लेवनानमा शान्ति सेनामाथि आक्रमण

डिसी नेपाल
४ फागुन २०८१ ७:२७

काठमाडौं। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको युनिफिलअन्तर्गत लेवनानमा तैनाथ शान्ति सेनामाथि शनिबार राति आक्रमण भएको छ।

लेवनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भिडले आक्रमण गरेको हो। रातको समयमा उत्तेजित भिडले उनको गाडीलाई रोकेर आक्रमण गरेको नेपाली सेनाले एक विज्ञप्तिमार्फत जनाएको छ।

नेपाली सेनाले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपरथी ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारीको भिडले रोकेर तोडफोड गरेको छ। त्यसक्रममा ढकाल घाइते भएका हुन्। घाइते ढकाललाई तत्कालै युएन लेवल थ्री अस्पताल पुर्‍याइएको थियो। अहिले उहाँको अवस्था खतरामुक्त छ।’ उपरथी ढकाल कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा थिए।

उपरथी ढकाल युनिफिल (युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान) मा आफ्नो दुई वर्षे कार्यकाल सकेर शनिबार स्वदेश फर्किने तयारीमा थिए। उपरथी ढकाल सवार गाडी बीचमा थियो, अगाडि र पछाडि दुवैतर्फ सुरक्षाकर्मीहरू रहेको जिपले इस्कर्ट गरिरहेको थियो।

तर, विमानस्थल पुग्नै लागेका बेला एक्कासि प्रदर्शनकारीहरू सडकमा निस्किए। पहिलो गाडी क्रस गर्नेबित्तिकै ढकाल सवार बीचमा रहेको गाडीलाई प्रदर्शनकारीले रोकेका थिए।

समाचार संस्था एपीका अनुसार, गाडीबाट ढकालसहितका व्यक्तिहरूलाई निकाल्नेबित्तिकै प्रदर्शनकारीहरूले गाडीमा आगजनी गरेका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले शान्ति सैनिक सवार गाडीमा आगो लाग्दै गरेको तस्वीर तथा भिडियोसमेत सार्वजनिक गरेका छन्। भिडियोमा केही व्यक्तिहरूले शान्ति सैनिकको गाडीबाट केही सामानहरू लैजाँदै गरेको समेत देखिएको छ।

घटनालगत्तै लेबनानको सेनाले प्रदर्शनकारीलाई तितरवितर पारेको थियो। त्यसक्रममा उपरथी ढकाललाई उद्धार गरेर युएन लेभल थ्री अस्पताल बेरुत पुर्याइएको जनाइएको छ।

हाल नेपाली सेनाका पाँच हजार ९१८ सैनिक विश्वका ११ विभिन्न मुलुकमा शान्ति स्थापनार्थ खटिएका छन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, अहिले नेपाली सेनाबाट एक हजार १५१ जना कंगो, दक्षिणमा एक हजार ७५२, अब्यई क्षेत्र (सुडान) मा १०७ जना, लेबनानमा ८७७, सिरियामा ४५२, अफ्रिकामा एक हजार २४१, इराकमा ८८, लिबियामा २३१ लगायत अन्य देशमा सैनिक कार्यरत छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *