४

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयको प्रशासन नै फितलो भएको बताएका छन्।

बुधबार २०८१/८२ को दोस्रो त्रैमासिक समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उनले मुख्य समस्या नै प्रशासन भएकाले यसलाई सबैले मिलेर सुधार गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘हाम्रो प्रशासन एकदमै फितलो छ। मुख्य समस्या नै हाम्रो प्रशासन हो। यसमा हामी सबैले मिलेर सुधार गरौं। योसँगै नीतिगत कुराहरु पनि छन्। यसलाई हामी मिलाउने काम गरिरहेका छौं। यसमा हुलाक सेवा, रासस र गोरखापत्रको पनि नयाँ ऐन बनाउनुपर्ने छ। यो चाँडो हुन सकिरहेको छैन।’

यसैगरी, उनले हाम्रो विरासत नै फोहोर थुपार्ने प्रवृत्तिको भएको बताए। उनले आफ्नो मन्त्रालयलगायत जहाँ पनि कर्मचारी र बजेटको पनि अभाव हुने गरेको बताए।

उनले भने, ‘हाम्रो विरासत नै गञ्जागोल छ। एकअर्कालाई आरोप प्रत्यारोप लगाउने र फोहोर थुपार्ने प्रवृत्तिको छ। यसलाई हामीले सरसफाई गर्नुपर्ने छ। हाम्रो मन्त्रालयलाई धेरै बजेट नै राखेको छैन। जहाँ पनि कर्मचाीको अभावसँगै बजेटको पनि अभाव हुन्छ।’

साथै, उनले विद्यमान जनशक्ति भएपनि कार्य क्षमता र कार्यदल एकदमै कमजोर रहेको बताए। उनले कार्य क्षमता र कार्यदल कमजोर भएकाले लिडरसिपको भूमिका कमजोर देखिएको बताए।

उनले भने, ‘हामी जति विद्यमान जनशक्ति छ त्यसको चाँही कार्य क्षमता र कार्यदल एकदमै कमजोर छ। यसमा राम्रो गर्नलाई ट्रेनिङ भएन की के भएन यसले गर्दा कार्य क्षमता कमजोर भएको हो की ? आम रुपमा यो समस्या हो। यसमा लिडरसिपको भूमिका कमजोर देखियो। लिडरसिपहरुले ध्यान दिनुपर्ने अवस्था आएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *