समाजसेवा र मानवीय काम गर्न मान्छेको मनैबाट लगाव हुनुपर्छ : शशांक कोइराला

डिसी नेपाल
१ फागुन २०८१ १३:५९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले समाजसेवा र मानवीय काम गर्न मान्छेको मनैबाट लगाव हुनुपर्ने बताएका छन्। कागेश्वरी मनोहरामा रहेको असाहय गाईबाछा संरक्षण अभियानको अवलोकन गर्ने क्रममा पूर्वमहामन्त्री कोइरालाले यस्तो बताएका हुन्।

उनले समाजसेवा गर्नका लागि मान्छेको रंग र ढंग नभइ मन बदलिनुपर्ने बताए। कोइरालाले राष्ट्रिय जनावर गाईको संरक्षण अभियान थालेर संस्थाले सरकारले गर्नुपर्ने काम गरेको भन्दै प्रशंसा गरे।

उनले यो संस्थालाई व्यवस्थित बनाउनुपर्ने पनि बताए। राष्ट्रिय जनवारको संरक्षण जस्तो पवित्र कामलाई दीर्घकालिन रुपमा व्यवस्थित गर्नका लागि आफूबाट हुने सबैखाले सहयोग गर्न तयार रहेको बताए। सो कार्यक्रममा पूर्वमन्त्री दिपक गिरीले राष्ट्रिय जनावरको संरक्षण जस्तो प्रशंसनीय कार्य गरेको भन्दै संस्थालाई सवैबाट सहयोग हुने बताए।

कागेश्वरी मनोहरा नगरपालिका नगरप्रमुख उपेन्द्र कार्की राष्ट्रिय जनावरको संरक्षण अभियानलाई स्थानीय सरकारले सक्दो सहयोग गरिरहेको भन्दै यो कामको स्वमित्व केन्द्र सरकारले लिनुपर्ने बताए।

उनले पशुपति क्षेत्र विकास कोषले आफ्नो छाडा गाईको संरक्षण गर्न दायित्वका साथ स्थापना भएको गौशालालाई व्यवस्थित गर्न नसकेको भन्दै यो केन्द्रको स्वामित्व लिनुपर्ने बताए।

उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यय उर्मिला थपलिया, प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री दिपक भट्टराई, कांग्रेसका युवा नेता हरिबोल भण्डारीको उपस्थिति रहेको थियो।

सो क्रममा पूर्वमहामन्त्री कोइरालाले सो केन्द्रको परिसरमा बिपी कोइरालाका नाममा रुद्राक्षको विरुवा रोपेका थिए भने त्यहाँ संरक्षण गरिएका गाईलाई पिठो खुवाएका थिए। कोइरालाले सो केन्द्रलाई ५० हजार बराबरको पिठो हस्तान्तरण गरेका थिए। एक सय रोपनी क्षेत्रफलमा फैलिएको संरक्षण केन्द्रमा २ सय ७१ वटा गाई तथा बाछा रहेका छन्। सडकमा बेवारिसे छोडिएका गाईबाछालाई केन्द्रले विगत सात वर्षदेखि संरक्षण गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *