ठमेल बचाऊ अभियान : चिनियाँ हस्तक्षेपविरुद्ध र्याली
![ठमेल बचाऊ अभियान : चिनियाँ हस्तक्षेपविरुद्ध र्याली](https://www.dcnepal.com/wp-content/uploads/2025/02/dbd8c1ee-9ec3-4184-ad8a-37e4b88e54c5.jpeg)
काठमाडौं । राष्ट्रिय एकता अभियान काठमाडौंले ठमेल बचाउन तथा चिनियाँ व्यापारिक अतिक्रमण रोक्न आज ठमेलमा विशाल र्यालीको आयोजना गरेको छ। ‘स्थानीय व्यापार जोगाऔं, चिनियाँ औपनिवेशिकरण रोकौं!’ भन्ने नाराका साथ निकालिएको विरोध र्यालीमा स्थानीय व्यापारीको उल्लेख्य सहभागिता रहेको थियो।
राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा र्याली गरिएको हो। सहभागीले ‘ठमेलमा जबरजस्ती तिब्बतीकरण बन्द गर’, ‘स्थानीय व्यापार जोगाऊ, विदेशी चलखेल हटाऊ’, ‘चिनियाँ प्रभुत्व चाहिँदैन, हाम्रो ठमेल जोगाउनै पर्छ’, ‘ठमेल हाम्रो, व्यापार पनि हाम्रो’, ‘ठमेलको मौलिकता मेट्न पाइँदैन, नेपाली पहिचान जोगाउनै पर्छ’ लगायत नारा लगाएका थिए।
र्यालीमा अभियानका केन्द्रीय सचिवालय प्रमुख चन्द्र यदुवंशी, केन्द्रीय सदस्य मनीष पूर्वेलगायत ठमेलका व्यापारी सहभागी थिए। अध्यक्ष यादवले ठमेल काठमाडौंको प्रमुख पर्यटकीय व्यापारिक केन्द्र भए पनि स्थानीय व्यापारीले व्यवसाय गर्ने वातावरण दिनुपर्नेमा उल्टै चिनियाँ प्रभाव बढ्दै गएको बताए। उनले ठमेलको तिब्बतीकरण तीव्र रूपमा भइरहेको र यसलाई नरोके स्थानीय व्यवसायी विस्थापित हुनुपर्ने चेतावनी दिए।
उनले ठमेलको मौलिक पहिचान संरक्षण गर्न चीनको व्यापारिक दादागिरी रोक्नुपर्ने र विदेशी प्रभावका कारण नेपाली पहिचानलाई मेट्न नदिइने बताए। सरकारले समयमै हस्तक्षेप नगरे ठमेलका मूल व्यवसायी पलायन हुने खतरा बढ्दै गएको उनको भनाइ छ।
यसअघि पनि राष्ट्रिय एकता अभियानले चीनको नेपालमा बढ्दो व्यापारिक अतिक्रमण तथा सीमा मिचाइको विरोध गर्दै आएको छ। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
Facebook Comment