मुलुक डरलाग्दो सुरुङतिर फस्यो : भुसाल
![मुलुक डरलाग्दो सुरुङतिर फस्यो : भुसाल](https://www.dcnepal.com/wp-content/uploads/2025/02/Ghanashyam-Bhusal.png)
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुक झन् झन् डरलाग्दो सुरुङ्भित्र पस्दै गएको बताए।
शनिबार काठमाडौंमा आयोजित बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘मुलुक झन् झन् डरलाग्दो सुरुङ्भित्र पस्दैछ। अनि सत्तामा को छन् भन्दा लिपापोती गर्नेहरु छन्। ठूला पार्टी संसदीय मान्यताको हिसाबले किन एक ठाँउमा आए, के राष्ट्रिय परिस्थिती थियो ? संविधान छोएर पार लगाउछन् जस्तो लाग्दैन्। कांग्रेस र एमालेको विचार, इतिहास केही नमिल्ने भएकाले काम गर्न कठिन हुनेछ।’
यसको साथै, उनले कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनःगठनको मिसनमा लागेको भन्दै अब योग्यता देखाउनुपर्ने अवस्था आएको बताए।
उनले भने, ‘सत्ता नालायक छ, सडक अराजक छ। यो बेला एउटा जिम्मेवार पार्टीको हस्तक्षेप मुलुकलाई खाँचो छ। अब कम्युनिष्ट आन्दोलनको एकताका कुरा पनि छ। कम्युनिष्ट पार्टीको एकताको पक्षमा हामी छौ तर त्यस्तो कम्युनिष्ट विराट आन्दोलन नगरिकन रुपान्तरण र पुनःगठनको मिसन पूरा गर्न सक्दैनौ। हामीले पुनःगठन गरिसकेका छौ रुपान्तरण गर्न बाँकी छ। रुपान्तरण गर्ने भनेको आजको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने हो, हिजोभन्दा ठूलो र राम्रो पार्ने हो। हाम्रो योग्यता देखाउनुपर्ने अवस्था आएको छ।’
Facebook Comment