संवाद कविता श्रृङखला-५

प्रकाशचन्द्र खतिवडा
३ फागुन २०८१ ६:५४


“नमस्कार है
भट्टराई काका
आँसु किन झार्नु भा को?
बुढेसकालमा हुनुहुन्छ
बाँच्न गाह्रो होला
छोरी ज्वाइँ साथमै छन् त
के को पीर भा को ?”
“धेरै सालमा भेट भो नानी
चिन्नै सकिएन
बुढेसकालले झ्याप्पै छोप्यो
दिन रात गनि रा छु
पीर दुःख केही छैन
नानीसंग भेट भो
मर्नु बाँच्नु ठेगान छैन
म त हर्ष बिभोर भा छु । ”


“ओ कवि जी
हस्याङ फस्याङ गर्दै कता ?
किन बोल्नु हुुन्न ?
के पीर पर्‍यो हो यस्तो आज ?
रुँदै हिड्नु भा छ
सेयर गर्नाेस कुरा के हो ?
हामी पनि सहयोग गर्न सक्छाैं कि त ।”
“हस्याङ फस्याङ नगरेर के गरौँ ?
बोल्न मन छैन
पर्नु पीर परेको छ है
हाँस्न सकिएन
सन्तान जस्तै प्रिय कविता
त्यही कविताको
आज चीर हरण भा छ ।”


“ओ हरि बहादुर दाइ
खेती पाति कस्तो छ त ?
यसो बेली विस्तार गर्नोस् न हौ
अन्न बाली कस्तो हुन्छ ?
खान लाउन पुग्छ के त ?”
“ए प्रकाश भाइ पनि
खेती पाति कस्तो हुने ?
न त सिँचाइ सुविधा नै
न त मल खाद
अन्न बाली फल्नै छोड्यो
बाँदर लाग्छ उस्तै
खान लाउन के पुग्थ्यो र ?
साहुको ऋण खानै पर्छ
गरिवको सरका भन्थे
गरिव किन मर्‍या मर्‍यै गर्छ?”


“हैन मन्दिर किन धाउनु हुन्छ ?
के पाप गर्नु भो र ?
तपाईं त सज्जन लाग्थ्यो
निको चाला छैन
ठेक्का पट्टा बिगार्‍याे के हो
मन्दिर धार्ई ठिक हुन्छ त ? ”
“ठिक हुन्छ हुन्न
कस्ले देख्या छ र ?
ठेक्का पट्टा छोडी सकेँ
मन्त्री हुने दाउ छ
धर्म कर्म गर्नै पर्‍यो
भगवान खुशी पार्न
पाप पखाल्नलाई गाह्रै पर्‍यो
पार्टी नेता पछ्याइ रा छु

केन्द्रतिर धाउँदै छु

छारो हाल्न सकिन्छ कि ?
अलिकति चारो फाली
समानुपातिक लिस्टमा पर्न पाए हुन्थ्याे।”


“ए हजुर
तपाईं त नेता  मान्छे
म रोजगार बिहीन छु त
रोजगार कतै छैन
तपाईंको त बोली बिक्ला
भनसुन गरिदिनोस् न हजुर
रोजगार कतै मिल्न सक्छ
देश तपाईंहरुकै हातमा त छ नि
नाइ नभनिस्योसन हजुर ”
“अछिउ खाएँ बछिउ खाएँ झुसे बारुला
तपाईं सत्ता विरोधि मान्छे
किन चाहियो रोजगार ?
बोली बिक्दै छ भन्दैमा
एउटा हैन दुईटा हैन
कतिलाई दिने रोजगार ?
देश चलाउने फुर्सद छैन

झिना मसिना कुरामा अल्झदैन सरकार ।”


“ओ श्रीमान जी
दिन भर किन डुल्नु हुन्छ ?
कुकुर जस्तो लखर लखर
छिमेकी नि आजित हुनु पर्ने
गाको गाकै गरे पछि
घरभरी कति काम छ
एक छिन फुर्सद हुन्न मेरो
घरको काम सघाए नि हुने
नारी पुरुष बरावरी
नारा मात्रै रैछ
पुरुष प्रधान समाजमा
नारी मर्दी  रै छ ”
“तिम्रो कुरा ठिकै होला
सभ्य समाजमा
कुकुर जस्तो डुल्या हैन
काम परेरै गाको
मर्दा पर्दा चाहिने छिमेक
किन बात लाको ?
फुर्सद मिले काम सघाउँला
म नि मुर्ख कहाँ हो र ?
घर व्यवहार धान्नै गाह्रो
नारी पुरुष एउटै रथका दुई पाङग्रा
खै कुरो बुझेको त ? ”


“ओ मन्त्री ज्यू
नमस्कार छ है मेरो
आज के को उद्घाटन छ हौ ?
लावा लस्कर ठुलै छ त
सुरक्षा पनि कडै रे छ
प्रहरीहरु सुरक्षामा खटिएकै छन् त
चिन्न त चिन्यौ होला नि मलाई
म हुताराम प्रसाद शर्मा
सँगै दाउरा घाँस गरेको त ”
“नमस्कार हुताराम जी
आराम विराम के छ कुन्नि ?
गाउँ घर आउन पाइया छैन
देशै वित्छ
फुर्सद छदै छैन
दिनै पिच्छे शिलान्यास र उद्घाटनमा
कुद्नु पर्ने हुन्छ
सुरक्षा त लिनै पर्यो
कल्ले कहाँ भकुर्छ कुनै टुङगो छैन
आज पनि हतारमा छु
के भनौ र हौ हुताराम जी
शार्वजनिक शौचालय उद्घाटन गर्न हिडेको पो हँु त ।”


“हाकिम साब
हाकिम साव
एउटा विन्ति विसाउ भनेको
घरमा आमा सिकिस्तै छिन
स्वास्नी सुत्केरी छे
स्याहार चाकर गर्ने कोहि छैन
विदा पाउन हजुर”
“बिदा सिदा मिल्दैन के
कार्य कक्ष जानोस
मेरी पनि आमा सिकिस्तै छिन्
स्वास्नी सुत्केरी नै छे
स्याहार चाकरकै समस्या छ त
व्यथा पीडा एउटै भयो
पीडा बुझ्ने कसले ?
मलेपको टोली आउँछ
अख्तियार लाग्ने डर
कुन दिनमा जागिर खाइएछ हौ नेत्रप्रसाद जी
सधैं डरै डर ।”


“हन रतन बहादुर हैनौ तिमी ?
कति लाठे भा को ?
कति पढ्यौ ? के पो गर्छाै ?
कहिले घर आ को ? ”
“आ बडी बा
दिन जान के बेर लाग्छ ?
उमेर चढ्दो बैँस
वी.वी.एस. सकाएर
घर फर्की आ को
रोजगार छैन
दिक्क लाग्छ
देशको हालत देख्दा
लाखौ युवा बिदेशिए
रोक्ने कोही छैन
मेरो पनि उही हो हालत
बिदेश जानु बाध्यता नै भा छ । ”
१०
“ओ पुछार घरे काका
समाचार सुन्नु भा छ ?
जमिनदारको जग्गा खोशी
बाँड्छौँ भन्थे पहिले
अहिले पनि आयोग बन्यो
जग्गा दिन्छन् अरे
नाम टिपाउन जाउँ हौ काका
जग्गा पाइन्छ कि त ? ”
“यस्ता आयोग कति बने बने कान्छा
के समाचार सुन्नु ?
जमिनदारको हण्डी खा का नेताहरु रैछन
जग्गा खोस्नु अलग कुरा
जी हजुरी गर्छन्
तिम्रो हाम्रो नाम बेची डलर पनि खान्छन्
जग्गा पाउने आशा छैन
के टिपाउनु नाम
चोरै चोरको राज छ यहाँ
सद्धे कोही छैन
सुकुम्वासी हामी
जग्गा पाउने अर्कै हुन्छ
हुकुमबासी धनी ।”

सुन्दरहरैंचा-६ ,दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *