प्रश्नैप्रश्नको पेटारो : ‘उत्तरआधुनिक त्रासदी’
![प्रश्नैप्रश्नको पेटारो : ‘उत्तरआधुनिक त्रासदी’](https://www.dcnepal.com/wp-content/uploads/2025/02/8-5.jpg)
प्रबन्धसंग्रह ‘उत्तरआधुनिक त्रासदी’ स्रष्टा विश्वराज अधिकारीको नवीनतम् कृति हो। उनी मेरा बालसखा होइनन्। सालाखाला उमेरको मध्यभागतिर साहित्यको सुरको सँघारमै भेटिएका हुन्। संयोगकै कुरा हो वर्तमानमा हामी यस्तो मोडमा यार भएका छौँ जहाँ समाज, विषय, जीवन तथा दर्शनका पोखरीमा पोखिन्छौँ। हामी बिचको वर्तमान सम्बन्धको प्रधान जुइनो यही हो।
समकालीन साहित्य प्रतिष्ठान बेलायतले २०८१ सालमा प्रकाशन गरेको यो पुस्तकको आवरण पृष्टमा प्रविधिको विकासले मान्छेका दिमागभित्र आएको वर्तमान त्रास प्रष्ट्याएको छ। जहाज, चक्र, रङ्ग, दिमागभित्रका नशाको संयोजनमा बनेको आवरण सुन्दर देखिन्छ। र, जो कोहीलाई आवरण हेर्नेबित्तिकै त्रासदी उत्पन्न हुन्छ।
प्राडा कपिल लामिछानेको ‘उत्तरआधुनिक त्रासदीभित्र रुमलिँदा’ शीर्षकमा भूमिका रहेको छ। भूमिकाले कृतिभित्रको अन्तर्य छिचोलेको छ। छिमलेको पनि छ। यही क्रममा प्रवन्धकार अधिकारीको आफ्नै भनाइ रहेको छ। यसपछि ३१ नम्बर हालिएको भए पनि ३० ओटा प्रवन्धहरूको विषयसूची रहेको छ।
कृतिभित्र मूलरूपमा उत्तरआधुनिक कालले सामाजिक व्यवस्था, अर्थ प्रणाली, विज्ञानप्रविधि, धर्म, राजनीति तथा पर्यावरणमा पारेका नकारात्मक प्रभावहरूको चर्चा छ। नकारात्मक धारमा लेखिएकाले यो कृतिले त्रासदी नै त्रासदी व्यक्त्याएको छ।
कृतिकार अधिकारीले उत्तरआधुनिक कालको सवैभन्दा बढी नकारात्मक प्रभाव विश्वसमाजमा परेकोमा चिन्ता व्यक्त गरेका छन्। विखण्डित हुँदै गरेको परिवार प्रथा, विवाह व्यवस्था, सामाजिक सद्भावलाई प्रधान त्रासदी देखाइएको छ।
व्यक्तिवादी सोचको अत्यधिक विकास भएकाले समाज विखण्डनको धारमा उभिएकाप्रति प्रवन्धकारलाई धेरै चिन्ता लागेको छ। त्यसैले उनी उत्तरआधुनिक कालले गर्दा वर्तमान विवाह व्यवस्थामा सङ्कट देख्छन्। सामाजिक सदभावमा विखण्डन देख्छन्। प्रविधिको विकासले बालापन खोसिएकोमा चिन्ता प्रकट गर्छन्।
कृतिभित्र उठाइएको अर्को त्रासदी विज्ञान÷प्रविधिले सूचनाको क्षेत्रमा ल्याएको विकास हो। प्रविधिले गर्दा सत्य÷असत्य जानकारीको बाढी आएकोले मानिसलाई भ्रमको भुमरीमा पुर्याएको प्रसङ्ग उठाइएको छ। इन्टरनेटको चुनौती, हयाकरहरूको जगजगी आदिले समाजलाई भाँडिरहेको छ भन्ने उनको तर्क छ।
कृतिभित्र उत्तर आधुनिक कालले गर्दा धर्ममा त्रासदी आएको, धर्म विशुद्ध धार्मिक नरहेको तथा धर्मको बजार मालामाल भएको तर्फ सचेत गराइएको छ। कृतिमा धार्मिक मात्र नभएर राजनीतिक व्यवस्था तथा परिपाटीमा आएको त्रासदीका बारेमा पनि यथेष्ट चिन्ता अभिव्यक्त गरिएको छ।
राजनीतिमा आएको त्रासदीमा पहिचानको राजनीति, भ्रष्ट राजनीति, राजनीतिक रूपले विभाजित विश्व, साना राष्ट्रहरूको अस्तित्व सङ्कटमा, युद्धमा बृद्धि जस्ता विषयलाई उठाइएको छ।
उत्तर आधुनिक त्रासदी केलाउने क्रममा कृतिकारको ध्यान आर्थिक अवस्थामा पर्ने नकारात्मक प्रभावमा पनि परेको छ। ठुलाठुला कम्पनीको स्थापना हुनाले अनावश्यक उपभोग्य वस्तुको निर्माण हुने जसले उपभोक्तामा नकारात्मक प्रभाव पार्ने उनको भनाइ रहेको छ।
सानो व्यापारको अस्तित्व सङ्कटमा पर्ने, गरिबीमा ठूलो वृद्धि हुने, व्यापारिक नैतिकतामा ह्रास हुने, विषाक्त खाद्यान्न उत्पादन हुने, मुनाफा केन्द्रित समाजको निर्माण हुने, उपभोक्तामा अनावश्यक लत लाग्ने जस्ता चरम उपभोक्तावादका समस्या देखिने उनको तर्क छ।
यसबाहेक पर्यावरण विनास हुने र त्यसले निम्त्याउने पर्यावरणीय त्रासदी कृतिको केन्द्रमा रहेको छ। यसबाट वर्तमान पृथ्वीको अस्तित्व नै सङ्कटमा पर्ने कुराप्रति चिन्ता प्रकट गरिएको छ।
अब कृतिको सुन्दर पक्षतिर ध्यान देऔँ। कृतिको सवैभन्दा राम्रो पक्ष भनेको वर्तमानको सामाजिक परम्पराका पक्षमा ठिङ्ग उभिनु रहेको छ। वर्तमान एकल परिवार जसमा बाबुआमा, छोराछोरी, नातिनातिना समहित हुन्छन्, लाई आदर्श मान्नु कृतिको अभिध्येय रहेको छ।
यसैगरी वर्तमान विवाह सङ्गठन जसमा लोग्नेस्वास्नीले जीवनपर्यन्त सँगै बस्ने आग्रह गरिएको हुन्छ, यही कुरालाई कृतिकारले आदर्श बनाएका छन्। सामाजिक सौहार्दतामा क्रमिक रूपमा आउँदै गरेको ह्रासका विपक्षमा उभिएका छन्।
यसरी कृतिकार वर्तमानको सामाजिक परम्परा, सामाजिक मान्यताका पक्षधर भएका छन्। समाजमा शान्ति होस् अलबल नहोस् भन्ने अभिप्रायलाई एउटा पाटोबाट हेर्ने हो भने कृतिको सुन्दर पक्ष हो।
कृतिको ज्यादै महत्त्वपूर्ण अर्को विशेषता विश्वमा घटेका घटनाको सूचनाको पउलता प्रदान गर्नु रहेको छ। धेरै घटनाहरूको खोज गरी पाठकलाई सुसूचित गरिएको छ।
उदाहरणका लागि कृतिभित्र उल्लिखित चालक विहीन कारको निर्माण, सन २००१ मा अफगानिस्तानको बामियान स्थित बुद्धको मन्दिर धर्म गुरु मुल्ला ओमारको आदेशमा डाइनामाइट प्रयोग गरी ध्वस्त पारिएको यथार्थ, युरोपमा लगभग ४० प्रतिशत भन्दा बढी मान्छे एकल बस्ने गरेको यथार्थ तथा अमेरिकामा मात्र एकल वस्ने महिला पुरुषको सङ्ख्या लगभग ४ करोड भएको सूचना दिएका छन्।
यी त प्रतिनिधि सूचना मात्र हुन्। यसबाहेक कृति सूचनै सूचनाले भरिएको छ। त्यसैले विविध खाले सूचना प्रदान गर्नु कृतिको अभिध्येय देखिन्छ। यसबाट पाठक लाभान्वित हुने छन्।
यो कृति परम्परागत आदर्शमा रमाउने पाठकका लागि निकै महत्त्वपूर्ण रहेको छ। किनभने मानिस जे देखिन्छ, त्यो हुन्न। आधुनिकतामा रमाउँछ र परम्पराको गुणगान गर्छ। आउने युगमा त्रासदी मात्र देख्छ। यस्ता खाले दोहोरो चरित्र भएका हुन्छन् मान्छे।
उदाहरणका लागि इन्टरनेटको सुबिधा जुम प्रविधिमार्फत् कार्यक्रम गरिन्छ र सोही कार्यक्रममा जुम प्रविधि उत्तरआधुनिक त्रासदी हो भनेर व्याख्या गरिन्छ। चिन्तन मनन गरी खास यथार्थतिर प्रवेश नगर्ने पाठकका लागि यो कृति औषधी हो भन्न सकिन्छ। र, जनसङ्ख्याको धेरै भाग यही परम्परागत आदर्शमा रमाउने हुनाले यो कृति निकै महत्त्वपूर्ण भएको छ।
तर परम्परागत आदर्शवादी धारलाई छोडेर यथार्थवादी धारबाट हेर्यो भने कृति प्रश्नै प्रश्नको पेटारो बन्छ। अनावश्यक त्रासै त्रासको पुञ्ज बन्छ। तथापि कृतिको गतिमयता र प्रवाहलाई मध्यनजर गर्दा केही प्रमुख प्रश्नहरू उठाउन सकिन्छ।
कृतिकार भन्छन् ‘उत्तरआधुनिक युगले सूचना, जानकारी, एवं खवरको बाढी ल्याएको छ। हामी समक्ष आउने ती सूचना, विचार, जानकारी, समाचार आदि के सत्य हुन्छन् ? यसले गलत विचार वा दृष्टिकोणको निर्माण हुन्छ’। यही विचारमा प्रश्न उठाउन सकिन्छ, के सूचना पाउनु ज्ञान हो कि झन्झट ? ज्ञान लिने व्यक्तिको दोष हो कि सूचना प्रदान गर्ने उत्तरआधुनिकताको ?
यसैगरी कृतिकार भन्छन् ‘उत्तरआधुनिक युगमा व्यवसायीहरूले केवल मुनाफालाई महत्त्व दिइरहेका छन् भने मानव कल्याण भन्ने विषय नै बिर्सिँदै गएका छन्’। यो विषयमा प्रश्न उठाउन सकिन्छ के व्यवसायी भन्नु नै मुनाफा आर्जन गर्ने अभिप्राय होइन र ?
धर्मका विषयमा उनी उत्तरआधुनिक कालले धर्मको बजार मालामाल बनाएको विषय उभ्याउँछन्। प्रश्न उठाउन सकिन्छ कि धर्मको व्यापार परम्पराकालदेखि वर्तमानकाल सम्म मालामाल नै रहेको छ। जबसम्म धर्मभिरु, अन्धविश्वासी तथा चिन्तन मननको अभाव भएका मानिसहरू रहन्छन् त्यति बेला सम्म धर्मको व्यापार फस्टाइरहन्छ।
धर्मका नाममा नै शासन गरिरहन्छन्। विश्वले यही धर्मान्ध राजनीतिको चक्करमा परेर धर्मयुद्ध जस्ता अघोर अधार्मिक घटनाको मार बोकेको कुरा यथार्थ हो। तर यो प्रभाव भने उत्तरआधुनिक होइन। उत्तरआधुनिक कालले त मान्छेलाई ‘यथार्थतिर फर्क’ भन्ने सन्देश प्रवाह गर्छ।
कृतिकारको ध्यान उत्तर आधुनिक कालले राजनीतिमा पार्ने प्रभावमा पनि परेको छ। उनको विचारमा उत्तरआधुनिक कालले पहिचानवादी राजनीतिको मुद्दा उठाउने छ भन्ने रहेको छ। राजनीति भ्रष्ट हुनेछ भन्ने कुरा पनि रहेको छ।
के राजनीति सधैँ पहिचानवादी थियो होइन र ? आर्य पहिचान, यहुदी पहिचान, मङ्गोल पहिचान, इसाई पहिचान, इस्लाम पहिचान नै विगतका विश्वराजनीतिको आधार होइन र ? के राजनीति सधैँ भ्रष्ट थियो होइन र ? महाभारतलाई धर्मयुद्ध भनिए पनि अधर्मको बाटो, असत्यको बाटो अपनाइएर भ्रष्ट राजनीति गरिएको होइन र ?
कृतिकारको सवैभन्दा बढी ध्यान उत्तरआधुनिक कालले समाजमाथि पार्ने प्रभावमा रहेको देखिन्छ। सामाजिक सद्भावको सङ्कटमाथि निकै चिन्ता गरिएको छ। प्रश्न उठ्छ के हो सामाजिक सद्भाव भनेको ?, गरिबले थिचिएर बस्नु, महिलाले ओझेलमा बस्नु, अन्याय खेपेर सामाजिक बन्धनमा बाँधिनु सामाजिक सद्भाव थियो कुनै बेला।
वर्तमानमा तिनले सामाजिक न्याय खोजेका छन्। विद्रोह गरेका छन् भने त्रासदीका रूपमा यो कुरा उठाउनु कत्तिको यथार्थ हो। अमूर्त तथा इमोस्नल उत्तरले समस्याको समाधान हुने कुरा होइन।
हिजो एउटा पुरुषले धेरैओटा बिहे गर्दा परिवार तथा बिहे सङ्गठन दुरुस्त थियो भन्ने राय बनाउने हो भने अर्कै कुरा हो। नत्र अहिले ती महिलाले आफ्नो अस्तित्व खोजेर अलग हुँदा पर्न गएको समाजको चित्रमा चित्त नबुझाउनुको पनि केही अर्थ हुन्न। त्यसै पनि विवाह सङ्गठन सामाजिक हो, प्राकृतिक होइन।
प्राकृतिक कुरा परिवर्तन हुन्न, तर सामाजिक सङ्गठनका कुरा जतिसुकै कडा भए पनि ती समयअनुसार परिवर्तीत हुन्छन्। अर्थात् म्यानमेड हो भने परिवर्तन हुन्छ, हुन्छ। यो कुरा स्वाभाविक हो।
के हिजो याने पौराणिककालमा विवाहपूर्व यौन सम्पर्क तथा विवाहेत्तर सम्बन्ध थिएन र ?, बहुपति तथा बहुपत्नी प्रथा थिएन र ? कृतिकारलाई महाभारतकै कथा स्मरण गर्न अनुरोध गर्छु। कुन्तीले विहेपूर्व सूर्यसँग सहवास गरी कर्ण जन्माएको कुरा, विष्णुले रतिदेवीको सतित्व डगाएको कुरा तथा द्रौपदीका पाँच पति रहेको कुरालाई कसरी बिर्सनू ?
के कृषि युगमा रहेको संयुक्त पारिवारिक प्रथा, त्योभन्दा पहिले रहेको मातृसत्तात्मक वा पितृसत्तात्मक कबिलाप्रथा, त्योभन्दा पहिले रहेको शिकार युग तथा जङ्गली अवस्था उत्तरआधुनिक कालको खण्डित परिवार पद्धतिभन्दा राम्रो थियो ? कृतिकार परिवार टुक्रिनमा आर्थिक कारण मात्र देखाउँछन्। तर त्यसमाथि मान्छेले खोज्ने गरेको व्यक्तिगत स्वतन्त्रताको कारणले परिवार टुक्रिने गरेको यथार्थलाई भने नजरअन्दाज गर्छन्।
कृतिकारले चरित्रमा नैतिकवान भन्ने प्रश्न उठाएको देखिन्छ। प्रश्न उठ्छ नैतिकवान भनेको के हो ? यसको आधार के हो ? के परम्पराका अनुशासनलाई हुबहु अनुसरण गर्नु असल चरित्र हो ?, के असान्दर्भिक तथा विभेदीय सामाजिक मान्यताका विरुद्ध विद्रोह गर्नु अनैतिक तथा चरित्रहीन हो ?
कृतिकार भन्छन् ‘जीवनदेखि मृत्युसम्म हरेक व्यक्तिलाई परिवार चाहिन्छ नै’। म भन्छु किन चाहिन्छ ? परिवारभित्र बस्दा आउने अनावश्यक झन्झटबाट मुक्ति नै अपरिवारवाद हो। विवाह नै किन चाहिन्छ ? के अर्थ छ विवाहको ? एक छिन् मानव उत्पत्तिको इतिहासतिर नजर दिऊँ।
मान्छेको उत्पत्ति भएको सालाखाल तीन लाख वर्ष भएको छ। मान्छेको टाउकामा दिमागले प्रवेश पाएको सत्तरी हजार वर्ष मात्र भएको छ। र, विवाह भन्ने सङ्गठन अधिकतम चारहजार वर्ष पुरानो मात्र हो। त्योभन्दा पहिले पनि सृष्टि चलेको थियो। यौन आपूर्ति भएको थियो।
अनि कृतिकारले भन्ने गरेको वैदिककाल मानव सभ्यताको तुलनामा कति पुरानो हो ? उत्तर वैदिक काल भन्नु त्यही १५०० देखि ६०० ईशापूर्व त हो, जबकि विवाह भने वैदिक युगभन्दा पुरानो हो। अनि विवाहको मापदण्ड वैदिक युगलाई मान्दा समयसँग कसरी न्याय हुन्छ ? समयले परिवर्तन खोजेको कुरामा त्रासदी देख्नु कति जायज हो?
कृतिकारका चिन्ता ‘उत्तरआधुनिक युगमा परिवार भन्ने सङ्गठन क्षतिग्रस्त हुने वा विनास हुने हो कि भन्ने रहेको छ। विवाहरू टुटिरहेका छन्। पुरुष तथा महिला एकल बस्ने प्रवृत्ति बढ्दो छ। यौन चाहना पूर्तिका लागि विवाह नै गर्नु पर्ने बाध्यात्मक स्थितिको लगभग अहिले अन्त्य भएको छ।
समलिङ्गी विवाहलाई मान्यता दिएका कारणले दुई विपरीत लिङ्गमा मात्र विवाह हुने भन्ने नियमलाई परित्याग गरेको छ। पतिपत्नीमा समर्पित हुने भाव वा प्रेमलाई यो उत्तरआधुनिक युगले क्रमस समाप्त पार्ने छ’ भन्ने रहेको देखिन्छ।
यी तथ्यमाथि विचार गर्दा प्रेम, यौन, सन्तानका लागि बिहे नामक एउटै खाल्डामा हाल्ने सामाजिक कठोर पद्धतिको वकालत गरेको देखिन्छ। के प्रेम, यौन, सन्तान र बिहे अलग अलग कृुरा होइनन् र ? यसबारेमा कृतिकारले प्रवेश नै नगरेको देखिन्छ। त्यसैले कृति तथ्यमा भन्दा आदर्शवादी भावनामा बगेको प्रतीत हुन्छ।
कृतिकार भन्छन् ‘उत्तर आधुनिक कालले पर्यावरण विनास गर्छ’। मेरो प्रश्न सहर सफा गर्न, पर्यावरणको जगेर्ना गर्न तथा पृथ्वीको संरक्षण गर्न कुनचाहिँ उत्तरआधुनिक सिद्धान्तले बाधा हाल्छ र ? बरु प्रकृतिको संरक्षण मानव जीवनसँग जोडिएको छ भन्ने सन्देश पो प्रवाह गर्छ त।
कृतिलाई सूक्ष्म गवेषण गर्यो भने समाज विकासको काल विभाजनलाई ध्यानमा नदिई परापूर्वकालदेखिका त्रासदीलाई पनि उत्तरआधुनिक खाल्डामा ल्याएर हालिएको प्रतीत हुन्छ। कतिपय शीर्षक अलग भए पनि त्यसले उठाएका विषयहरू समान छन्। अर्थात् पुस्तकको प्रस्तुति पनि चुस्त दुरुस्त छैन। विशृङ्खलित छन् प्रबन्ध। यो कृतिले मानव सभ्यतामाथि आशा होइन निराशा पस्केको छ।
पुस्तक उभिएको जग परम्परागत चिन्तनमा आधारित छ। चिन्तनमा वैज्ञानिक आधार लिइएको छैन। कृतिको चिन्तन धरातल कलीयुगलाई लिइएको छ। कलियुग आफैँमा मिथक हो कि यथार्थ ? प्रमुख प्रश्न त यो छ कि यो कृतिको दार्शनिक आधार के हो ? त्यो प्रष्ट छैन। त्यसैले यो कृति आफैँमा भ्रमको भुमरीमा रुमलिएको छ। लिक छोडेर जथाभावी हिँडेको छ। कृतिले घरी सत्ययुग, कलीयुग आदिको आधार लिएको छ भने घरी विज्ञानको सतही आधार र तथ्याङ्क लिइएको देखिन्छ।
समाज तथा इतिहास विनिर्माणको विकासवादी आधार द्वन्द्व हो। कृतिले इतिहासको निर्माणमा द्वन्द्वात्मक विचारको आधार लिएको छैन। द्वन्द्वात्मक तरिकाले विषयलाई हेरिएन भने समाज विकासको पद्दतिको टुङ्गोमा पुगिन्न।
किनभने समाजमा प्रचलित र स्थापित मान्यतामा द्वन्द्व निर्माण गरेर समाज अगाडि बढ्छ। परिवर्तित सेन्थसिसलाई समाजले सामाजिकीकरण गर्छ र त्यो फेरि त्यसले एन्टी थेसिसको सामना गर्नु पर्छ, समाज विकासको नियम नै यही हो। यतातिर कृतिकारको ध्यान पुगेको छैन।
विज्ञानले चाल्र्स डार्बिन (१८०९-१८८२) को थ्योरी अफ बायोलजीकल इभोल्युसनलाई उभ्याएको परिप्रेक्ष्यमा कृतिले क्रिएसन अर्थात् निर्माणवाला सिद्धान्त अपनाएको जस्तो लाग्छ। कृतिले ऐतिहासिक विकासवादी सिद्धान्तलाई छोडेर धार्मिक तथा सामाजिक आधार लिएको छ।
यो पृथ्वीमा रहेका जीवजन्तुको अस्तित्वको बारेमा चिन्तन गर्ने हो भने अलिकति त प्रकृतिमा पनि परिवर्तन हुन्छ। समयको चौडा आयाममा कुनै नयाँ जीवजन्तु तथा वनस्पती जन्मन्छन्। कुनै विलुप्त हुन्छन्।
डायनासोरको जीवन पद्धति र तिनको लुप्ततालाई हृदयमा राख्यो भने यो कुरा प्रष्ट हुन्छ। त्यसैले पृथ्वीलगायत ब्रह्माण्ड परिवर्तनशील छन्। समाज, सभ्यता पनि परिवर्तनशील छन्। यो परिवर्तनलाई त्रासदी देख्नु चाहिँ सोह्रै आना जायज होइन।
उत्तरआधुनिक काल भनेको विज्ञानसम्मत विचार र व्यवहार गर्ने तथा नयाँ प्रविधि र उपकरणहरूको प्रयोग गर्ने तुलनात्मक रूपमा शिष्ट र सभ्य युग हो। काल विभाजनका हिसाबमा हेर्ने हो भने प्रथमविश्वयुद्ध १९१४-१८, पछि मात्र आधुनिक काल सुरु भएको हो। नेपालमा त दोस्रो विश्वयुद्धपछि आधुनिक काल सुरु भएको मानिन्छ।
परम्परावादका अन्धविश्वासी प्रथालाई विज्ञानका कारण र परिणामका आधारमा हेर्न र बुझ्न सिकाउने आधुनिक काल हो। समाजमा प्रचलित मूल्य, मान्यता, परम्परा, सामाजिक सद्भाव र संस्कारलाई भञ्जन तथा विघटन गर्दै विनिर्माण गर्ने युग हो। यसरी विनिर्माणको चिन्तन उत्तरआधुनिक काल हो।
एउटा युगले अघिल्ला युगमा नपुग भएका कुरालाई समावेश गर्दै तथा पुराना नचाहिने कुरालाई भञ्जन गर्दै नयाँ युगको विनिर्माण गर्छ। त्यसैले परम्परावादका अन्धविश्वासी मान्यतालाई चिर्दै पूर्वआधुनिक काल (सन १५०० देखि १८०० सम्म) देखा परेको मानिन्छ। यसपछि संसारमा आधुनिक कालको सुरुवात भयो।
यो कालको अवधि (सन् १८०० देखि १९४५ सम्म) अर्थात् दोस्रो विश्वयुद्धसम्म रहेको मानिन्छ। त्यसकारण प्रथम विश्वयुद्ध र द्वितीय विश्वयुद्ध पनि उत्तरआधुनिक कालका उपज होइनन्।
दोस्रो विश्वयुद्धपछि उत्तरआधुनिक काल प्रवेश गरेको हो। प्रचलित सामाजिक विचारधारा (आधुनिक विचारधारा) भित्र पसेर संशयवादी (Skepticism), वस्तुवादी (Subjectivism) , सापेक्षतावादी (Relativism) दृष्टिकोणलाई कुशाग्र तरिकाले बुझ्नु उत्तरआधुनिक काल हो।
उत्तरआधुनिक कालले आधुनिककालका मान्यतामा आएको समस्यामाथि उपचार गर्दै विनिर्माण गरेको छ। आधुनिक काल विज्ञानसम्मत कुरालाई मात्र ध्यान दिन्थ्यो भने उत्तर आधुनिकताले परम्परा तथा आधुनिक मतलाई केलाएर सापेक्षवादको सिद्धान्त अपनाएको देखिन्छ। यसो भन्नु उत्तरआधुनिक काल भनेको आधुनिक कालका मान्यतामा सुधार मात्र हो। विघटन वा त्रासदी केही होइन।
त्यसो त कृतिकारले त्रासदी देखेको उत्तरआधुनिक कालको पनि समाप्त भइसकेको छ। वर्तमान काल अत्याधुनिक काल अर्थात् मेटामोड्यानिज्मको हो। पोस्टपोस्ट मोड्यार्निज्मको हो। उत्तर आधुनिक कालका बुझाइमाथि सुधार गर्दै सांस्कृति विज्ञ भम्युलेन र अक्करले ‘नोट्स अन मेटामोड्यार्निज्म’ नामक आलेख प्रकाशन गरेपछि उत्तरआधुनिक कालको अन्त्य र अत्याधुनिक कालको सुरुवात भएको मानिन्छ।
यो विचारधाराले वदलिएको प्रविधिजन्य परिस्थितिमा मान्छेमा रहेको अनुभवहीनता तथा अज्ञानतामाथि पुनः विचार गर्ने र प्रयोगमुखी विचारधारा (Pragmatic Ideology) को निर्माण गर्ने युग मेटामोड्यानिज्म हो। यो विचारधाराले विगतका अन्यौल, अनुपयोगी, इमोस्नल र अर्थहीन विचारधारालाई सुधार गरेर वर्तमानमा के विचार उपयुक्त हो भन्ने आधार देखाउने अत्याधुनिक काल हो।
जेनेरेसनका हिसाबमा हेर्ने हो भने वर्तमान समय जेनेरेसन जेड तथा अल्फा जेनेरेसनको रहेको छ। यी जेनेरेसनले बुझ्ने भनेकै प्रविधिमय धरातलमा प्रयोगपरक विचारधारा नै हो। नयाँ जेनेरेसनको बुझाइलाई त्रासदी देखिन थाल्यो भने समयले त्यस्ता मान्छेलाई इतिहासको कठघरामा पुर्याइ दिन्छ।
यसो भन्नुको तात्पर्य उत्तर आधुनिक काल वा अत्याधुनिक काल दुवै मानव जीवनका लागि त्रासदी होइनन्। मानव जीवनलाई वर्तमानसँग जोडेर प्रयोगपरक हुन सिकाउने वाद हो। त्यसकारण कृतिमा उल्लेख भएको त्रासदी केवल पुरानो विचारबाट प्रभावित यन्त्र जस्तै विचार हो। त्यसै पनि इतिहास जतिसुकै सुन्दर र आदरणीय भए पनि त्यो वर्तमान होइन। इतिहासमा बाँच्न खोज्नु धङधङी मात्र हो, यथार्थ होइन।
त्यसो त शिकार युगबाट कृषि युगमा आउँदा वा कृषि युगबाट औद्योगिक युगमा आउँदा पुराना युगले रोइलो नगाएको होइन। हरेक युग परिवर्तनमा पुरानो युगले रोइलो गाइ हाल्छ। संयुक्त परिवार प्रथा (धेरै पुस्ता एकै घरपरिवारमा बस्ने प्रथा) बाट एकल परिवार प्रथामा आउँदा पनि संयुक्त परिवार प्रथा रोएकै हो। वर्तमानमा एकल परिवार प्रथाबाट खण्डित परिवारप्रथामा आउँदा हुने रोइलोको प्रतिविम्ब यो कृति हो।
कृतिभित्र पुरानो मान्यताका दृष्टिकोण हावी भएको छ। वर्तमानमा उभिएर बाँच्नका लागि न त माक्र्सका न त शङ्कराचार्यका, न त संसारका कुनै पनि पुराना वाद समर्थ हुन्छन्। न त त्यसले भने झैँ मान्छेको जीवन चल्छ। जीवन चलाउन त वर्तमानकालका समस्यासँग सामिप्य राख्ने वादको आवश्यकता छ।
यही आवश्यकता उत्तरआधुनिक तथा अत्याधुनिक सिद्धान्तले दिएको हो। त्यसैले पाठकले उत्तर आधुनिक वा अत्याधुनिक कालसँग तर्सिनु पर्ने कुनै कारण छैन। केवल परिवर्तित भएको समयमा प्रविधिका माध्यमले आफू प्रयोगपरक भएर अन्तरघुलन हुने मात्र कुरा हो।
सारमा भन्ने हो भने उत्तरआधुनिक वा अत्याधुनिक चिन्तन विनास होइन, त्रासदी पनि होइन। विकास हो। अर्थात् सुखद हो भन्ने मेरो मत हो।
सान एन्टोनिया, अमेरिका
Facebook Comment