वरिष्ठ संगीतकर्मी प्रदिप भट्टराईको नयाँ गीत ‘उमेर ढल्केको’ सार्वजनिक
![वरिष्ठ संगीतकर्मी प्रदिप भट्टराईको नयाँ गीत ‘उमेर ढल्केको’ सार्वजनिक](https://www.dcnepal.com/wp-content/uploads/2025/02/Pradip-bhattarai-song-cover.jpeg)
काठमाडौं। नेपाली संगीत उद्योगका लोकप्रिय संगीतकर्मी श्री प्रदिप भट्टराईले आफ्नो नयाँ गीत ‘उमेर ढल्केको’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
नेपाली संगीत क्षेत्रमा २५ वर्षभन्दा बढी योगदान दिइ सकेका उनको परिचय गायक, संगीतकार, गीतकार तथा संगीतकर्मीका रुपमा समेत स्थापित रहेको छ। तथापी, उनी आफैँ भने आफूलाई पूर्वेली गायक तथा संगीतकर्मी भन्न रुचाउँछन्। उनले आफ्नो सांगीतिक यात्राको सुरुवात २५ बर्ष अघि मेलान्ज ब्याण्ड मार्फत गरेका थिए।
संगीतकर्मी भट्टराईले नेपाली संगीतमा आफ्नै मौलिक शब्द, संगीत र शैलीले छुट्टै पहिचान बनाएका छन्। भट्टराईले यसअघि पनि आफ्नै शब्द र संगीतमा दुई एल्बम सार्वजनिक गरिसकेका छन्। उनका सिर्जनाहरू नेपाली लोकशैलीदेखि आधुनिक संगीतसम्म विविध स्वाद समेट्ने खालका छन्।
भट्टराईले नेपाली सांगीतिक यात्रामा विभिन्न कालजयी गीतहरू सिर्जना गर्दै आम संगीतप्रेमीको मन जित्न सफल भएका छन्। उनका गीतहरू प्रेम, जीवन र सामाजिक चेतनासँग जोडिएका विषयवस्तुहरुमा केन्द्रित हुने गर्छन्। थुप्रै प्रतिष्ठित गायकहरूले उनका सिर्जनालाई स्वर दिइसकेका छन्। यसले नेपाली संगीत उद्योगमा उनलाई बहुआयामिक स्रष्टाका रूपमा स्थापित गराएको छ।
सार्वजनिक नयाँ गीतमा नेपाल आइडल सिजन २ का विजेता रवि ओडले स्वर दिएका छन्। रवि ओडले आफ्नो सुमधुर स्वर र फरक पहिचानले नेपाली संगीतमा छोटो समयमा नै अपार सफलता हासिल गरेका छन्। उनी लोकगीतदेखि आधुनिक पपसम्म सबै विधाका गीतहरूमा जमेका छन्।
“उमेर ढल्केको“ मा उनले आफ्नो भावनात्मक प्रस्तुति मार्फत गीतलाई अझ बढी सजीव तुल्याएका छन्। गीतको भिडियोमा रबीको आवाज संगै उनको अभिनय, कलाकार जय किशन बस्नेत र बिना राउत तथा संगीतकार भट्टराई स्वयम् लगायत कलाकारको रमाइलो अभिनय रहेको छ।
काठमाडौंको एक होटलमा आयोजित विशेष समारोहमा प्रमुख मिडिया हाउसका प्रतिनिधिहरूको उपस्थितिमा गीत सार्वजनिक गरिएको थियो। कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो नयाँ सिर्जनाबारे उत्साह व्यक्त गर्दै यस गीतले समयसँगै परिवर्तन हुने जीवनका भोगाइहरू चित्रण गरेको बताए।
गीतको भिडियो नेपाल आइडलका सिजन २ का विजेता रवि ओडको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
Facebook Comment