यात्रा-निबन्ध

चिया बगानको स्वप्निल सौन्दर्य

ज्ञानेन्द्र विवश
३ फागुन २०८१ ६:५३

चिया बगान, चियाबारीको हरियाली, चियाका पत्ताहरूले आकाश ताकिरहेको दृश्य। निलो आकाशमुनि हरियो धरतीको फाँट। मिलाएर रोपिएका चियाका लाइन। एक छेउदेखि ऊ पल्लो क्षितिजसम्म चियाका बोटबिचको गोरेटो।

चियाबारी, यो शब्द मात्र हेक्का दिलाउने सन्देशले थोरै सुस्ताउनु लगाउँछ। परिभाषामा यसलाई एक साधारण तरिकामा चियाको बगान भनिन्छ, तर यसको गहिराई भने हर्ष र विश्रामको मिश्रण हो।

पहाडका हरियालीले ढाकिएका चियाबारीमा जानु नयाँ संसारमा पाइला राख्नु जस्तै हो। त्यहाँ हरिया प्रकृतिको काखमा लुटुपुटु गर्दै रमाउन सकिन्छ। त्यहाँ सौन्दर्य मात्र होइन, सजीव प्रकृतिका हरेक रमणीयपल लुकेको हुन्छ।

चियाबारीको यो सम्झना-अनुभूति मेची पारिसम्म पुग्छ। सिलगुढीबाट रेल चढ्दै दार्जीलिङतिर उकालिन्छ। दार्जीलिङ, बाघपहाड, खर्साङका चिया बगानतिर पाइला दौडिन्छन्। आँखा हेर्न हत्तारिन्छन्। त्यस्तै पशुपतिनगरबाट मिरिक हुँदै सौरनीको चियाबारीसम्म पुग्छ। मेरा आँखा र पाइला चियाबारीका पाटा र पात्रहरूमा साक्षात्कार हुन पुग्छन्। म तिनका स्वप्निल सौन्दर्यको मोहजालमा पर्छु।

चियाबारीको मृदुल यादले मनमा गहिरो छाप छोड्छ। जब सम्झना र सन्देश ल्याउँछ, तब आँखा स्वचालित रूपमा त्यहाँ पुग्छ जहाँ हरियालीका ढोकाहरू खुलेका छन्। चियाका पातहरू आफ्नो मौनताको गहिराइमा बाँचिरहेका छन्।

काँकडभित्ताबाट सिलगुढी पुग्दासम्म एकनाशको उकुसमुकुस वातावरण थियो। सिलगुढीबाट रेल चढ्दै दार्जीलिङतिर उकालो लाग्दा, मलाई थाहा थियो कि यो यात्रा कुनै सामान्य यात्रा होइन। यो एउटा आत्मीय र भावनात्मक यात्रा थियो– जहाँ मन र प्रकृति एक अर्कासँग भेट्दै थिए।

दार्जीलिङको नागबेली उकालो सुरु हुँदै गर्दा दृश्यका नयाँ परिवेशले आँखामा अँगाल्न आउँथ्यो। चिटिक्क पारी सजाइएका घरआँगन, बोटबगैँचा र बाटाघाटा उस्तै सुन्दर। त्यसमाथि गमलामा फूल फुलेर अतिथिहरूलाई मुस्कान भरिएको खुशीले स्वागत गर्ने।

तराईको गर्मीबाट चिसो तापक्रमको उचाइतिर बढ्दै जाँदा शीतलपनको आभासले यात्राको रोमाञ्चक पक्ष प्रस्तुत हुन्थ्यो। त्यसमाथि बडो जतनले थाङ्ग्रा लगाइ, बारबेर गरी स्कुसको फसल यत्रतत्र तान्द्राङतुन्द्रुङ बोटले थामिनसक्नु फलिरहेका।

चियाबारीको अनन्त समुद्रमा डुबुल्की मार्दै आनन्दले सरर जानुको यो यात्रा सधैं सम्झनामा दोहोरिँदै आइरहन्छ। रेलबाटै देखिएका दार्जीलिङ, बाघपहाड र खर्साङका चिया बगानहरूले आफूलाई एउटा लयमा बन्धन गरेको जस्तो महसुस गराउँछन्।

ती चिया बगानका पाटा-पाटा, हरियालीका कार्पेटमा हराएको सडक, सायद यी सबै दृश्यहरू मेरो आँखामा र मस्तिष्कमा प्रगाढ र स्वप्निल भइरहेका थिए। हावामा चियाको हरियाली घमाइलो महकका साथ आउँथ्यो, जसले हाम्रो मानसिकता र शरीरलाई शान्ति र ऊर्जा सँगै भरिदिन्थ्यो।

त्यसपछि, मिरिकको झिल र चियाबारीमा पाइला राख्दै सौरनीको चियाबारी पुग्नुको पूर्व तयारीमा मेरो मन थाक्दैन। जहाँ चियाबारीले एक लयबद्ध चित्रको रूपमा प्रकृतिको अनन्त सौन्दर्य प्रस्तुत गरेको थियो। पशुपतिनगरबाट मिरिक हुँदै सौरनीको चियाबारीसम्मको यात्रा, हार्दिक प्रेमले भरिएको दृश्यमय यात्रा थियो।

त्यहाँ चियाका कलिला मुना र पातहरू लहराइरहेका थिए। त्यहाँका पाटा र पात्रहरूलाई मनसँगै साक्षात्कार हुँदै ती दृश्य–पथमा हामी आफ्ना विचार र संवेदनाहरू मिसाउँन पाउँछौं।

सौरनीको चियाबारी, जहाँ चियाका बगानहरूको प्रत्येक डाँडामा हरियालीले नृत्य गरिरहेको देखिन्थ्यो। अचम्मको यो दृश्य मेरा आँखामा यसरी गडेर बसे कि भुइँदेखि चुलीसम्म पाथी भरेको जस्तै आकारमा चियाका बुट्यान चुलिँदै गएका थिए। त्यस क्षणले मलाई अवाक पारिदियो।

हेरेर नअघाइएको चियाबारीको यो दृश्य गोलाकार परिवृत्तमा मनमोहक स्वरूपको सौन्दर्यले भरिएको थियो। त्यहाँबाट तल तराईको क्षितिजमा नेपाली भूमिमा देखिने धमिलो चियाबगान अर्को सुन्दर दृश्य झल्किन्थ्यो।

चिया बगानका पाटा र उनीहरूको जीवनका गहिरा छायाँले मेरो मनलाई स्पर्श गर्न आउँछ। यस्ता यात्राहरूले मनलाई नयाँ दृष्टिकोण दिन्छ, र आफैंलाई प्रकृतिका अंगको रूपमा महसुस गराउँछ। यहाँका हरेक पक्षहरूको सौन्दर्य वर्षौंभन्दा लामो समयसम्म मनको गहिराइमा बसिरहन्छ।

यसरी पूर्वेली चियाबारीमा प्रवेश गर्दा त्यसको सौन्दर्यले मनलाई चमत्कृत बनाएको वर्णन र विवरणका कैरनहरू धेरै छन्। कालिम्पोङ र सिक्किमका चियाबारीका दृश्य–रमणका विवरण यसमा गरिएको छैन। ती क्षणका अनुभूतिहरू पनि शब्दमा उत्रिन हतारिएर बसेका छन्। कुनै दिन उतारिने अवसर अवश्य आउन सक्छ।

साँझका किरणहरू चियाका पत्तिहरूसँग खेलिरहेका थिए। पर्वतीय हावा ताजगीसँग आकाशलाई छुन जाँदै थियो। चियाबारीको हरेका ढल्किएका पत्तिहरूमा रातो र हरियो रङको नृत्य चलिरहेको जस्तो प्रतीत भइरहेको थियो। सँगसँगै एक सामान्य पथबाट केही समयको लागि अगाडि बढ्न चाहन्थें। चियाका पत्तिहरूको लामो पंक्ति र त्यो अनन्त विस्तारले मलाई मीठो सन्तुष्टि दिइरहेको थियो।

चियाबारीको यात्राले प्रकृतिको अनौठो सौन्दर्यसँग कति समन्वय गर्न सकिन्छ भन्ने कुरा मैले त्यहाँ बुझें। यहाँका प्रत्येक परिवेशले आफ्नै कथा सुनाउँछन्। चियाकर्मी मजदुरहरूको काम निकै कष्टकर भए पनि तिनीहरूको मुहारमा शान्ति र सन्तोष मैले देखें ।

पत्तिहरू टिप्ने सधैंको लयबद्ध गति र प्राकृतिक माहौलका बीच, मानिसका शरीर र मनको अनौठो समन्वय देख्न सकिन्छ। यो कार्यसँगै उनीहरूको मनभित्र रहेका जीवन-संघर्षका दुःखहरूलाई पनि सम्झाउँछ।

चियाबारीको सौन्दर्य बाह्य रूपमै घाम जस्तै झमल्ल देखिन्छ। अपितु यसको भित्री आकर्षण पनि अविस्मरणीय छ। चियाबारीको माटोमा उब्जिने चियापत्तिहरू र त्यसको स्वाद, यहाँका मानिसहरूको मानसिकता र परम्पराले पनि यो स्थलको विशेषता बनाउँछन्। चियाबारीका पत्तिहरू जति बढ्छन्, त्यति नै यहाँको सौन्दर्यमा स्वप्निल छटा देखिन्छ ।

चियाबारीको सौन्दर्य बुझ्न यसको सम्पूर्ण प्रवाह र प्रक्रियामा अन्वेषण गर्नु पनि हो। चियाका पत्तिहरूको सफाइ, छाँटकाँट र नियमित टिपाइ आवश्यक हुन्छ। यी सबै काम बगानका सिपालु हातहरूले गर्छन्। यहाँको नरित्तिने हरियालीको सुन्दरता, लहर, तरङ्ग र मृदु-मोहनी चालका छायाँहरूले मुटुमा बस्ने शान्ति र सौन्दर्यको सप्रेम आभास गराउँछ।

चिया र माटो, आकाश र पृथ्वी एक अर्कामा कुँदिएका छन्, यसै गरी चियाबारीको सौन्दर्य हामीलाई नै आफ्नो जीवनका सबै पक्षहरूले समन्वय र सन्तुलनको महत्व बुझाउँछ। यो यात्रा चियाबारीको अन्वेषण मात्र थिएन। जीवनको गहिराईमा जानका लागि एक प्रेरणा थियो। यससँगै चियाबारीको हरियाली, शान्ति र सौन्दर्यको रूपलाई चुम्न सम्भव भएको थियो।

निलो आकाशको विशालता र हरियालीको अनन्त विस्तारले मेरो मनलाई अनौठा भावनाहरूले भरेको संसारमा डुबाइदिइरहेको थियो। मेरो यात्रा चियाबगानको लहरिएर फैलिएका हरियाली र सुगन्धित चिया पत्तिहरूका बीचबाट प्रारम्भ भएको थियो।

चिया बगानको पर्वत आँचलमा गाढा हरियालीको ढकमक्क सुन्दरता बडो प्रभावशाली लाग्नु स्वाभाविक हो। जहाँसम्म नजर पुग्छ, त्यहाँसम्म चियाका बोटहरूले आकाशलाई ताकिरहेका देखिन्थे। ती पत्ताहरू जस्तै हरियो रङले आकाशको निलोसँग मितेरी गाँसिरहेको दृश्यले मेरो मनलाई अत्यधिक शान्ति दियो।

मलाई त्यो दृश्यको अन्वेषण गर्न मन लाग्छ, जहाँ चियाका बोटहरूले आफ्नो सुवासित पत्ताहरूलाई एक लयमा समेटेर सुतिरहेका छन्। ती बोटहरू एकअर्कासँग जडान राखेर एकै किसिमले रोपिएका छन्। जस्तो कि जीवनको अनुशासन र संघर्ष, जसमा हरेक बोटको प्रयास एकअर्कासँग जोडिएको हुन्छ।

ती बोटहरूको अगाडि पसिना र मेहनतको कथा लुकिरहेको छ। यो चिया पत्ताहरूले एक पंक्तिमा खडा गरिएका छन्। यो दृश्यले साँचो अर्थमा जीवनका कतिपय संघर्ष र सिर्जनाको प्रतिनिधित्व गर्छन्।

चियाबगानको गोरेटो एउटा अज्ञात मार्गजस्तो लाग्छ। एक छेउदेखि अर्को पल्लो क्षितिजसम्म फैलिएको छ। ती लामो गोरेटोको यात्रामा पाइला हाल्दा, मलाई साँच्चै जीवनका विभिन्न यात्रा र अनुभवको एकअर्कासँग मिल्ने लयको सम्झना आउँछ। यहाँको शान्ति र हरियालीलाई यसरी चुम्दै जानु र पत्ताहरूको लयमा सामेल हुनु अत्यन्तै उत्साहजनक अनुभव हो।

चियाबगानमा समय एक स्थानले विश्राम लिन्छ र प्रकृतिका सबै आवाजहरू एक लयमा गुञ्जिन्छन्। चियाबगानको हरियालीले आफ्नै ध्वनि र लयमा संसारलाई समेटेको महसुस हुन्छ। ती पत्ताहरूको हलचलमा एक रहस्य लुकेजस्तो लाग्छ। यी बोटहरूको उचाइ र दृश्यको बीचमा मैले आफूलाई अपूर्व जीवन र शान्तिको पुलको रूपमा अनुभव गरेको छु।

यस यात्रामा चियाबगानको अवलोकनले मलाई आत्मीयपूर्ण न्यानोपनको वास्तविक अर्थ बुझाएको छ। यहाँको हरियाली र निलो आकाश मसँग गहिरो संवाद गर्दैछन्। यो यात्रा मात्र प्राकृतिक सौन्दर्यको नभई जीवनका केही पृथक अर्थहरूको पनि सम्झना दिन्छ। त्यहाँका हरेक पत्तामा संघर्ष र सफलता दुवैको संकेत लुकेको हुन्छ।

चियाबगानको हरियाली, त्यसले दिने प्राकृतिक सुन्दरताको आभास र आकाशको विशालता हरेक यात्रा गर्ने मनलाई साँचो अर्थ र ध्यानको महत्व बुझाउँछ।
चिया बगानको सुन्दरतासँगै चियाका मुना टिप्नेहरूको कहर सुनेर मैले महसुस गरे, यो केवल कृषि कार्य मात्र होइन, बरु एक सन्देश हो- संघर्ष र श्रमले मात्रै सफलता प्राप्त हुन्छ भन्ने।

बगानका ती मजदुरहरूको हर्षित अनुहार तर हृदयभित्रको घाउ मर्मस्पर्शी थियो। हामी सबैको जीवनमा कुनै न कुनै प्रकारको श्रम आवश्यक छ, जसबाट हामी समाजको कल्याण र आफ्ना भविष्यलाई उज्यालो बनाउन सक्छौं।

म चिया बगानको स्वप्निल सौन्दर्यको प्रगाढ यात्रामा संग्र्रह गरिएका सोंच र अनुभूतिको आलेखनमा समाहित हुन थालें। जीवनका यिनै साना र विशेष क्षणहरूको सारलाई आत्मसात गर्दै, म प्रकृतिको अनमोल शान्ति र सौन्दर्यमा डुबुल्की मार्न अघि बढेँ।

चियाबारीको स्वप्निल सौन्दर्यमा डुबुल्की मार्दा, जीवनको सम्पूर्ण सन्तुष्टि मिल्छ। बगानको हरियाली र मौनता मनको तनावलाई कम गर्दै आत्मालाई शान्ति प्रदान गर्छ। यो यात्रा बेग्लै आत्म-खोज हो, जहाँ प्रकृति र मानवताबिचको अनौपचारिक वार्ता हुन्छ। चियाबारीको यो मोहजाल अझै पनि मेरो आँखा र मनमा जीवित छ। म सँधै यस्ता यात्रामा नयाँ अर्थ खोज्न अगाडि बढ्छु।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *