४ वर्षमा ७ लाख साउदीले रोजे निजी क्षेत्र

डिसी नेपाल
३ फागुन २०८१ ८:०३

काठमाडौं ।  बितेको ४ वर्षमा ७ लाख साउदी नागरिक निजी क्षेत्रमा सामेल भएको पाइएको छ । यस क्षेत्रमा कार्यरत साउदी पुरुष र महिला संख्या १ दशमलव ७ मिलियनबाट बढेर २ दशमलव ४ मिलियन पुगेको हो । साउदीका मानव संसाधनमन्त्री अहमद अल राजीले रियादमा भर्खरै भएको विश्वव्यापी श्रम सम्मेलनमा यो तथ्यांक सार्वजनिक गरेका हुन् ।

सोही अवधिमा श्रम बजारमा महिला सहभागिता २० प्रतिशतबाट ३६ प्रतिशतमा पुगेको जनाइएको छ । जसले व्यापक आर्थिक सुधारको भागका रूपमा महिला सशक्तीकरणका लागि राज्यको निरन्तर प्रयासलाई झल्काउँछ । ‘साउदी अरेबियाले आफ्नो श्रम बजार रणनीतिको ८० प्रतिशत कार्यान्वयन गरेको छ, जसले युवा सहभागितामा उल्लेखनीय वृद्धि भएको छ,’ मन्त्री अल राजीलाई उद्धृत गर्दै अल इक्तिसादियाह आर्थिक समाचार पोर्टलले उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार सबै रोजगारीमा रहेका साउदी नागरिकको ५० दशमलव ५ प्रतिशत यस क्षेत्रले ओगटेको छ । त्यस वर्ष निजी क्षेत्रमा साउदीहरूको संख्या २ दशमलव ४ मिलियन पुग्यो, जसमा ३ लाख ५१ हजार पहिलोपटक रोजगारीमा प्रवेश गरेका थिए । हालैका वर्षमा, साउदी अरेबियाले आफ्ना नागरिकका लागि रोजगारी बढाउन, शिक्षा, दूरसञ्चार, घरजग्गा, इन्जिनियरिङ र स्वास्थ्य सेवाजस्ता प्रमुख क्षेत्रमा विदेशी कामदारलाई प्रतिस्थापन गर्न धेरै पहल सुरु गरेको छ ।

‘साउडाइजेसन’का रूपमा चिनिने यस नीतिले निजी क्षेत्रका व्यवसायलाई साउदी नागरिकलाई भर्ती गर्न प्राथमिकता दिन प्रोत्साहित गर्छ । थप रूपमा राज्यले आफ्नो कार्यबलका लागि रोजगारीका अवसर विस्तार गर्न क्षेत्रीय रोजगार कार्यक्रम लागू गरिरहेको जनाएको छ ।

श्रम र रेसिडेन्सी कानुन उल्लंघन गर्ने २१ हजार ४ सय ७७ जना आप्रवासी कामदार पक्राउ पक्राउ परेका छन् । उनीहरू सबैले श्रम र रेसिडेन्सी कानुन उल्लंघन गरेकाले पक्राउ गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पक्राउ पर्नेमा रेसिडेन्सी ऐन उल्लंघन गर्ने १३ हजार ६ सय ३८, सीमा सुरक्षा ऐन उल्लंघन गर्ने ४ हजार ६ सय ६३ र श्रम कानुन उल्लंघन गर्ने ३ हजार १ सय ७६ जना रहेका छन् ।

अधिकारीहरूले अवैध रूपमा राज्य प्रवेश गर्ने १ हजार ३ सय १६ जनालाई पनि पक्राउ गरेको जनाएको छ । जसमध्ये ४० प्रतिशत यमनी नागरिक, ५८ प्रतिशत इथियोपियाली नागरिक र २ प्रतिशत अन्य राष्ट्रियताका थिए । अवैध रूपमा राज्य छोड्न खोज्दा जम्मा ७७ जना पक्राउ परेका छन् । अवैध प्रवेश, ढुवानी, आश्रय वा नियम उल्लंघन गर्नेलाई काममा सहजीकरण गर्ने १३ जनालाई पनि नियन्त्रणमा लिएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धरपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेको र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ । ६ सय १५ नेपाली कामदार विभिन्न आरोपमा साउदीमा जेल परेका छन् ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *